व्यवस्थापिका संसद्को अन्तिम बैठक जारी
काठमाडौं : व्यवस्थापिका संसद्को अन्तिम बैठक अहिले जारी छ। शुक्रबार दिउँसो तीन बजेका लागि बैठक बोलाइएको भएपनि केही ढिलो गरी बैठक सुरु भएको हो। २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को यो नै अन्तिम बैठक भएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा सांसद लक्ष्मण लाल कर्णले संविधान सभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
यस्तै प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयकमाथि दफावार छलफल गरियोस् भनि प्रस्ताव पेश हुनेछ भने उक्त विधेयकमाथिको संशोधन प्रस्तावहरुलार्इ पनि निर्णयार्थ पेश गरिने कार्यसूचीमा उल्लेख छ। संसदको अन्तिम बैठक भएकाले आज नै पारित हुने छ। यसैगरी भाषा आयोग विधेयक पनि संसदम पेश हुने छ। तर संसदको अन्तिम बैठकमा चिकित्सा शिक्षा विधेयक भने कार्यसूचीमा छैन।
नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन शनिबार मध्यरात देखि बिघटन हुँदैछ। सांसदहरुलार्इ सभामुख ओनसरी घर्ती मगरले शनिबार दिउँसो ३ बजे बिदार्इ कार्यक्रम राखेकी छिन्। उनले सबै दलका शीर्ष नेता र सांसदलाई व्यवस्थापिका संसदको कार्यालयमा निम्ता गरेकी छिन्। बिदाई कार्यक्रम अघि सांसदको सामूहिक तस्बिर खिच्ने कार्यक्रम रहेको छ। बिदाई कार्यक्रममा शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका समेत रहेको छ। शनिबार संसदको बैठक बसे पनि कुनै बिजनेश भने छैन।