जनप्रतिनिधिले हिसाब खोजेपछि नगरपालिकाबाट बिलभरपाई गायब
बर्दिबास : महोत्तरीको गौशाला नगरपालिका लाखौं रुपैयाँ अनियमित रुपमा खर्च गरेको बारे जनप्रतिनिधिले छानबिन सुरु भएको छ। विभिन्न कर स्वरुप थोपाथोपा गरी नगरपालिकामा जनताले तिरेर जम्मा भएको रकम गोलमाल भएको हो। जनप्रतिनिधिले नगरपालिकोको हिसाब किताब खोज्न थालेपछि कर्मचारीहरुमा खेलावेला मच्चिएको छ।
गौशाला नगरपालिका तत्कालीन कार्यकारी अधिकृत शम्भू ठाकुर, लेपाखाल नर्भेस राय, लेखासाहायक मनोज चौधरी, प्रशासन फाँटका सुदिप बरालसहितका नगरपालिका कर्मचारीको मिलोमतोमा नगरपालिकाको २ करोंड ६४ लाख रुपैयाँ खर्च गरिएको नगरपालिका अधिकृत रामजी जोशीले बताए।
साउन १ गते देखि भदौं १२ गते भित्रमा २ करोंड ६४ लाख रुपैयाँ अनियमित ढंगले खर्च गरेको हो। भदौं १९ गते एकै दिन ९० लाख रुपैयाँ नगरपालिकाको गौशाला स्थित नेपाल बैंककको खताबाट नगरपालिकाकै अन्य खातामा टास्र्फर गरेर खर्च गरेको देखिएको छ।
आन्तरिक ठेक्कापट्टा, कर्मचारीको तलब भत्ता, कार्यालय संचालनको लागि ६० लाख र योजना संचालनको खातामा ३० लाख गरी ९० लाख रुपैंया एकै दिन मुख्य खाताबाट टास्र्फर गरेको बैंक स्टेटमेन्टमा उल्लेख छ।
भदौं १२ गते गौशाला नगरपालिकाको प्रमुखमा रामजी जोशी आएका थिए। तर, तत्कालीन नगरपालिकाका कार्यकारी अधिकृत शम्भू ठाकुरले भदौं १९ गते एकै दिन ९० लाख रुपैयाँ नगरपालिकाको मुख्य खाताबाट शीर्षक, उप—शीर्षककमा विभिन्न खाताहरु रुपैयाँ टास्र्फर गरेका थिए।
‘भदौं १९ गते तत्कालिन जिम्मेवार कार्यकारी अधिकृत शम्भू ठाकुरसहितका जिम्मेवार कर्मचारीहरुले बैंकमै चेकराइटर लगेर चेक बनाएर ९० लाख रुपैंयाँ खर्च गरेको देखिएयो,’गौशाला नगरपालिकाका अधिकृत रामजी जोशीले अन्नपूर्णसंग भने,‘अन्तरिक आम्दानीको रकम थोपा थोपा गरेर जम्मा गरिएको सबै रकम निकालिएको छ।’
नगरपालिकाका अधिकृत जोशीका अनुसार, साउन १ गतेदेखि भदौं ११ गते सम्म नगरपालिकाको खाताबाट खर्च गरिएको २ करोंड ६४ लाख रुपैंयाको बिलभारपाई, निर्णय पुस्तिका, योजनाआयोजनाको प्रगति प्रतिवेदन, कामको मुल्यांकन प्रतिवेदन, गोश्वारा किताव, खर्चको फाँटवारी, योजनाको लागत स्टिमेट जस्ता कुनै अभिलेखहरु नगरपालिकामा भेटिएको छैन।
‘सरसमानको माग फरम गरिएको छैन। आर्थिक निमावली मिच्चिएको छ। खरिद गरिएको सरसमान पुरानो र कामै लाग्ने छैन,’ नगरपालिकाका अधिकृत जोशी भन्छन्,‘नगरपालिका भत्ताभुङ्ग—लथालिङ्ग बनाइएको छ। डर लाग्दो स्थिति छ।’
प्रहरीप्रशासनको रोहवरमा लेखाशाखाको दराज खोलेर हेर्दा नगरबाट खर्च भएका साउन १ गते यताको एउटा पनि अभिलेख भेटिएको छैन। जनप्रतिनिधिले नगरपालिकामा खर्चको हरहिसाब खोज्न थालेपछि कर्मचारीहरुले गैरकानुनि रुपमा खर्च गरेका कागजपत्र लुकाएका श्रोतले जनाएको छ।
तत्कालिन कार्यकारी अधिकृत शम्भू ठाकुरले समस्या सिर्जना गरेर आफुमाथि आर्थिक हिनामिनाको आरोप लगाइएको दावी गरेका छन्। उनले भने,‘मैले हिनामिना गरेको ठहरिए भने कारवाही भोग्न तयार छु।’
गौशाला नगरपालिकाको प्रमुख शिवनाथ महतोले नगरपालिकामा भएको खर्चको छानविन सुरु गरिएको बताए। उनले गहन रुपले अनियमिताको बिषयमा अध्ययन अनुसन्धान थालिएको बताए। ‘खर्चका कागजातहरु भेटिएको छैन। खोजीकार्य जारी छ। कर्मचारीहरुलाई स्पष्टिकरण मागेका छौं। त्यतिकै काँहा छाँड्छौं, दोषीलाई फेरीपनि गल्ति नदोर्याउने गरि कारवाही गर्छौं।’