महाकाली अञ्चल अस्पतालमा सेवा सुचारु
महेन्द्रनगर: महाकाली अञ्चल अस्पतालमा दुई दिन ठप्प रहेको आकस्मिक बाहेकका सबै सेवाहरु सुचारु भएका छन्। शनिबार राति अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सक र स्वास्थ्यकर्मी माथि हातपात गरेका गरेका थिए।
त्यसपछि चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा ठप्प पारेका थिए। सोमबार बेलुका बसेको सर्वपक्षीय बैठकमा अस्पताल प्रशासन, पीडितलगायत सरोकारवालाको छलफलमा सहमति भएपछि चिकित्सकहरु काममा फर्किएका हुन्।
चिकित्सक माथि हातपात गर्ने दुई जनालाई सार्वजनिक मुद्धा चलाएर पक्राउ परेका अन्य ४ जनालाई छाड्ने विषयमा सबै सहमत भएपछि चिकित्सक काममा फर्किएका हुन्। सोमबार बेलुका देखि नै चिकित्सकहरु काममा फर्किएर बिरामीको उपचारमा खटिएको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले जानकारी दिए।