सिकल-सेल एनिमियाले तीनको मृत्यु
घोराही: सिकल-सेल एनिमिया रोगले दाङमा तीनजनाको ज्यान गएको छ । नियमित उपचार गराउँदै आएका बिरामीमध्ये तीनको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाहरूले जनाएका छन् । नेपालमा थारू समुदायको जातीय रोग भनेर चिनिएको सिकल-सेलका ९८ बिरामी उपचाररत छन्।
नियमित उपचारमा रही रगत लिँदै आएका तीनजनाको मृत्यु भएको रक्तसञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपाने जानकारी दिए। उनका अनुसार केन्द्रबाट १५ जनाले साप्ताहिक रूपमा रगत लिँदै आएका थिए । अहिले १२ जनाले नियमित रगत लिँदै आएका छन्।
मुत्यु हुनेमा देउखुरी भ्यालीका दुई र दाङ भ्यालीका एकजना छन् । त्यसमध्ये दुई पुरुष र एक महिला रहेको इन्चार्ज न्यौपानेले खुलाए। राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा सिकल-सेल एनिमिया रोग बढी देखिएको उल्लेख गर्दै ९८ जना उपचाररत रहेको जानकारी दिए । उनका अनुसार ५७ पुरुष र ४१ महिलामा यो रोग देखिएको छ । उनले अस्पतालमा कसैको मृत्यु नभएको जानकारी दिँदै घरमा मृत्यु भएको खबर आएको सुनाए । थारू समुदायबाहेक विश्वकर्मा थरकी एक महिलामा पनि यो रोग देखिएको छ।
८६ बिरामीले निःशुल्क सेवा लिइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरूलाई निःशुल्क उपचारका लागि सिफारिस गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले जानकारी दिए। सरकारले उपचारका लागि अस्पतालमा प्रतिव्यक्ति एक लाख रुपैयाँ पठाएको र त्यहीअनुसार निःशुल्क उपचार गराइरहेको सूचना अधिकारी खानले सुनाए।
उक्त रकमबाट अस्पतालले औषधि र रगत नियमित उपलब्ध गराउँदै आएको छ। जिल्लामा तीन वर्षयता यसको उपचार सुरु भए पनि उपकरण नहुँदा परीक्षण गराउन बाहिर पठाउनुपर्ने अवस्था रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जनार्दन पन्थीले बताए । परीक्षण उपकरण उपलब्ध भए कुनै पनि सेवा अस्पतालबाटै दिन सकिने उनको भनाइ छ । उनका अनुसार थारू बाहुल्य देउखुरीमा बिरामी धेरै छन्।
अस्पतालले सामाजिक सेवा इकाइ स्थापना गरी बिरामीको उपचार गर्दै आएको हो । एक घरका पूरै सदस्य सिकल-सेल भएर उपचाररत अस्पतालले जनाएको छ।
के हो सिकल-सेल एनिमिया ?
रोगले समातेपछि गोलो आकारमा रहने रक्तकोष हँसिया (सिकल) आकारको बन्ने गर्दछ। आमाबुवा दुवैमा यो रोग छ भने छोराछोरीमा पनि संक्रमण हुने सम्भावना २५ प्रतिशत रहन्छ। थारू बालबालिका वंशाणुगत रूपमा सरेको रोगबाट पीडित हुँदै आएको बुद्धिजीवी चूर्ण चौधरीको भनाइ छ।
रगतमा सिकल-सेलको मात्रा ४० प्रतिशतभन्दा कम रहेको अवस्थालाई ‘ट्रेट’ भनिन्छ । त्यो अवस्थाका व्यक्तिले अरूभन्दा बढी मलेरियाको प्रतिरोध गर्न सक्ने देखिएको छ । सिकल-सेलको मात्रा ६० प्रतिशतभन्दा बढी पुगेपछि रोगले समातेको मानिन्छ। र, सिकल-सेल एनिमिया भनिने अवस्थामा व्यक्ति रोगी बन्छ । रोगीको छाती, पेट र जोर्नी दुख्ने, फियो बढ्ने तथा जन्डिस हुनेजस्ता लक्षण देखिन्छ।
उपचार नपाए बिरामीको ४० वर्षभित्र मृत्यु हुने गर्छ । चिकित्सकका अनुसार पोषणयुक्त खाना, सावधानीबाट जीवन लम्ब्याउन सकिन्छ। निमोनियाविरुद्ध खोप लगाउने, गर्मी र चिसोबाट जोगिने, काम कम गर्ने, पोषणयुक्त खानेकुरा खाने गर्नाले जीवन लम्बिने चिकित्सक बताउँछन्।
किटबाट प्रारम्भिक जाँच गरे पनि विस्तृत जाँच गर्न हेमोग्लोबिन इलेक्ट्रोफोरोसिस गर्नुपर्ने हुन्छ । विभिन्न अध्ययनले थारू समुदायका १० प्रतिशत व्यक्तिलाई यो रोगले सताएको देखिएको छ।