सहयोगका लागि जहरसिंह पौवामा चंगा चेट
काठमाडौं : काठमाडौंबाट उडेको चंगा चीन पुगेपछि त्यहाँका व्यापारीले नेपालमा दसैं आएको संकेत पाउँथे । चंगा देखेपछि उनीहरू भेडाच्याङ्ग्रा बेच्न ल्याउँथे भन्ने भनाइ छ । शनिबार दिउँसो जहरसिंह पौवाको डाँडो पुग्दा यो भनाइ साँचोजस्तै भान हुन्थ्यो । लायन्स क्लबले आयोजना गरेको ‘लायन्स प्रि फेस्टिभल चंगा चेट’ कार्यक्रमले जहरसिंह पौवा रंगीन बन्यो । रंगीचंगी चंगा आकाशमा उडिरहेका थिए । अलि जान्नले अर्काको चंगा काटिरहेका थिए ।
५० वर्षीय रामप्रसाद घिमिरेले ४० वर्षपछि चंगा उडाए । एकै छिन भए पनि कामकाज, व्यवसाय, घरायसी सबै तनावबाट मुक्त भएर पनि पनि चंगाजस्तै हलुका भएको अनुभूति उनको अनुहारमा देखिन्थ्यो । अलि पर कलेजी सर्टमा ठाँटिएका हितनन्दन झाको चंगा मन उनको व्यवहारमै देखिन्थ्यो । करिब २५ वर्षपछि चंगा उडाउँदा उनलाई पुरानो समय याद आइरहेको थियो । भने, ‘एकदम रमाइलो भाइराछ । पुरानो दिनको यादले पनि आइरहेको छ ।’ भगवान राउत छोराको सहायता लिँदै चंगा उडाउने तरखरमा थिए । उनले पनि लामो समयको अन्तरालमा चंगा उडाउँदै थिए । बितेको समय सम्झिए, ‘अर्काले आफ्नो चंगा काट्दा रुने, अनि आफूले अर्काको चंगा काट्दा चाहिँ खुच्चिङ भनेर हिँड्थ्यौं ।’
एकातिर ‘नक्षत्र ब्यान्ड’को संगीत गुञ्जिरहेको थियो, अर्कोतिर फुड स्टलमा खानाका पारखी रमाइरहेका थिए । खारेर सम्म बनाइएको डाँडोको बीचमा लिंगे पिङमा युवायुवतीमात्र नभई वृद्धवृद्धा पनि मच्चिइरहेका थिए । डाँडैभरि पाँच वर्षदेखि ५० वर्षसम्मका चंगा पारखीहरू छरिएका थिए । डाँडाको एक छेउबाट काठमाडौं बजार, एक छेउबाट नगरकोट र अर्को छेउबाट सिन्धुपाल्चोकको रमणीय दृश्यमा रमाउँदै सेल्फी खिच्नेहरू आफ्नै सुरमा थिए ।
जहरसिंह पौवा नजिकका सातवटा लायन्स क्लब गोकर्णस्थित स्वस्थ समाज नेपालमा संरक्षित बौद्धिक तथा शारीरिक अपांगता भएका बालबालिकाको सहयोगार्थ चंगाचेट कार्यक्रम आयोजना गरेका हो । लायन्सका सदस्यलगायत ५० भन्दा बढीले चंगा उडाए ।
सोही अवसरमा बौद्धबाट युवाहरूको जमातले १४ किलोमिटरको साइकलयात्रा गरेका थिए । लायन्स क्लब इन्टरनेसनलले सय वर्ष पूरा गरेको अवसरमा आयोजना भएको कार्यक्रमबाट संकलित रकम स्वस्थ समाजका बालबालिकाको दिवा खाजाका लागि खर्च गरिनेछ । संकलित रकमबाट कोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याज खाजा खर्चमा प्रयोग हुनेछ ।