रुवी भ्यालीबाट फर्कियो ‘नीरफूल'
काठमाडौं : चलचित्र नीरफूल अहिले छायांकनको क्रममा छ। भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यहरूले पुनर्मिलनका लागि गरेको संघर्षमा आधारित चलचित्र युनिट धादिङको रुवी भ्यालीमा दुई साता छायांकन गरी राजधानी फर्केको छ। सो भ्यालीमा एक साताको छायांकन तालिका भए पनि खराब मौसमका कारण दुई साता लागेको निर्देशक फूलमान बलले जानकारी दिएका छन्। ‘रुवी भ्यालीको पाङसाङ पासमा भूकम्प जानुअघि र पछिको सेट निर्माण गरेका थियौं', निर्देशक बलले भने।
समुद्री सतहबाट ३८ सय मिटरको उचाइमा रहेको पाङसाङ पासमुनिको हिउ“मा ६ महिनाअघि एक ताइवानी जोडी फसेको थियो। ४७ दिनपछि प्रेमिकाको निधन भइसकेको अवस्थामा प्रेमीको उद्धार भएको थियो। ‘मौसमका कारण हामीले निकै दुःख पायौं', निर्देशक बलले भने, ‘बिहान ११ बजेसम्म मात्रै हिमाल र आकाश देखिन्थ्यो।' बलका अनुसार चलचित्र रुवी भ्यालीकै एक परिवारको कथामा आधारित छ। रुवी भ्यालीको जीवनशैली, संस्कृति र विषयवस्तु पहिलोपटक चलचित्रमा उतार्न लागिएको हो।
निर्देशक बलका अनुसार भदौ अन्तिमपछि भेँडागोठको उधौली सुरु हुने भएकाले छायांकनका लागि रुवी भ्याली पुग्दा भेँडाहरू गाउ“तिर झरिसकेका थिए। गाउँ झरेका भेँडालाई छायांकनका लागि माथि ल्याउन निकै गाह्रो भएको थियो। नेपाल-म्यानमार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रिनतारा इन्टरटेनमेन्टसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘नीरफूल'मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, बुद्धि तामाङ, राजन खतिवडा, मानस राज, सुरेश चन्द, रोशन फ्युबालगायतको अभिनय रहेको छ। चलचित्रमा दयाहाङ राई भेँडा गोठालोको भूमिकामा छन्।
चलचित्रको कार्यकारी निर्माता डोमा सोनाम रहेकी छन् भने कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, जापानबाट उदय लामा, इजरायलबाट चन्द्रमाया तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर, नेपालबाट अशोक थापा निर्माता रहेका छन्। सचिन घिमिरे र निर्देशक बलकै पटकथा रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ। निर्देशक बलले यसअघि छोटो चलचित्र ‘सेलफोन' निर्देशन गरेका थिए।