स्मृतिमा ‘चे'
काठमाडौं : ‘हामीलाई एउटा खेत
एउटा देश होइन
विश्व चाहिएको छ'
शुक्रबार काठमाडौंको मण्डला थिएटरमा कवितामार्फत ग्रुजिँदै थिइन् कवि निभा शाह । निभा शाहसँगै कविता सुनाउने लहरमा थिए— अभय श्रेष्ठ, हरिमाया भेटवाल, छम गुरुङ, सुशीला प्रधानांग, नवीनप्रकाश श्रेष्ठ, प्रकाश गुरागाईंलगायत कविहरू । ‘बातलाबा' नामक मासिक शृंखलामा आयोजित चे स्मृतिमा कविहरू गुञ्जिएका हुन् ।
हरेक महिना तेस्रो शुक्रबार विविध विषयमा हुने शृंखला कार्यक्रम बातलाबामा यसपालि कम्युनिस्ट नेता चे ग्वेभाराको स्मरण गरियो । चेको एकाउन्नौं स्मृति दिवसको अवसरमा उनको स्मरण गरिएको हो ।
कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री एवं माओवादी केन्द्रका नेता राम कार्कीले चे ग्वेभारालाई लडाकुका रूपमा मात्र लिने बुझाइ परिवर्तन गर्न आग्रह गरे । ‘चेको जीवन सुन्दर कविता हो', कार्कीको बुझाइ थियो । ‘लेनिनपछि बौद्धिक चिन्तन गर्ने नेता ग्राम्सी र चे हुन्', कार्कीले भने, ‘चेले नयाँ मानवको विचार अगाडि सारेका छन् ।' कम्युनिस्ट आन्दोलनबारे अहिले भइरहेको बहसतर्फ संकेत गर्दै कार्कीले कम्युनिस्टहरूको आलोचना कम्युनिस्टकै कोणबाट गरिनुपर्ने आग्रह व्यक्त गरे । युवाहरूले चे ग्वेभाराबाट शिक्षा लिनुपर्ने धारणा राख्दै कार्कीले ‘म्यान एन्ड सोसियलिज्म इन क्युबा' नामक पुस्तक पढ्न अनुरोधसमेत गरे।
चेको जीवनबारे टिप्पणी गर्दै लेखक राजेन्द्र महर्जनले उनलाई पनि प्रश्नको घेराभित्र राखेर बुझ्नुपर्ने टिप्पणी गरे । कार्कीको टिप्पणीतिर संकेत गर्दै महर्जनले प्रश्न गरे, ‘प्रश्नभन्दा माथि कोही पनि छैन । क्युबापछि अरू ठाउँमा चेकै नेतृत्वमा पनि किन क्रान्ति सफल भएन ? '
लेखक उज्ज्वल प्रसाईले दक्षिणपन्थ हावी हुँदै गरेको समयमा चेको स्मरण झनै आवश्यक भएको दाबी गरे । अर्जेन्टिनामा जन्मेर क्युबाको सशस्त्र संघर्षमा सहभागी भई त्यहाँ समाजवादी व्यवस्था स्थापना गर्न भूमिका खेलेका चे ग्वेभारा विश्वका विद्रोही विचार राख्नेहरूबीच आइकनका रूपमा स्थापित छन् । त्याग, निष्ठा र जोखिमसँग खेल्ने उनको बानीलाई रोल मोडलका रूपमा लिनेहरू पनि छन् । क्युबामा क्रान्तिपछि गभर्नर र मन्त्रीको भूमिकासमेत निर्वाह गरेका चे बोलिभियामा सशस्त्र विद्रोह गर्दागर्दै घेरामा परी सन् १९६७ अक्टोबर ९ मा मारिएका थिए ।