सरकारी अस्पतालको सटरमा औषधि पसलेको दादागिरी
वीरगन्ज: सरकारी अस्पताल परिसर भित्र सन्चालनमा रहेका नीजी औषधि पसल र फार्मेसी हटाउन सर्वोच्च अदालतले आदेश दिएको दुइ वर्ष बित्न लाग्दा समेत नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेका औषधि पसल र फार्मेसीहरु अहिले सम्म पनि हटाइएको छैन।सर्वोच्च अदालतले २०७२ साल असारमै नाायणी उपक्षेत्रीय अस्पताल परिसमा रहेका औषधि पसल र फार्मेसीहरु हटाउन आदेश दिएको भएपनि त्यहा रहेका औषधि पसल र फार्मेसीहरु हटाइएको छैन।
हाल अस्पतालले आफ्नो हाताभित्र रहेको सटरहरुको टेन्डर आह्वान गरी नीजि सञ्चालकलाई औषधि पसल सञ्चालन गर्न दिदै आएको छ।अस्पतालको सटरमा अस्पतालकै कर्मचारीहरुले पनि औषधि पसल चलाइरहेका छन्। विगतमा सस्तोमा भाडामा पसल लिएका अस्पतालका केही कर्मचारीले भने महङगोमा अन्य व्यवसायीलाई सटर भाडामा दिएका छन्।
नारायणी उपक्षेत्रीय अस्पताल हाता भित्र आफताब मेडिकल, नारायणी फार्मेसी, सुरभि फार्मेसी, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम मेडिकल, प्रभात मेडिकलका साथै कृष्ण कोल्ड स्टोर, गुप्ता मिष्ठान्न भण्डार गरि ११ वटा सटरहरुमा औषधि पसल र होटेल वर्षौ देखि सन्चालनमा रहेका छन्
अस्पताल परिसरमा रहेका औषधि पसल र होटेलहरुको सम्झौता म्याद पनि समाप्त भइसकेको छ। अस्पताल प्रशासनका अनुसार २०७१ साल मंसिरमै औषधि पसल सञ्चालनको म्याद समाप्त भएको हो।
अस्पताल प्रशासनले औषधि पसल तथा फार्मेसी हटाउन गत साउन २१ गते नै ३५ दिनको म्याद दिएको थियो। अस्पताल प्रशासनले अन्तिम पटकका लागि दिएको म्याद बितेको पनि एक महिना भइसकेको छ । यस बारेमा छलफलका लागि पटक पटक अस्पतालले बोलाउदा पनि पसल र होटेलका सन्चालकहरु नआएको अस्पतालका मेसु जितेन्द्र साहले बताए।
'पसल खाली गराउन पटक पटक ताकेता गरेपनि अटेरी गरेका छन,' अस्पतालका सुचना अधिकृत रमेश चौधरीले भने भयो, 'स्थानीय प्रशासनलाई समेत खाली गराइदिन पत्रचार गरेको पनि डेढ वर्ष बितिसक्दा पनि हालसम्म कुनै सुनवाई भएको छैन्।
अस्पताल प्रशासनले सटर खाली गरिदिनका लागि औषधि पसलेहरुलाइ पटक पटक पत्र पठाएपनि औषधि पसलेले पत्र नै नबुझेको अस्पतालका एक कर्मचारीले बताए।२०७३ साल वैशाख २४ गते अस्पतालका तत्कालीन मेसु डाक्टर रामपरिक्षण यादवले अस्पताल विकास समितिले म्याद समाप्त भइसकेका पसलहरु खाली गराउने निर्णय गरेकाले आवश्यक सहयोग गरिदिन भन्दै स्थानीय प्रशासनलाई पत्राचार गरेका थिए।तर अझै सम्म पसल खाली भएको छैन।
अस्पताल भवनको ११ वटा सटर मध्ये अधिकांशमा अस्पतालकै कर्मचारीहरुले औषधि पसल सन्चालन गरेका छन्। सटर खाली गराउन कडाइ गर्ने बित्तिक्कै कर्मचारीहरुले नै बवाल गर्न शुरु गर्छन, मेसु साहले भने ,'इमरेजेन्सी छेउको औषधि पसल खाली गर्न पनि चार पटक परिपत्र गरिसकिएको छ, तर टेर पुच्छर लगाएका छैनन्।
तर अब अस्पताल हाता भित्र रहेका औषधि पसल र फार्मेसीहरु तोकिएको समयभित्र नहटाइएका कारण अस्पताल प्रशासनले बल प्रयोग गरेर हटाउने प्रक्रिया शुरु गरेको मेसु साहले बताए। अस्पताल प्रशासनले औषधि पसल तथा फार्मेसी हटाउन साउन २१ गते नै ३५ दिनको म्याद तोकेको र उक्त समयभित्र कसैले पनि पसल खाली नगरेको तथा छलफलको लागि समेत नआएको कारण अब प्रहरी लगाएर नै पसल हटाउनको लागि मन्त्रालयमा पत्राचार समेत गरिएको अस्पतालका मेसु साहले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको पत्र संख्या ६२२७ अनुसार सरकारी अस्पतालको क्षेत्रभित्र रहेका जग्गा, जमिन, घर, भवन, कम्पाउन्ड वाल र परिसरमा कुनै पनि निजी, साझा, सहकारी र गैरसरकारी संस्थाले सञ्चालन गरेको पसल ३५ दिनभित्र हटाउन निर्देशन गरेको भएपनि उक्त पत्रको अटेर गरिएका कारण अब बल प्रयोग गरेर पसल हटाउने प्रक्रिया शुरु गरिएको मेसु साहले जानकारी दिए।
अस्पताल विकास समितिका सदस्य सुशील खेतानले, 'तोकिएको समयभित्र पसलहरु खाली नगरेपछि कानुनी सल्लाह समेत लिई सकेका छौं, अब त्यहि अनुसार अगाडि बढ्ने तथा ति पसलहरु खाली गराउन कुनैै कसर बाकी राख्दैनौ।