निःशुल्क मुटुरोग शिविर
कुश्मा: जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८ सय जनाको मुटु परीक्षण गरिएको छ। जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देविस्थानमा शनिबार र आइतबार शिविर सञ्चालन गरिएको हो।
आइतबार कुश्मामा झण्डै पाँच सय र शनिबार फलेवासमा दुई सय ५० भन्दा बढिको स्वास्थ्य परीक्षण गरिएको आयोजक लायन्स क्लव अफ शिवालयले जनाएको छ। पर्वत समाज बेल्जियमको आर्थिक सहयोग, लायन्स क्लव अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरबाट कुश्मा नगरपालिका लगायत बागलुङ जिल्लाका नागरिकहरुलाई प्रत्यक्ष फाईदा पुगेको कार्यक्रम संयोजक डिआर शर्माले जानकारी दिए।
शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटु रोग विशेषज्ञ डाक्टरहरुले विरामीहरुको निशुल्क मुटुरोग परीक्षण गरेका थिए। शिविरमा उच्च रक्तचापका विरामी बढि देखापरेका छन्। मुटुरोगीमध्ये अधिकांशमा उच्च रक्तचाप, धुम्रपान, मोटोपनको समस्या भएको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले बताए।