ऐश्वर्यमा दीपिकाको बिकिनी चर्चा
काठमाडौं : चलचित्र ‘ऐश्वर्य’ युनिट अहिले आक्रमक रूपमा प्रचारप्रचारमा जुटेको छ । चलचित्रका गीत, टिजर एवं अन्य प्रचार सामग्रीले राम्रै प्रतिक्रिया पनि पाएको छ । यस चलचित्रले अभिनेता एवं निर्माता रमेश उप्रेती र नवनायिका दीपिका प्रसाईको भाग्य तय गर्ने कुरामा दुईमत छैन । लामो समय अमेरिका बसाइपछि पुनः नायककै रूपमा नेपाली चलचित्रमा फर्किएका रमेश अभिनीत पहिलो कमब्याक चलचित्र ‘ब्रासलेट’ले अपेक्षाकृत सफलता हासिल नगरेपछि चलचित्र ऐश्वर्य उनका लागि अग्निपरीक्षा हुने पक्का छ ।
दिवाकार भट्टराईले निर्देशन गरेको यो चलचित्र कात्तिक ९ गते रिलिज हुँदैछ । ऐश्वर्यबाट मोडल दीपिका प्रसाई चलचित्रमा डेब्यु गर्दैछिन् । चलचित्रको टिजरमा समावेश गरिएको दीपिकाको बिकिनी दृश्य अहिले चर्चाको विषय बनेको छ । पहिलो चलचित्रमै उदार तन,मनका साथ पर्दामा प्रस्तुत भएकी दीपिकाले राम्रो सम्भावना देखाएकी छन् । निर्माण पक्षका अनुसार उनले पहिलो चलचित्रमै बिकिनी लगाउन आनाकानी गरेकी थिइन् । तर उनी मोडलिङबाट चलचित्र क्षेत्रमा आएको र चलचित्रमा पनि सुपर मोडलको भूमिकामा रहेकाले उनी कन्भिन्स भएकी थिइन् । अहिले तिनै दृश्यको चर्चाले दीपिकालाई ग्ल्यामरस नायिकाका रूपमा चिनाउन थालेको छ ।
चलचित्र निर्माण युनिटले दीपिकाको बिकिनी दृश्य गोप्य राख्न खोजे पनि छायांकनलगत्तै बाहिरिएको थियो । जसका कारण दीपिका निकै तनावमा परेकी थिइन् । निर्देशक दिवाकर भट्टराईका अनुसार बिकिनी दृश्य बाहिरिएपछि दीपिकाले पुनः त्यस्ता दृश्यमा छायांकन गर्न आनाकानी गर्नुका साथै ती दृश्य चलचित्र नराखिदिन अनुरोधसमेत गरेकी थिइन् । यस चलचित्रमा रमेश, दीपिका साथै प्रशान्त ताम्राकार, केकी अधिकारी पनि मुख्य भूमिकामा छन् ।