महाकाली अञ्चल अस्पतालमा दोस्रो दिन पनि सेवा ठप्प
महेन्द्रनगर: महाकाली अञ्चल अस्पतालमा आकस्मीक सेवा बाहेकका सबै सेवा दोस्रो दिन पनि बन्द नै छन्। दुईदिन देखी आकस्मीक बाहेकका सेवा बन्द हुदा बिरामीहरु मर्कामा परेका छन्।
दैनिक रुपमा उपचारका लागि आउने बिरामीहरु अस्पतालबाटै फर्किन वाध्य छन्। उनीहरु अस्पतालमा उपचार नभएपछि मेडिकलमा गएर उपचार गराइरहेका छन्। आईतबारदेखि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुले आकस्मीक बाहेकका सबै सेवाहरु बन्द गरेका हुन्।
शनिबार सुत्केरी हुन आएकी महिलाको शिशु मरेपछि परिवार र आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात र अस्पतालको सुत्केरी वार्डमा तोडफोड गरेपछि त्यसैको विरोधमा अस्पतालमा आकस्मीक वोहकका सबै सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।
शनिबार बेलुका अस्पतालमा सुत्केरी हुन आएकी भीमदत्त नगरपालिका १ बारकुन्डाकी एक महिलाले बच्चा जन्माउने क्रममा बच्चाको मृत्यु भएपछि आफन्त आक्रोशित भएका थिए।
बच्चाको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सक डा. सत्य कोइरालामाथि हातपातको प्रयास गरेका थिए। चिकित्सक र स्वास्थ्यकर्मीहरुले उपचार गर्ने क्रममा बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि नै आक्रमण गर्ने कामले असुरक्षित भएको भन्दै आकस्मीक वाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन्।
स्वास्थ्यकर्मी आबद्व विभिन्न संगठनहरुले समेत ऐक्यबद्वता जनाएका छन्।चिकित्सकहरुले सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका छन्।
अस्पताल प्रशासनले समेत चिकित्सक माथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने भन्दै प्रहरीमा उजुरी दिएको छ। महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बन्द रहेको ओपीडी सेवा सुचारु गर्ने विषयमा पहल भइरहेको बताए।