कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण हुँदै
काठमाडौं: नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आज पार्टी एकीकरण हुने भएको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुर्इ पार्टीबीच एकता हुन लागेको कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका बरिष्ठ सञ्चार बिज्ञ गोबिन्द परियारले जनाए।
पछिल्लो समय दुर्इ दलबीच एकताको प्रयास हुँदै आएपनि पदीय भागबण्डामा कुरा नमिल्दा एकीकरण टर्दै आएको थियो। बालुवाटार स्रोतका अनुसार दुर्इ दलबीच निर्वाचनपछि पदीय भागबण्डा टुंग्याउने गरी आज एकीकरण हुन लागेको हो।
प्रमख दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तत्काल चुनावी तालमेल गर्ने गरी अगाडि बढ्ने सहमति भएपछि कांग्रेसले पनि लोकतान्त्रिक दलहरुसंग एकता प्रयासमा जोड दिएको हो।
गच्छदार २०६४ सालमा सम्पन्न सविधान सभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोरम प्रवेश गरेका थिए। पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन्।