गच्छदारको कांग्रेस छलाङ, यस्तो छ कारण

गच्छदारको कांग्रेस छलाङ, यस्तो छ कारण

काठमाडौं : दस वर्षअगाडि कांग्रेस परित्याग गर्दै तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गर्ने बेला विजयकुमार गच्छदारले भनेका थिए, ‘कांग्रेस बूढाहरूको पार्टी भइसक्यो, यसले देश हाँक्न सक्दैन ।’तर, सोमबार कांग्रेसमा फर्किंदै उनले भनेका छन्, ‘कांग्रेस मधेसी, जनजातिलगायतको मुद्दामा सदाझैं प्रतिबद्ध छ, त्यसैले हामीले मिलेर अघि बढ्ने निर्णय गरेका छौं ।’

०६३ सालको पहिलो मधेस विद्रोहले नेपालको राजनीतिमा मधेस फ्याक्टर महत्वपूर्ण रूपमा उघ्रेपछि तत्कालीन प्रमुख पार्टी कांग्रेस र एमालेबाट थुप्रै नेता पार्टी परित्याग गर्दै मधेस राजनीतिमा होमिए । गच्छदार तिनैमध्येका एक हुन् । ०६३ माघको पहिलो मधेस आन्दोलनमार्फत उदाएको फोरम नेपाल र महन्थ ठाकुरलगायत नेताको नेतृत्वमा गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी ती नेताहरूको आकर्षण बन्न पुग्यो ।

 

हुन त यो दशकमा मधेस नेपालको राजनीतिको केन्द्रीय मुद्दा बनिसकेको छ भने मधेसले संविधानप्रति असन्तुष्टि राख्दै ६ महिना लामो आन्दोलनसम्म गरिसकेको छ । गच्छदारको कांग्रेस फिर्तीलाई मधेसका जानकारहरू त्यस्तै ठान्छन् । मधेस मामिलाका जानकार विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘गच्छदार जोखिम कम मोल्ने र अवसर बढी खोज्ने प्रवृत्तिका नेता हुन् । १० वर्ष मधेस राजनीतिमा रहँदा पनि उनको प्राथमिकतामा जहिल्यै सत्ता वा अवसर नै रह्यो’, उनले भने, ‘दोस्रो संविधानसभाबाट आरोलो लागेको उनको शक्ति पछिल्लो मधेस आन्दोलनबाट समेत फर्कने अवस्था नरहेपछि उनी कांग्रेसमै फर्किएका हुन् ।’

‘गच्छदार जोखिम कम मोल्ने र अवसर बढी खोज्ने प्रवृत्तिका नेता हुन् । १० वर्ष मधेस राजनीतिमा रहँदा पनि उनको प्राथमिकतामा जहिल्यै अवसर नै रह्यो ।’ चन्द्रकिशोर, विश्लेषक

मधेस राजनीतिसम्बन्धमा शोध गरिरहेका विराटनगरका प्राध्यापक विजय मि श्र पछिल्लो समय कांग्रेस प्रवेश गर्ने बाटो खोजिरहेका गच्छदारलाई वाम गठबन्धनले त्यो अवसर मिलाइदिएको बताउँछन् । ‘उनी धेरै पहिलादेखि कांग्रेस फर्कने मनस्थितिमा थिए तर अनुकूल वातावरण पाइरहेका थिएनन् । वाम गठबन्धनले त्यो अवसर दिएको हो’, उनले भने ।

०४६ सालको परिवर्तनपछि कांग्रेसमा गिरिजाप्रसाद कोइरालानिकट रहेका गच्छदार ०५९ मा शेरबहादुर देउवाले पार्टी फुटाउँदा सँगसँगै बाहिरिए र महामन्त्रीसमेत बने । तत्कालीन राजाको शाही कदमपछि उनी देउवासँग पनि टाढिएका थिए । ०२७ सालमा उनले मोरङमा विद्यार्थी नेताका रूपमा राजनीति सुरु गरेका हुन् । ०३१ सालमा विमान अपहरण हुँदा उनी पनि मुछिएका थिए ।

हाल तराई मधेस राष्ट्रिय अभियान चलाइरहेका नेता जेपी गुप्ता भन्छन्, ‘पञ्चायतविरुद्ध कांग्रेसको लडाइँमा गच्छदार दुस्साहसी नेता नै थिए ।’ ०४८ सालयता भएको हरेक निर्वाचनमा उनले जितेका छन् र लगातार मन्त्रीसमेत भइरहेका छन् । एक दर्जनभन्दा बढी पटक मन्त्री भइसकेकाले मन्त्री बन्ने उनको शैलीलाई गच्छदार प्रवृत्ति नै भन्न थालिएको छ ।

०६४ सालमा पहिलो संविधानसभा निर्वाचनको उम्मेदवार मनोयनभन्दा १७ दिनअघि औपचारिक रूपमा फोरम नेपालमा प्रवेश गरेका उनी निर्वाचनपछि फोरम नेपालको संसदीय दलको नेता नै बन्न पुगे । तर, ०६६ जेठमा ५२ जना सभासद्मध्ये ३२ जनालाई लिएर पार्टी फुटाए र संविधानसभा दोस्रो चुनावमा उपेन्द्र यादवको भन्दा ठूलो पार्टी बनाए ।

मधेसमा पहिलो र देशकै पाँचौं ठूलो दल बनाउन सफल भएका गच्छदारले पछि साना-ठूला गरी ११ वटा दलसँग एकीकरण गरी ३२५ केन्द्रीय सदस्य बनाएका थिए भने सांसद संख्या पनि १८ पुर्‍याएका थिए । संविधान निर्माणक्रममा प्रमुख दलबीच भएको १६ बुँदे सम्झौतामा सहभागी भएपछि मधेसी मोर्चाले उनलाई मोर्चाबाट निष्कासन गर्‍यो । उनी मधेसी दलसँग अलग्गिए । त्यसपछि उनले पटक-पटक मधेसमा शक्ति आर्जन गर्ने प्रयास गरे पनि बलियो बन्न सकेनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.