‘मन्त्रीको जुलुस निकाल्ने हो

‘मन्त्रीको जुलुस निकाल्ने हो


प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओलीले मन्त्रिपरिषद् विस्तारप्रति आक्रोश पोख्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन्।
रूपान्तरित संसद्को अन्तिम बैठकमा ओलीले संसद् समाप्त हुन लागेका बेला बहुमत देखाउने नाममा मन्त्रिपरिषद् विस्तारको औचित्य नभएको दाबी गरे। ‘संसद् आज समाप्त हुँदै छ, भोलि मनोनयन छ', ओलीले भने, ‘थप मन्त्री किन चाहियो ? कुस्ती खेल्न त होइन होला नि ? '

 

निर्वाचन आयोगले यसअघिका मन्त्री थप गर्ने निर्णय सच्याउन भनिसकेका बेला पुनः मन्त्री थप गर्नु ‘चुनाव गराउन कि खानै मात्र जान खोजेको हो' भनी प्रश्न गरे। ‘चुनाव गर्न गृह, अर्थजस्ता दुई÷तीनवटा मन्त्री भए पुग्छ, कि मन्त्रीकै जुलुस निकाल्ने हो', ओलीले प्रधानमन्त्रीप्रति व्यंग्य गरिरहँदा प्रधानमन्त्री देउवा भने आफ्नो लिखित भाषणमा थपघट गर्दै थिए।

‘धेरै भयो भन्दा प्रधानमन्त्रीज्यू तात्नुहोला। ७० भन्दा ६ कम। ३ बिस ४' ओलीले व्यंग्य गर्दा सांसदहरू गलल्ल हाँसेका थिए। माओवादी केन्द्रले विपक्षी एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले राप्रपाका मन्त्री थप गरेका थिए। प्रधानमन्त्री देउवालाई मन्त्रीको लिस्ट फिर्ता लिन ओलीले सुझाव दिए। ‘भरे रातिबाट संसद् सकिन्छ। त्यसपछि कसले तपाईंविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछ र ? बहुमतका नाममा मन्त्री थप्नुपर्‍यो,' ओलीले प्रश्न गरे।

लोकतन्त्रको दुहाइ दिने कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र कानुन पालना गरेको भन्दै ओलीले व्यंग्य गरे। ‘लोकतन्त्र भनेको कानुन नमान्नु, आचारसंहिता नमान्नु, मर्यादाभित्र नबस्नु,जवाफदेही नबन्नु हो ? ' ओलीले प्रश्न गरे। माओवादी केन्द्रसँगको चुनावी तालमेलबारे कांग्रेसका नेताहरूले गरेको टिप्पणीप्रति पनि ओलीले आक्रोश पोखे। ‘को-को मिल्दा राम्रो हुने र को-को मिल्दा भुइँचालो किन ? भुइँचालोको इपिसेन्टर पनि थाहा हुँदैन ? ओलीले भने, ‘इपिसेन्टर कांग्रेसतिरै हो कि अन्तै हो ? '

संसद् विघटन भइसकेकाले सरकार कामचलाउमा परिणत भएको दाबी गर्दै ओलीले सरकारको एक मात्र काम स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित चुनाव गर्नु भएको बताए। संविधान जारी गर्दा छिमेकी भारतले नाकाबन्दी गरेको प्रसंग उल्लेख गर्दै ओलीले भने, ‘छिमेकसँगको असमझदारी टुंग्याएका छौं। हाम्रो स्वाभिमानको कुरा गर्दा कसैले पनि चित्त दुःखाउनु पर्दैन। अनावश्यक चासो वा संलग्नता उचित हुँदैन। यसले सम्बन्ध सुमधुर बनाउँदैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.