गायिका अञ्जु पन्तले गरिन बाढीपीडितलार्इ सहयोग
काठमाडौं : सुनसरीको इटहरीस्थित गैरीगाउँ र शिवनारायण टोलका बाढीपीडित तीन सय ८५ बालबालिकालाई गायिका अञ्जु पन्तले शैक्षिक सामग्री प्रदान गरेकी छन् । गत महिनाको बाढीबाट क्षति भएका उक्त बस्तीमा पुगेर गायिका पन्त आफैंले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी हुन् । कार्यक्रममा माईका नेपालद्वारा उपलब्ध गराइएको ग्यासचुल्हो, पानी फिल्टरलगायत घरायसी सामग्रीसमेत प्रदान गरिएको थियो ।
गायिका अञ्जु पन्तको स्वर मन नपराउने नेपाली संगीतप्रेमी सायदै होलान् । उनी जति मीठो गाउँछिन् उनको भावना पनि त्यत्तिकै सहयोगी छ । समाजसेवामा केही गर्ने सोच र लक्ष्यका साथ उनले स्थापना गरेको अञ्जु पन्त फाउन्डेसन पछिल्लो समय विभिन्न सामाजिक कार्यमा क्रियाशील छ ।
गैरीगाउँ र शिवनारायण टोल पुगेकी अञ्जुले राहत सामग्री वितरणमात्रै गरिनन् उनले गाएको पछिल्लो चर्चित गीत म यस्तो गीत गाउँछु र सुर्के थैली खै बोलको गीतसमेत गाएर स्थानीयलाई मनोरञ्जनसमेत गराइन् । उनको गीतमा एकछिन भए पनि बाढीपीडितहरू रमाएर नाचेका थिए । बाढीको पीडा भुलेका थिए । राहत वितरण कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतम, माईका नेपालका राष्ट्रिय संयोजक थीर के.सी., स्थानीय जनप्रतिनिधिहरूसमेत सहभागी थिए ।