कल्पतरु आश्रम
विनयले त्यसपछि ढोकाको छेस्किनी लगाउन छोड्यो ।'भाइ, रुम नम्बर ३२ को ढोका किन यस्तो अफ्ठेरो ? 'कम्तीमा तीनपटक फोन गरेपछि मेन्टिनेन्सको केटो आयो । 'सर, ए दरबाजा बदलना पढेगा । अभि तो काम हो नही सक्ता ।'
विनयको हातमा ज्यारोम ब्ल्याकको पहिलो खिल्ली थियो । होटेलको तेस्रो तल्लामा उक्लिँदै गर्दा उसले पाइन्टको दाइने पकेटमा रहेको बट्टाबाट सिगरेट झिकेर सकाउनै लागेको थियो । प्यासेजका दुवैतिरका भित्ता, छत र भुइँ पूरै कालो रङको थियो । भित्तामा लहरै पेन्टिङ झुन्ड्याइएका थिए । प्यासेजमा उभिएर प्रेममा सल्किएका एक जोडी अचानक उसलाई देखेर झस्किए । उसले सिगरेट सल्काएन । आफ्नै रुमको अगाडि आएपछि 'तीर' नामको 'काठको सलाई'को ३१ वटा काँटीमध्येको नितान्त पहिलो काँटीले सिगरेट सल्कायो- 'कोर्यो कि बल्यो !'
सलाईको बट्टामा '३१ प्लस' लेखिएको थियो । तर, गन्दा 'प्लस' काँटी थिएन, जसरी यसपटकको असारमा ३२ गते थिएन । यसपटक असार ३१ को महिना थियो । 'लिप इयर'मा पर्ने उसको जन्मदिन आउन अब ठ्याक्कै एक वर्ष बाँकी थियो । उसले प्रयोग गरिसकेको काँटीको टुक्रा बट्टाभित्रै राख्यो । होटेलमा उसको पहिलो दिन चल्दै थियो । तपाईंलाई भनिदिऊँ, ऊ दिनमा एउटा मात्रै चुरोट पिउँछ ।
ढोका निक्खर सेतो रङको थियो । ढप्क्याउँदा भर्खरै सल्किएको सिगरेट भुइँमा झ्र्यो । उठाएर उसले फेरि ओठमा च्याप्यो र हातले नसमाई फुसफुस दुई सर्को तान्यो । कोठाका भित्ताको रङ निख्खर पहेँलो थियो । उसको आँखा पलङको सिरानपट्टि भित्तामा राखिएको पेन्टिङमा पर्यो । क्यानभासको चारै कुनामा विनयले आँखा घुमाएन । बजारियाजस्तो देखिने चित्रमा चित्रकारको नाम थिएन । मुगल समयका चित्रकलामा जस्तै महिलाका अनुहार कैद थिए । ब्ल्याक एन्ड ह्वाइट पेन्टिङमा ६ जना महिलाको विभिन्न पोस्चर अंकित थिए । सिगरेट मुखमै राखेर ऊ मुस्कुरायो । उसलाई पेन्टिङप्रति कुनै चासो थिएन । तर, पनि पेन्टिङका महिला देखेर उसलाई लुगा पूरै खोल्न लाज लाग्यो । उही लुगामा ऊ पलङमा पसारियो ।
हरेक मानिसले प्रयोग गरेको तन्ना, सिरक र सिरानका खोलमा ४८ घण्टाको लागि त्यस मानिसको चरित्र र स्वभाव सरेको हुन्छ । त्यसपछि त्यो तन्ना र खोल जसले प्रयोग गर्छ उसमा खोलमा भएको स्वभावले आधा प्रभाव पार्नेछ ।
विनयकी सहकर्मी सिर्जना तामाङ अघिल्लो दिन नै आइसकेकी थिई । 'क्रिएटिङ स्पेस' नामको अन्तर्राष्ट्रिय संस्थाको आयोजनामा नेपालगन्जमा सात दिनको प्रशिक्षण कार्यक्रम थियो । विनय र सिर्जना प्रशिक्षकको रूपमा त्यहाँ आएका थिए । विनय भने कार्यक्रम सुरु हुने दिन बिहानको उडानमा नेपालगन्ज पुगेको थियो । होटेलको माइक्रोबस एयरपोर्ट पुगेको थियो । एक्लो ज्यानका लागि १७ सिटे गाडी देखेर ऊ अचम्ममा परेको थियो । होटेलमा प्रवेश गर्नेबित्तिक्कै रिसेप्सनिस्टले गरेका दुईवटा प्रश्न अचम्मका थिए । अधबैंसे पुरुषले कृत्रिम मुस्कानसहित रटिएको वाक्यले स्वागत गर्यो- 'वेलकम टु दि कल्पतरु आश्रम सर ।'
होटेलको मूल ढोका निक्कै सानो थियो । निहुरेर छिर्नुपर्ने । तर, भित्री भाग भव्य थियो । छिर्नेबित्तिकै एक हुल बालकले शास्त्रीय नृत्यमा पाहुनालाई स्वागत गर्दा रहेछन् । रिसेप्सन डेस्कअगाडि कृत्रिम रूखहरू थिए । मानौं घरभित्र आधुनिक बगैंचा उम्रिएको छ । हरेक रूख र फूलका बोटहरू एक रङे थिए । कि त रातो वा निलो वा सेतो वा कालो गरी ६ रङका । तर, हरियो रङको कतै नामोनिसान थिएन । बगैंचाका रूख र बिरुवामा सिमसिम पानी परेजस्तो देखिन्थ्यो । तर, भुइँ वा मान्छेको शरीरमा पानीको छिटा परिरहेको थिएन । न गर्मी घटेको थियो ।
'योर रुम नम्बर इज थर्टी टु । इफ यु डन्ट लाइक द नम्बर । यु क्यान चुज एनोदर नम्बर सर ।' विनयको जीवनमा आजसम्म यस्तो कहिल्यै भएको थिएन, कुनै होटेलका कर्मचारीहरूले यस्तो प्रस्ताव गरून् ।
'रुम नम्बरमात्रै छान्न पाइने कि कोठा पनि ? '- खसखस लागेर उसले खस भाषामै सोध्यो।
'नो सर । अल दि रुम्स् आर अक्युपाइड । यु क्यान वन्ली चेन्ज दि रुम नम्बर ।' नेपालगन्जको गर्मी त्यसमा पनि असार साउनको । उसको रिसको पारो चढिसकेको थियो । तर, सम्हालिँदै सोध्यो।
'अनि किन रुम नम्बरमात्रै परिवर्तन गर्ने नि ? '
'सर कसैलाई कुनै नम्बर फाप्दैन । त्यसैले यहाँ उपलब्ध नम्बरमध्ये तपाईंको लक्की नम्बर छान्न सक्नुहुन्छ ।' संयोग हुनुपर्छ लकी अलीको गीत बजिरहेको थियो '...ना तुम जानो ना हम' ।
रिसेप्सनिस्टसँग तर्क गर्नु बेकार ठान्यो र कोठाको चाबी समाउँदै भन्यो- 'नो थ्याङ्स' । ऊअघि बढ्न मात्रै के लागेको थियो, अघिल्ला दुईवटा दाँत नभएको अचम्मको त्यही पुरुषले फेरि निवेदन गर्यो, 'सर इफ यु वान्ट स्पेसल फेसिलिटिज्, प्लिज टेल मि सिक्रेट्ली' र, उसले चिम्सा आँखा झिम्क्यायो । होटेलको परिवेश बिल्कुलै फरक थियो । अलिक बोझिल पनि । भौतिक रूपमा निक्कै सजिसजाउ कल्पतरु आ श्रमलाई कृत्रिमताले छोपेको थियो । यो सबै व्यवहारका कारण उसलाई त्यहाँ बस्ने मन मरिसकेको थियो । तर, अफिसले कोटेसन प्रतिस्पर्धाबाट छानेको भनिएको यस होटेलमा हाकिमको विशेष लगाव थियो । 'क्रिएटिङ स्पेस'का सबै कार्यक्रम विगत चार वर्षदेखि त्यही होटेलमा भइरहेका थिए । ऊ भने यस परियोजनामार्फत पहिलोपटक नेपालगन्ज आएको थियो । वेटरहरू सिकारु थिए । होटेलभित्रको फेन्सी रेन्टुरेन्ट सिद्राको हटियाजस्तो झर्कोलाग्दो थियो । वेटरहरूले सेवा दिँदा पानी पोखिनु, चम्चा झर्नु, सिसाको ग्लास फुट्नु सामान्य थियो ।
केही कर्मचारी मधेसी मूलका र केही थारूजस्ता देखिन्थे । अधिकांश कर्मचारी भारतीय थिए । निक्कै निरंकुशतामा राखिएका कर्मचारी काममा तालिम प्राप्त थिएनन् । भारतीय मूलका व्यापारी चन्द्रेश्वर गुप्ताले बैंकबाट लोन नलिई बनाएको यस होटेलमा प्रयोग हुने सलाई नेपालमै बनेको थियो । त्यसमा लेखिएको थियो, 'स्वदेशी उत्पादनको प्रयोग, स्वदेशी रोजगारको सदुपयोग ।'
पहिलो दिन बिहान १० बजे होटेलमा चेक इन गरेर रुम नं. थर्टी टु छिरेदेखि विनयको मुड झन् खराब भयो । लन्चअघि सिर्जनाले तालिम चलाई । रुममा उसले आराम गर्न सकेन । टाउको भारी भएर आयो । उसलाई दिक्क लागिरहेको थियो । र, एक किसिमको निराशाले छाएको थियो । लन्चपछि ऊ तालिममा उपस्थित भयो । तालिमको शीर्षक थियो, 'लैंगिक अवधारणा र समानता' । तर, सिर्जना र उसमा कामको कुनै तालमेल थिएन । तालिम सकेर रुममा छिर्दा भित्तामा बिहान देखेको पेन्टिङ थिएन । अर्कै पेन्टिङ झुन्डिएको थियो । उसलाई लाग्यो- बाहिर झुन्ड्याइएका पेन्टिङ र कोठाको पेन्टिङमा ऊ अलमलमा पर्यो ।
दोस्रो दिन उसलाई रिसमात्रै उठिरहेको थियो । लन्चअघि रुममै बसेर तालिमको तयारी गर्यो । तर, मनमा अनेकौं कुरा खेलिरहेका थिए । उसलाई मन नपरेका मानिसहरू सम्झिएर आफैं मुर्मुरिइरहेको थियो । रिसाएरै उसले लन्च गर्यो । रिसलाई जबर्जस्ती दबाएर तालिम सञ्चालन गर्यो । रिसाएरै साँझ रुममा फर्कियो । रूपमा छिर्दा फेरि सिरानमाथिको पेन्टिङ साबिकको थिएन । कुनै जुँगामुठे महाराजको पोट्रेट थियो । एकपटक त ऊ झस्कियो । उसले काउन्टरमा फोन गरेर सोध्यो, 'कोठाको पेन्टिङ किन हरेक दिन फेरिन्छ ? '
रिसेप्सनिस्टलाई त्यस विषयमा जानकारी नभएको र बुझेर खबर गर्ने बतायो । तर, कुनै जानकारी आएन । कल्पतरु आ श्रमको एउटामात्रै कुरा उसलाई मन पर्यो- नियमित सरसफाइ । हरेक साँझ फर्किंदा रुम निक्कै व्यवस्थित हुन्थ्यो । रिसेप्सनमा रुमको चाबी नछोडे पनि पाहुना नभएको मौका छोपेर रुम सफा गर्ने चलन काइदाको थियो । शौचालय अगाडि भुइँमा सेतो टाबेल ओछ्याइएको थियो । सावर बटम डिजिटल थियो, तातो-चिसो पानीको मात्रा मिलाउन मिल्ने ।
सावर बटम दबाउनेबित्तिकै शास्त्रीय संगीत पनि बज्थ्यो । खासमा पानी म्युजिक स्पिकरबाट झर्दोरहेछ । ट्वाइलेटमा पुचुंग्रे बट्टामा हेयर सेम्पो र बडी सेम्पो राखिएको थियो । उसले उभ्रिएको सेम्पो र नचलाएको होटेलको साबुन ब्यागको पछाडि खल्तीमा राख्यो । उसलाई थाहा थियो, भोलिपल्ट हाउस किपरले नयाँ सेम्पो र साबुन राखिदिनेछन् । एक्लो ज्यानलाई डबलबेड रुम थियो।
तेस्रो दिन विनयमा यौन चाहना अत्यधिक बढेको थियो । उसलाई आफ्नो लिविडो निक्कै जागेको महसुस भइरहेको थियो । आफूलाई नियन्त्रण गर्ने कोसिस गरिरहेको थियो । यो अस्वाभाविक भावना जागेकोमा विनय आफैं आश्चर्यमा थियो । ठीक १० बजे उसले तेस्रो सिगरेट सल्कायो । र, प्रयोग गरिएको तेस्रो काँटी बट्टामै राख्यो । कोठामा उसले अघिल्लो दिनको कामको रिपोर्ट तयार गर्दै थियो । 'डोरबेल' बज्यो । बेलको कुहुकुहु आवाजसँगै अर्को पनि आवाज आयो 'हाउसकिपिङ, हाउसकिपिङ' ।
त्यस अप्रत्याशित आवाजले एकछिन त विनय अलमलमा पर्यो । अघिल्लो दिन लन्चभन्दा अघि रुम सफा गर्न कोही आएको थिएन । उसलाई लागेको थियो- लन्च टाइममा हाउस किपिङको काम हुन्छ । विनयले भन्यो, 'म काम गर्दैछु । नो रुम क्लिनिङ नाऊ ।'
छेस्किनी नलगाइएको ढोका ठेल्दै एउटा आवाज रुमभित्र छिर्यो, 'मलाई चाँडै काम सक्नु छ सर । त्यही भएर अहिले नै आएको ।'
पुरुषमात्रै भएको सुनसान कोठामा एउटी तरुनी केटी छिरेको देखेर ऊ अचम्ममा पर्यो । त्यसमा पनि उसको लिविडो उत्ताउलो भएको बेला । 'मेरो महत्वपूर्ण काम छ । तपाईं अहिले रुम सफा गर्न सक्नुहुन्न ।'हाउस किपिङका सबै सामानसहित उसले आफूलाई पूरै कोठाभित्र छिराइसकेकी थिई । 'तपाईं काम गर्नुहोस् । म रुम सफा गर्छु । चिन्ता नगर्नुस् सर ।'
उसलाई लाग्यो केटी जिद्दी रहिछ । केटीलाई नियालेर हेर्यो । श्याम वर्णको अनुहार कलिलो थियो तर कपाल सेतै फुलेको थियो । खुट्टामा मोटा चाँदीका कल्ली टल्किरहेका थिए । उसमा डर फिटिक्कै देखिएको थिएन । उसको हक्कीखालको प्रवेशले बरु पलङमा बसेर काम गरिरहेको विनय सरक्क उठेर कुर्सीमा सरेर काम गर्न थाल्यो । केही गडबढी होला कि भन्ने डर उसमा थियो ।
किशोरीले बढो जतनले तन्ना, सिरक र सिरानको खोल फेरिदिएको उसले हेरिरहेको थियो । केही अहसजताका साथ कम्प्युटरमा काम गरिरहेको थियो । उसको मनमा केही शंका र डर पनि थियो । 'यसरी काम गर्नेहरूको के इज्जत ? मलाई फसाउनलाई चिच्याएर हातपात गर्यो भनेर पोल लगाई भने ? ' किशोरीले भुइँमा 'मप' लाउन थाली । आस्ट्रेमा रहेको खरानी र चुरोटको ठुटो डस्टबिनमा हालिदिई । झ्यालका पल्ला, दराज हुँदै टेबल र कुर्सी पनि फटाफट सफा गरी । विनय आफैं आत्तिएर फेरि पलङमा सर्यो । किशोरीले वृत्त आकारका पुराना टाबेल बटुली र नयाँ राखिदिई, उसैगरी बाथरुम सफा गरिदिई र साबुन सेम्पो राखिदिई ।
- 'तपाईं बढो खर्चालु हुनुहुँदो रहेछ । डबल बेडरुममा एक्लै बस्नुहुन्छ । तर, भएभरको साबुन र सेम्पो सक्नुभएछ ।'
विनय केही बोलेन ।
- 'मसँग अफ्ठ्यारो नमान्नुस् । मेरो काम तपाईंजस्ता पाहुनाको रुम व्यवस्थित गरेर सहज बनाउनु हो । लौ त भोलि भेटौंला ।'
- 'मैले भने नि, यो बेला सधैं म रुममै हुन्छु । मैले काम गर्नुपर्छ । तपाईं लन्च ब्रेकमा आउनुहोस्।'
- 'म तपाईँलाई अफ्ठ्यारो नपार्ने कोसिस् गर्नेछु । आइमाईका दु:ख सुन्न सक्ने पुरुषप्रति मेरो सधैं सहानुभूति छ ।'
हिँड्नुअघि हरियो क्यान्डल बालेर टेबलमा राखिदिई । निक्कै हतारमा बाहिर निस्किई मानौं उसले केही गल्ती गरेको होस् र कसैले नथापाओस् । किशोरी गइसकेपछि उसले रुमलाई नियालेर हेर्यो । सबै कुरा चिटिक्क मिलेको थियो । सफा र व्यवस्थित थियो । अचम्मको कुरा त यो थियो, फेरि भित्तामा झुन्ड्याइएको पेन्टिङ फेरिएको थियो । किशोरीले रुमभित्र आउँदा आफूसँग कुनै पेन्टिङ लिएर आएको वा लगेको उसले चाल पाएन । तेस्रो रात उसलाई निक्कै राम्रो निद्रा पर्यो । दिउँसो किशोरीको व्यवहारले विनयलाई आश्चर्यमा त पारेको थियो तर मन शान्त थियो । उसमा केही फरक महसुस भइरहेको थियो ।
चौथो दिनको बिहान उसको लागि निक्कै उपलब्धिमूलक रह्यो । सबेरै उठेर स्नान गर्यो । उसको लिविडो शान्त थियो । त्यसभन्दा अघिल्लो दिनको उसको रिस र निराशा सबै हराइसकेको थियो । पूर्णत: काम गर्ने मुडमा थियो । अघिल्लो दिनको तालिमको रिपोर्ट तयार पार्न थाल्यो । तालिमको तेस्रो दिन सहभागी महिलाहरूले आफ्नो कथा सुनाएका थिए ।
गाउँबाट आएका ती हरेक महिलाको दु:खका कहालीलाग्दा कथा थिए । २० मध्ये लगभग आधा महिलाले आफ्नो जीवनको दु:खदायी घटना सुनाउने साहस गरेका थिए । र, तालिममा तिनको आँसुको नदी बगेको थियो । ती कथा सुन्दा विनयलाई लागेको थियो- महिलाहरू जन्मँदैदेखि पुरुषहरूको भयंकर ठूलो असुरक्षाको घेरामा हुन्छन् । जन्मनेबित्तिकै कोक्रामा, घरको कुनामा, शौचालयमा, स्कुलमा, मेलापातमा, हाटबजारमा, कार्यालयमा अनेकौं हिंसा भोगिसकेका हुन्छन् ।
विवाहपछि अर्को चरण सुरु हुन्छ । कानुनी मान्यता प्राप्त हिंसा । विनयले आफ्नो रिपोर्टमा प्रत्येक सहभागीको कथा लेख्नुथियो । 'पहिलो कथा थियो नैनाको जो दुई कक्षामा पढ्दै गर्दा आफ्नै साथीको दाइबाट...' । फेरि डोरबेल बज्यो । अघिल्लो दिन जसरी नै डोरबेलसँगै उही आवाज आयो, 'हाउस किपिङ, हाउस किपिङ' । यसपटक विनयले केही भन्न नपाउँदै रुममा किशोरी छिरिसकेकी थिई । केही रूखो स्वरमा भन्यो, 'किन मलाई डिस्टर्ब गर्नुहुन्छ ? हिजो मैले भनेको थिएँ त, आज यो समयमा नआउनुस् भनेर ।'
- 'हिजो तपाईंको तालिममा निक्कै रुवाबासी चल्यो हगी ? किन रुवाउनुभएको ती महिलालाई त्यस्तरी ? '
विनयको कुरालाई वास्तै नगरी किशोरीले प्रसंग बदल्न खोजी ।
- 'मैले त्यही आँसुको कथा लेखेर अफिसलाई बुझाउनु छ बैनी । अनुमतीबिना किन तपाईं मेरो रुममा आउनुभएको ? '
- 'तपाईंको भलाइको लागि यही समय ठीक हो सर । दिउँसो तपाईंले विशेष हाउस किपिङ सर्भिस पाउनुहुन्न । अनि रिपोर्ट पनि राम्ररी लेख्न सक्नुहुन्न ।'
- 'कस्तो हो त्यो विशेष भनेको ? '
- 'हाउस किपरहरूले फेरिदिने लुगाहरू निक्कै घिनलाग्दा हुन्छन् सर ।'
- 'के यो होटेलमा लुगा राम्ररी धोइँदैन ? '
- 'धोइन्छ सर । तर, कतिपय दागहरू धुनेबित्तिकै जाँदैनन् । केही दिन कुर्नुपर्छ । ती दागहरू सामान्यतया देखिँदैनन् । होटेलमा पाइने हरेक तन्ना र खोलका दाग नदेखिने खालका तर फरकफरक हुन्छन् ।'
- 'अचम्म । कसरी ? '
- 'तपाईंलाई थाहा छैन ? हरेक मानिसले प्रयोग गरेको तन्ना, सिरक र सिरानका खोलमा ४८ घण्टाको लागि त्यस मानिसको चरित्र र स्वभाव सरेको हुन्छ । त्यसपछि त्यो तन्ना र खोल जसले प्रयोग गर्छ उसमा खोलमा भएको स्वभावले आधा प्रभाव पार्नेछ । त्यसदिन ती लुगा प्रयोग गर्ने मानिसको आत्मबल बलियो छ भने केही कम र कमजोर छ भने अझै बढी प्रभाव पर्नेछ ।'
- 'वाहियात कुरा । यस्तो पनि हुन्छ ? '
- 'हुन्छ सर । नत्र तपाईंका सुरुका तीन दिन सम्झ्नुहोस् । निराशा, रिस र यौन आवेग । तपाईंले त्यस्तै मानिसहरूले प्रयोग गरेका तन्ना र खोलहरू पाउनुभएको थियो ।'
गफगाफमै किशोरीले सबै काम गरिसकिछ । हिँड्ने बेलामा भित्ताको पेन्टिङ फेरेको विनयले देख्यो।
'तिम्रो नाम के हो ? ' उसले थोरै रिसाएर सोध्यो ।
'हसटकुमारी चौधरी ।' आ श्रमको झ्यालबाट खिरिला आंैला देखाउँदै भनी, 'मेरो घर ऊ त्यो थारु बस्तीमा छ ।' त्यसपछि ऊ सधैं झैं हतारमा निस्किई । विनयले रिसेप्सनमा फोन डायल गर्यो, 'हेल्लो, भोलिदेखि हसटकुमारी चौधरीलाई हाउस किपिङमा नपठाउनू ।'
- 'एस सर । हु इज हँसकुमारी सर ? ' प्रतिप्रश्नले विनय दिक्क भयो । कल्पतरु आ श्रमका कर्मचारीहरूको ताल देखेर ऊ आजित भइसकेको थियो ।
- 'कस्ता कर्मचारीहरू ? आफ्नै स्टाफलाई चिन्दैनन् र भन्छन् हु इज हँसकुमारी ? ' ऊ तुरुन्तै रिसेप्सनमा गयो र फेरि भन्यो, 'रुम नम्बर थर्टी टु सफा गर्नलाई हसटकुमारीलाई अबदेखि नपठाउनू । उसले अनावश्यक झन्झट दिइरहेकी छे ।'
रिसेप्सनिस्टले होटेलमा महिला हाउसकिपर नरहेको जानकारी गराएपछि विनयले हाउस किपिङ रजिस्टरमा नाम हेर्न अनुरोध गर्यो । रजिस्टरमा नाम भेटिएन । रिसेप्सनको मान्छेले उसलाई शंकालु नजरले हेर्यो । लज्जित हुँदै विनय कोठामै फर्कियो । तर, उसमा फिटिक्कै डर थिएन ।
पाँचौँ दिन विनयले पाचौं सिगरेट सल्कायो ।
उसमा हसटकुमारीका बारेमा झन् कौतुहल बढ्यो । सधैं ठीक ११ बजे आउने हसटकुमारी त्यसदिन ११:३० मा आई । सधैं झैँ विनयले रुम लक गरेको थिएन । यसपटक बेल नबजाई ऊ रुमभित्र छिरी । विनयसँग केही नबोली उसले फटाफट रुम सफा गर्न थाली । सधैं झैं भित्ताको पेन्टिङ पनि फेरी । जाने बेलामा भनी, 'आज मैले तिमीलाई त्यति राम्रा तन्ना र खोलहरू फेरिदिन सकिनँ । आफ्नो ख्याल राख्नू । भोलि भेटौंला ।'
उसको 'तिमी' सम्बोधनले विनयले अलिअलि हेपिएको जस्तो महसुस गर्यो । तर, प्रतिक्रिया दिन भ्याएन । सुर्किएका सुरुवालका बाउला तल झार्दै ट्याटु भरिएका उसका पिँडुला छोपी र रुमबाट निस्की । विनयले किशोरीलाई कुनै प्रश्न सोध्न पाएन । रुममा उसले आज क्यान्डल बाल्न बिर्सी । विनयलाई अनौठो लाग्यो । मानौं वर्षौँदेखि उसको रुममा दिउँसो क्यान्डल बाल्ने चलन थियो र आजमात्रै नबलेको होस् । उसले आफैं हरियो कलरको क्यान्डल बाल्यो । किशोरी गएपछि उसलाई रोऊँ-रोऊँ लाग्न थाल्यो । उसको मनमा अनेकौं कुरा खेलिरहेका थिए । आफ्नो जिन्दगीका धेरै पुराना कुरा सम्झिरहेको थियो ऊ । परिवारका बितिसकेका र जीवित सबै पात्र सम्झिन भ्यायो उसले । पहिलो प्रेम पनि सम्झियो । उनीहरूबाट टाढा भएको महसुस गर्यो । उस्तै रुन्चे अनुहार लाएर उसले त्यस दिनको तालिम सञ्चालन गर्यो । तालिमका सहभागीको कथाले विनयलाई त्यस किसिमको असर परेको हो भन्ने सबैले ठाने । उसलाई भने किशोरीको कुरामा अलिअलि विश्वास हुन थालेको थियो । ठान्यो, 'आज फेरिएका कपडाहरू कुनै बैरागीका परेछन् सायद ।'
छैटौं दिन साबिकको समयमा किशोरी आइनँ । उसले छैटौं चुरोट सल्कायो । लन्च समयसम्म नआएपछि ऊ साविकझैं लन्चको लागि तेस्रो तल्लाबाट तल ओर्लियो । र, तालिममा सहभागी भयो । उसको रुन्चे मनस्थिति केही कम भएको थियो । तर, पूरै हराइसकेको थिएन । केही सहभागीले उसको नजिक आएर सोधे । सम्झाए । तर, भन्न मिल्ने केही थिएन ।
साँझ फर्किंदा रुम उसरी नै चिटिक्क पारेर मिलाइएको थियो । तर, त्यहाँ क्यान्डल सल्काइएको थिएन । भित्ताको पेन्टिङ उही अघिल्लो दिन झैं साबिककै थियो । उसले थाहा पायो, किशोरी आइनँ । अरू कोही आएर रुम मिलायो होला । उसलाई डाँको छोडेर रुन मन लाग्यो । सुत्नै सकेन । लुगामा फेरि केही गडबड भएको ठान्यो । त्यसपछि उसले तन्ना, सिरकको खोल र सिरानीको खोल सबै झिकेर रुमको कुनामा पोको पारेर राख्यो र तन्ना बिनाको ओछ्यानमा सुत्यो । ओछ्यानमा सरेको थोरै स्वभावलाई जितेर ऊ निदायो ।
सातौं दिन ठीक ११ बजे किशोरी आई । कोठाको ताल देखेर उसलाई लाग्यो, विनय हिजोदेखि परेसानीमा थियो ।
- 'मैले तिम्रो लागि फरक खालको कपडा ल्याएकी छु ।' उसले फेरि तिमी भनी । यसपटक भने विनयलाई स्वाभाविक लाग्यो ।
- 'मानसरोवरमा ६ महिना तपस्या गरेर आएका एक योगी केही दिन यसै आ श्रममा अडिएका रहेछन् । उनको आधा स्वभाव भोग्ने पालो आज तिम्रो हो ।'
किशोरी नियमित सरसफाइमा लागी । कुर्ताको बाहुला र सुरुवाल पनि सुर्किई । दुवै खुट्टाका कल्ली उसरी नै टलक्क टल्किइरहेका थिए । पिँडुलाका ट्याटुहरू झन् कलात्मक देखिन्थे । घाँटीमुनि आधा कमलको फूलको ट्याटु देखिन्थ्यो । आधा फूल कपडाले छोपिएको भए पनि स्तनसम्म फैलिएको अनुमान हुन्थ्यो । विनय किशोरीलाई हेरेर एक तमासले टोलाइरहेको थियो । किशोरीले महसुस गरी।
भनी, 'हिजो तिमी मलाई केही सोध्न खोजिरहेका थियौ । कुरा के पर्यो ? '
- 'तिम्रो नाम होटेलको हाउसकिपिङ रजिस्टरमा रहेनछ । यस होटेलमा कोही पनि महिला हाउसकिपर रहेनछन् । तिमी को हौ ? ' सोध्नै खोजेको थियो । तर, विनयले यो प्रश्न सोधेन । बरु उसको मुखबाट अर्कै कुरा निस्कियो, '...तिमीजस्ती सुन्दर थरुनी पहिले देखेको थिइनँ ।'किशोरी खित्का छोडेर हाँसी ।
- 'आजको तन्ना र खोलहरू साँच्चै अचम्मका छन् । यिनमा कुनै गहिरो छाया नै प्रतिविम्बित हुँदैनन् । यस किसिमको स्वभावको दृश्य मैले मेरो जीवनकालमा पहिलोपटक देखेकी हुँ ।'
विनयमा एक किसिमको शालीनता र विनम्रता आइसकेको थियो । अचानक मृदु स्वरमा उसले भन्यो, 'सुन्दरी यो सबै अविश्वासिलो काम तिमी जो गरिरहेकी छ्यौ, मलाई अझै पत्यार लागिरहेको छैन । तर, तिमीलाई नपत्याउन पनि मन लागिरहेको छैन ।'
- 'उज्यालोमा म तिमीलाई केही देखाउन सक्दिनँ । अँध्यारोमा म तिम्रो कोठामा आउन आ श्रमको नियमले दिँदैन । यदि तिमी यो रहस्य जान्न चाहन्छौ भने भरे राति ९ बजे तल स्विमिङ पुलमा आउनू ।'
सधैं झैं उसले हरियो क्यान्डल बालिदिई । भित्ताको पेन्टिङ पनि फेरिदिई । यसपटक कुनै निराकारजस्तो देखिने नीलो रङको मात्रा बढी भएको पेन्टिङलाई दुवै हात जोडेर निक्कै झ्केर श्रद्धापूर्वक नमस्कार गरेर ऊ रुमबाट बाहिर निस्किइ ।
सातौं दिन, तालिमको अन्तिम दिन थियो । सबै सहभागी भावुक थिए । विनयको शालीन व्यक्तित्वले झन् प्रभाव पार्यो । सबैले उसको प्रशिक्षणशैलीको तारिफ गरे । उसप्रति सहभागीको तारिफ सुनेर सिर्जना भित्रभित्र मुर्मुरिरहेकी थिई । विनयको लागि त्यो दिन छिट्टै बितेजस्तो भयो ।
साँझ ९ बजे ऊ स्विमिङ कट्टुमा स्विमिङ पुलमा पुग्यो । यति आकर्षक स्विमिङ पुल त्यस होटेलमा छ भन्ने उसलाई ६ दिनसम्म थाहा भएन । होटेल राउन्ड सेपमा रहेछ । बीच भागमा स्विमिङ पुल रहेछ । छेउमा एउटा निक्कै अग्लो नरिवलको रूख रहेछ । स्विमिङ गर्नेहरू अघि नै हिँडिसकेका थिए ।
भर्खरै पोखरीमा पुरानो पानी फ्याँकेर नयाँ पानी फेरिएको थियो । तर, पानीमा नयाँ केमिकल हालिसकिएको थिएन । हरियो पानी ढक्क जमेजस्तो थियो । गर्मी औधी थियो । विनयलाई पोखरीमा हाम फालिहालौँ जस्तो भयो । किशोरीले रोकी । उसले एकछिन ध्यानमग्न भएजस्तो गरेर आफ्नो दाहिने हात आकाशतिर लगी र विस्तारै तलतिर झर्दै पानीमा डुबाई । त्यसपछि हरेक झ्यालको प्रतिछाया पानीमा देखियो । झ्यालको आकारमा बनेको पानीमाथिको प्रतिविम्बमा 'हरेक कोठाभित्र के भइरहेको छ' देख्न सकिन्थ्यो । कुनै झ्यालपट्टिको पानी शान्त थियो । कुनै झ्यालपट्टिको पानी मादक किसिमले विस्तारै चल्दै थियो । केही झ्यालपट्टिको पानी निक्कै चञ्चल देखिन्थ्यो । त्यसपट्टिका पानीको थोपाहरू विनय र किशोरीको शरीरसम्म घरिघरि उछिट्टिएर आइरहेको थियो ।
किशोरीले विनयलाई पोखरीमा छिर्न र सबै झ्यालतिर पौडिन निवेदन गरी । विनय पानीमुनि डुबुल्की मार्दा पनि झ्याल आकारमा प्रत्येक कोठाभित्रका छाया आकृतिका दृश्य पानीमा देखिरहेको थियो । ऊ जुन झ्यालतिर जान्थ्यो, त्यस दृश्यले उसलाई प्रभाव पाथ्र्यो । ठूलो पोखरीमा सातवटा झ्यालका प्रतिविम्ब थिए । ती प्रतिविम्बमध्ये विनय जतातिर पौडिन्थ्यो त्यही प्रतिविम्बले उसलाई प्रभाव पारिरहेको थियो । कतै मादकता, कतै खुसी, कतै आवेग, कतै शालीनता, कतै पीडा महसुस गरिरहेको विनयलाई त्यस पोखरी जीवनकुण्ड झैं लाग्न थाल्यो ।
ऊ रातभरि त्यही पोखरीमा पौडिरह्यो । बच्चाले झैं खेलिरह्यो । रात ढलेर बिहान हुनै लाग्दा बिस्तारै पोखरी आफ्नै नियमित स्वभावमा फर्कंदै थियो । पानीमा विनय विस्तारै चले पनि बिहान भएकोले पानीको आवाज ठूलै आइरहेको थियो । पानीको आवाजले पाहुनाहरूको निद्रा खुलेछ सायद । बिहान होटेलका प्रत्येक कोठाका तिनै झ्यालबाट मानिसहरू विनयलाई हेरिरहेका थिए । किशोरी राति कति बजे गई, उसलाई पत्तो भएन । त्यति बिहानै पनि पौडी खेलेको देखेर मानिसले के भने होलान् भन्ने लाजले ऊ हस्याङफस्याङ गर्दै त्यहाँबाट निस्कियो । र, सिधै रुममा गयो ।घडीले ६ बजाइसकेको रहेछ । काठमाडौंका लागि उसको फ्लाइट ८ बजेको थियो । रिसेप्सनमा फोन गर्यो र एयरपोर्टका लागि गाडी बोलाउन भन्यो । फटाफट प्याकिङ गर्यो । यात्राको लागि लुगा लगायो । रुमबाट निस्कनुअघि एकपटक रुमको चारैतिर नियालेर हेर्यो । एक हप्ता बस्दा उसलाई त्यस ठाउँ आफ्नै घरजस्तो लाग्न थालेको थियो । भित्तामा साबिकको चित्र थिएन ।
बिल्कुलै नयाँ चित्र थियो । पेन्टिङमा कुनै लोकनृत्य नाचेका मानिसको भीड थियो । भीडअगाडि एक महिला र एक पुरुष थिए । पुरुषले एक हातले सहनाईजस्तो बाजा बजाएर अर्को हातले ढोल पिटेजस्तो थियो । महिलाले दुवै हातमा डन्डी बोकेर बजाएजस्तो देखिन्थ्यो । चित्रमा डन्डीहरू ठोकिएर योगजस्तो, जिजस्जस्तो देखिन्थ्यो । चित्रकारको नियोजित व्याकरणअनुसार सबै पात्रको दृष्टि भ्रमपूर्ण थियो । कतातिर हेरेको हो पत्तो थिएन ।
पेन्टिङमा किशोरी थिई । उसले पेन्टिङ हेर्ने दर्शकतिर सम्मोहनपूर्ण दृष्टि लगाएकी थिई । विनय जता जान्थ्यो, ऊ उतै हेर्थी । उसले यत्रो दिन भेटिरहेकी हसटकुमारी पेन्टिङमा कैद थिई । उसले निरन्तर विनयलाई हेरिरहेकी थिई । आँखा नझिम्क्याई । विनय निक्कै भावुक भयो । सातौं चुरोट सल्कायो । चुरोटको धुवाँ कलात्मक दृश्यहरू बनाउँदै हावामा उडिरहेका थिए ।
रुममा क्याण्डल बाल्यो र ढोका पूरै नलगाई रुमबाट बाहिरियो । हसटकुमारीलाई सम्झिरहने उसँग अर्को बहाना थियो- उसको ब्यागको एउट खल्ती होटेलको सेम्पो र साबुनले भरिएको थियो । निहुरेर निस्कने कल्पतरु आ श्रमको गेटमा उभिएका पालेले सधैं झैं सेतो गुलाब उपहार दिए र भने, 'अर्कोपटक आउँदा अर्को रुम नम्बर लिनु होला । जिन्दगीको अर्को कथा थाहा पाउनु हुनेछ ।'