विशेषज्ञ नहुँदा जिल्लाका शव राजधानीमा

विशेषज्ञ नहुँदा जिल्लाका शव राजधानीमा

काठमाडौं : गैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण (पोस्टमार्टम) प्रति विश्वस्त हुन नसक्दा उपत्यकाबाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता लगाउन शव राजधानी ल्याउन बाध्य भएका छन् । शव परीक्षण गर्न एमबीबीएसपछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा विशेषज्ञता हासिल गर्नुपर्ने प्रावधान छ । तर, उपत्यकाबाहिर भरतपुर, पोखरा र धरानमा मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकाले अन्य ठाउँका शव परीक्षण गर्न राजधानी नै ल्याउनुपर्ने बाध्यता छ ।

शंकास्पद मृत्यु भएकाको शव परीक्षणको चाप महाराजगन्ज मेडिकल कलेजमा परेको छ । बाहिरबाट शव धेरै आउन थालेपछि कलेजको फरेन्सिक मेडिसिन विभागलाई त्यसको व्यवस्थापनमा कठिनाइ परेको छ । भूकम्पपछि आईसीआरसीले विभागलाई दिएको ४८ वटा शव अटाउने मोबाइल कन्टेनर बिग्रिएर थन्किएको छ । संस्थाले बनाइदिएको शव राख्ने ‘कोल्ड रुम’ पनि बन्द हुन पुगेको छ ।विभागमा पछिल्लो डेढ वर्षमा २२ सयभन्दा धेरै शव परीक्षण भएको छ । तीमध्ये आधा उपत्यकाबाहिरका हुन् ।

 

विभागमा उपत्यकाबाटै पनि दैनिक ५-६ वटा शव परीक्षणका लागि ल्याइने गरेको छ । विभागका प्रमुख डा. प्रमोद श्रेष्ठका अनुसार पूर्व र पश्चिमबाट शव आउने गरेको छ । शवको चाप बढेपछि मृतकका परिवारलाई लामो समय कुर्नुपर्ने अवस्था छ ।

उनले बाहिरबाट सवारीसाधनले ठक्कर दिएका, झुन्डिएका, विष खाएका, हत्या भएका व्यक्तिका शव परीक्षणका लागि आउने गरेको छ । ‘शंकास्पद रूपमा मृत्यु भएकाको शव परीक्षण राम्ररी होस् र न्याय पाउन सकियोस् भन्ने चाहना सम्बन्धित परिवारको हुन्छ । त्यसका लागि सबैले यहाँ नै शव पोस्टमार्टम गर्न ल्याउने गर्छन्’, उनी भन्छन्, ‘तर, यहाँ जनशक्ति र ठाउँ अभावमा हामीलाई काम गर्न धेरै गाह्रो भइरहेको छ ।’

विभिन्न मुलुकका मेडिकल कलेजमा प्रयोगात्मक कक्षाविना पनि एमबीबीएस उत्तीर्ण चिकित्सकले गरेको शव परीक्षण भरपर्दो नहुने विज्ञले बताएका छन् । नेपालका कतिपय निजी मेडिकल कलेजमा पनि शव परीक्षणको प्रयोगात्मक कक्षाविनै एमबीबीएस तह अध्ययन÷अध्यापन हुँदै आएको छ । शव परीक्षणका लागि एमबीबीएसपछि थप तीन वर्ष फरेन्सिक मेडिसिन विषयमा विशेषज्ञता हासिल गरेको हुनुपर्छ ।

विशेषज्ञ चिकित्सक अभावमा जिल्लामा शव परीक्षण विश्वसनीय नभएपछि शंकास्पद रूपमा मृत्यु भएकाको शव परीक्षणका लागि राजधानीको महाराजगन्ज मेडिकल कलेजमा ल्याउने क्रम बढेको छ । राजधानीबाहिर विशेषज्ञ चिकित्सकसहितको शव परीक्षण सेवा अभावका कारण विवादमा मुछिएका अधिकांश शव यहाँ आउने क्रम बढेको विभागले जनाएको छ ।

मुलुकभरका प्राथमिक स्वास्थ्य केन्द्रसम्म विशेषज्ञ चिकित्सकले मात्र शव परीक्षण गर्नुपर्ने सरकारी नीति छ । स्वास्थ्य मन्त्रालयका अनुसार चार स्वास्थ्य संस्थामा मात्र विशेषज्ञ चिकित्सकले शव परीक्षण गर्दै आएका छन् ।

महाराजगन्ज मेडिकल कलेजसहित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र पोखराको पश्चिमाञ्चल क्षेत्रीय अञ्चल अस्पतालमा मात्र विशेषज्ञ चिकित्सकले शव परीक्षण गर्दै आएका छन् । विशेषज्ञ चिकित्सकको दरबन्दी भएको ठाउँमा पनि सेवा नियमित नहुँदा मृतकका परिवार शव परीक्षण गर्न राजधानी आउन बाध्य भएका हुन् ।

बाँकी करिब चार हजार स्वास्थ्य संस्थामा शव परीक्षण एमबीबीएस उत्तीर्ण चिकित्सकले गर्दै आएका छन् । ‘जिल्लाका अस्पतालमा एमबीबीएस अध्ययन गर्दा प्राक्टिकल नै नगरेका चिकित्सकले शव परीक्षण गर्दै आएका छन् । उनीहरूको पढाइमा एकरूपता पनि छैन’, उनी भन्छन्, ‘अपुरो ज्ञानका आधारमा गरेको शव परीक्षणले वास्तविकता पत्ता लगाउन मुस्किल पर्छ । विनाविशेषज्ञता शव परीक्षण गर्दा वास्तविकताको व्याख्या गर्न समस्या पर्छ ।

‘मेडिको-लिगल सोसाइटी अफ नेपाल’ले शव परीक्षणका लागि हरेक अस्पतालमा एकजना विशेषज्ञ चिकित्सक अनिवार्य हुनुपर्ने जनाएको छ । एमबीबीएस मात्र उत्तीर्ण चिकित्सकले शव परीक्षण गर्दा भरपर्दो रिपोर्ट नआउने भन्दै सोसाइटीले उनीहरूलाई त्यससम्बन्धी दुई साताको तालिम दिन सुरु गरेको छ । तर, त्यसको पनि अवधि छोटो भएकाले बढाउनुपर्ने माग गरेको श्रेष्ठ बताउँछन् ।

मुलुकी ऐनले निजी अस्पतालमा शव परीक्षण सेवा सञ्चालन गर्ने अनुमति दिँदैन । त्यही कारण मेडिकल कलेजले नेपालगन्ज, चितवन र पोखरामा सुरु गरेको शव परीक्षण बन्द हुन पुग्यो । महाराजगन्ज मेडिकल कलेज र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्र यस्ता विशेषज्ञ चिकित्सक उत्पादन गर्दै आएका छन् ।

‘यी दुई संस्थामा गरी तीन वर्षमा मुस्किलले ४-५ जना विशेषज्ञ तयार हुन्छन्, तीमध्ये कोही विदेश पलायन हुने गरेका छन् भने कोही निजी अस्पतालमा जान्छन्’, उनी भन्छन्, ‘तर, निजी मेडिकल कलेजले शव परीक्षण सेवा दिँदैनन् । न सरकारीमा पर्याप्त दरबन्दी खुल्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.