समृद्ध नेपाल बनाउन जुटौं: राष्ट्रपति

समृद्ध नेपाल बनाउन जुटौं: राष्ट्रपति

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्दै समृद्ध नेपाल बनाउने दिशामा अघि बढ्न सबै पार्टी र सरकारसँग आग्रह गरेकी छन्। शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा सोमबार शीतलनिवासमा आयोजित जलपान समारोहमा भण्डारीले दलका शीर्ष नेतासँग यस्तो आग्रह गरेकी हुन्। ‘चुनाव गर्न सिंगो देश एकताबद्ध भएको छ, सबैतिरबाट प्रधानमन्त्रीलाई पनि बल पुगिरहेको देखेर म खुसीले गद्गद् बनेकी छु', उनले भनिन्।

 

आफूले आजै मात्र कांग्रेस र विजय गच्छदारको पार्टीबीच एकता भएको सुन्दा आसन्न चुनाव गर्न प्रधानमन्त्रीलाई थप बल पुगेको भन्दै खुसी व्यक्त गरेकी थिइन् । राप्रपाको विभाजनमा भने उनले दुःख व्यक्त गरिन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकैपटक हुन लागेको र यो इतिहासकै पहिलो अवसर रहेको धारणा व्यक्त गर्दै राष्ट्रपतिले यो निर्वाचनलाई परिवर्तनको उद्देश्यअनुकूल लग्ने प्रण दलहरूबाट हुनुपर्ने बताइन्। राप्रपा सहअध्यक्ष बुद्धिमान तामाङले अन्नपूर्णसँग भने, ‘समृद्ध नेपाल र सम्पन्न नेपालीको हितमा काम गर्न दलहरूलाई दिएको सुझाव अत्यन्त मर्मस्पर्शी रहेको पाएँ।'

राष्ट्रपतिले नेताहरूलाई ‘तपाईंहरूको राजनीतिको केन्द्र पार्टी र कार्यकर्ता हुनुभएन' भन्ने सम्झाएको उनले बताए। ‘मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणामले तपार्इंहरूको जित-हार, सत्ता र प्रतिपक्ष बन्ने कुरा ठूलो होइन, मूल कुरा आधुनिक, सभ्य र सुन्दर राष्ट्रबीच नेपाल र नेपाली जनतालाई उभ्याउनु हो। पटक-पटकको राजनीति परिवर्तनको उद्देश्य जनताको जीवनशैलीमा परिवर्तन पनि हो', उनले भनिन्।

आमजनताले उपयोग गर्ने शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत मौलिक अधिकारमा राजनीति नगर्न उनले नेताहरूलाई सुझाइन्। लोकसेवा आयोग लडेर आएका निजामती र सुरक्षा अंगमा राजनीति नमिसाउन उनले शीर्ष नेतासँग आग्रह गरिन्। ‘जलस्रोतको अपार धनी राष्ट्रले यसको विकास गर्न सकेको भए पेट्रोलियम पदार्थ र ग्यासमा अर्बौं रुपैयाँ विदेश पठाउनु पर्दैनथ्यो। त्यसतर्फ हाम्रो नेतृत्व किन र केका लागि प्रतिबद्ध हुन सकेन' भन्ने जिज्ञासासमेत राष्ट्रपतिले गरेको दाबी स्रोतले गरेको छ। ‘पर्यटनको मात्र विकास भएको भए पनि नेपाली जनताले खाडीमा गएर ज्यान दिनु पर्दैनथ्यो', उनले शीर्ष नेतासँग भनिन्।

एक वामपन्थी नेताले अन्नपूर्णसँग भने, ‘राष्ट्रपतिको आजको अत्यन्त संवेदनशील मन्तव्यको आशय माओवादी केन्द्रका मन्त्री वर्तमान सरकारबाट नहट भन्ने थियो ।' उनले सरकारमा राप्रपाको प्रवेश र कांग्रेसमा गच्छदारको प्रवेशलाई संकेत गर्दै प्रधानमन्त्रीलाई सबैतिरबाट सहयोग र समर्थन पुग्नु निर्वाचनमा सबैको सहभागिता हुनु हो भन्दै जोड दिएको टिप्पणी ती नेताले गरे।

राष्ट्रपतिले नेताहरूलाई चिया र मिठाई भोजन गराएकी थिइन्। शीतलनिवासमा आयोजना भएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वप्रधानमन्त्रीहरू र विभिन्न दलका प्रमुख सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.