यस्तो छ एमाले बाराले गरेको सिफारिस
बारा : नयाँ संरचना अनुसार ६ वटा निर्वाचन क्षेत्रबाट ४ बनाइएको बाराको क्षेत्र नम्बर १ मा एमालेले प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सल्लाहकार सदस्य अच्युत मैनाली, बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोत्तम पौडेल र प्रमिला चौधरीको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ मा जिल्ला विकास समितिका पूर्व सभापति छठ्ठुप्रसाद यादवको नाम सर्वसम्मतले निर्णय गर्दै एमालेले केन्द्रमा सिफारिस गरेको छ । सांसद बलवीर चौधरीले चुनाव नलड्ने घोषणा गरेपछि यादवको नाममा सर्वसम्मती भएको हो । सर्वसम्मत निर्णय भएकाले २ नम्बरमा यादवले टिकट पाउने निश्चित भएको छ ।
क्षेत्र नम्बर ३ मा अध्यानन्द पाण्डे, बारा क्षेत्र नम्बर ६ का सांसद पौडेल र बिना खड्काको नाम सिफारिस भएको एमाले बाराले जनाएको छ । क्षेत्र नम्बर ३ मा सर्वसम्मत हुन नसकेपछि मतदान भएको थियो । मतदानमा एमाले नेता पाण्डेले १५, सांसद पौडेलले १० र शिवनारायण साहले ९ मत ल्याएका थिए ।
क्षेत्र नम्बर ४ मा सांसद नेजमा आलम, एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी र वीरेन्द्रप्रसाद यादवको नाम सिफारिस भएको छ । सांसद आलम बारा क्षेत्र नम्बर ४ बाट २०७० सालको निर्वाचनमा निर्वाचित भएकी थिइन्।