जीर्ण बिजुलीका पोलले पूरै गाउँ जोखिममा

जीर्ण बिजुलीका पोलले पूरै गाउँ जोखिममा

 

प्युठान : बिजुलीका पोल जीर्ण भएको वर्षौं बितिसक्दासमेत सम्बन्धित निकायले ध्यान नदिँदा सिंगो गाउँ नै जोखिममा परेको छ । झिमरुक गाउँपालिका-४ स्थित बांगेको पूरै गाउँ जोखिममा परेको हो । टिमिलडाँडादेखि बांगे सुमन्तेकानासम्मका काठका पोल जीर्ण बनेका छन् । दुई दर्जनभन्दा बढी स्थानका पोल ढल्ने अवस्थामा पुगिसकेको बांगेका स्थानीय शिक्षक भरतविक्रम जिसीले जानकारी गराए ।

‘एक वर्ष हुन लागिसक्यो पोल जीर्ण बनेर गाउँ जोखिममा परेको’, उनले भने, ‘पटकपटक विद्युत् प्राधिकरणलाई जानकारी गराउँदा पनि यसप्रति चासो देखाइएन ।’ जीर्ण काठका पोल परिवर्तन गरेर नयाँ फलामका पोल राख्नुपर्ने उनको भनाइ छ । ‘केही स्थानमा नयाँ पोल ल्याइएको छ’, जिसीले भने, ‘तर त्यसलाई गाड्न प्राविधिक आएका छैनन् ।’ टिमिलडाँडा, बांगे, सुमन्तेकाना, भृकुनालगायतका जीर्ण पोल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

 

‘ढल्न थालिसकेका पोल परिवर्तन नगर्दा सयौं घर खतरामा छन्’, उपल्लो बांगेका स्थानीय केशरबहादुर जिसीले भने, ‘दुर्घटना नहुँदै कार्यालयले यसमा चासो दिनुपर्छ ।’ बेलाबेला पोल ढलेर चार÷पाँच दिनसम्म बिजली अवरुद्ध हुने गरेको समेत उनले जानकारी गराए । गाउँमा सञ्चालनमा रहेका कुटानपिसानी मिल चलाउनसमेत समस्या हुने गरेको स्थानीयले गुनासो गरे । झन्डै पाँच सयभन्दा बढी उपभोक्ताले विद्युत् प्रयोग गर्दै आइरहेका छन् ।

स्थानीयका अनुसार बांगेमरोठमा झन्डै दस वर्षअघि विद्युत् विस्तार गरिएको थियो । त्यसबेला गाडिएका काठका पोल जीर्ण बनेका हुन् । हालसम्म नेपाल विद्युत् प्राधिकरणले गाउँमा पुगेर पोलको अवस्थाबारे बुझेको छैन । स्थानीयका अनुसार २९ स्थानका काठका पोल जीर्ण बनेर ढल्ने अवस्थामा पुगेका छन् । घरमाथि गाडिएका पोल ढलेपछि सीधै घरमै पुग्ने खतरा छ । ढल्न लागिसकेका पोल बाँसको सहायतामा अड्याइएको छ । ‘तत्काल समाधान नखोजे गाउँमा विद्युत्का दुर्घटना हुनसक्छ’, भरत जिसीले भने, ‘यसबाट हुने सम्पूर्ण जोखिम सम्बन्धित निकायले लिनुपर्छ ।’ उपल्लो बांगेको भगवती मन्दिरनजिक र उर्लेनीमा रहेका पोल ढल्ने अवस्थामा पुगिसकेको उनको भनाइ छ ।

जिल्लाका धेरै गाउँमा दशकौंदेखि गाडिएका काठका पोल परिवर्तन नगर्दा गाउँघरमा जोखिम बढ्दै गएको स्थानीयले गुनासो पोखेका छन् । लामो समयअघि नै विद्युत् विस्तार भएका गाउँमा जोखिम छ । नेपाल विद्युत् प्राधिकरण प्युठानका वितरण केन्द्र प्रमुख रमेश बञ्जाडेका अनुसार काठको पोलको आयु बढीमा पाँच वर्ष हुन्छ । तर, दस वर्ष बितिसक्दासमेत जीर्ण पोल फेरिएका छैनन् । जीर्ण बनेका काठका पोल विस्थापित गर्ने काम तिहारलगत्तै गरिने बञ्जाडेले जानकारी गराए । ‘दसैं, तिहारले गर्दा काम गर्न पाइएको छैन्’, उनले भने, ‘तिहारपछि काम सुरु गर्छौं । अब राखिने सबै पोल फलामका हुन्छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.