दुई महिना नबित्दै पुन: राजपामा प्रवेश
मलंगवा: स्थानीय निकायको चुनावमा पार्टीबाट टिकट नपाएपछि राजपा छोडी माओवादी केन्द्रमा प्रवेश गरेको सर्लाही बबरगंजका चेतनारायण महतो पुनः राजपामा फर्केका छन्।माओवादीले एमालेसंग गठबन्धन गरेपछि आफू माओवादी छोडी फेरी राजपामा प्रवेश गरेको महतोले बताए। लोकतान्त्रिक मूल्य मान्यता छोडी माओवादीले बामपन्थीहरुसंग एकता गरेपछि आफु लोकतन्त्रमा आस्था राख्ने राजपामा आएका बताएका छन्।
तराई-तराई-मधेश मुद्दाको विपक्ष रह्ने पार्टीसँग एकता गरेपछि माओवादीमा बस्नु कुनै औचित्य नदेखेर आफू पार्टी परित्याग गरेको महतोले बताए। उनले आफू तराई-मधेशको मुद्दामा अडिग रहेको र माओवादीमा प्रवेश गर्दा समेत तराई-मधेश मुद्दालाई जिबन्त राख्ने भनेर गएका थिए। तर, माओवादी तराई-मधेश बिरोधी पार्टीसंग एकता गरेपछि पार्टी छोडी राजपामा प्रवेश गरेको बताएका छन्। महतोलाई राजपा केन्द्रिय अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले काठमाण्डौमा पार्टीको सदस्यता प्रदान गरेका थिए।
राजपाले चन्द्रनगर गाउँपालिकामा राजेन्द्र महतोका दाइ महेन्द्र महतोलाई टिकट दिने निर्णय गरेपछि रुष्ट बनेका चेतनारायण चुनाव हुनु भन्दा केही दिन अगाडी माओवादीमा प्रवेश गरेका थिए।
चेतनारायणलाई पार्टीमा प्रवेश गराउन प्रचण्ड आफु नै बबरगंज पुगेका थिए। माओवादीबाट टिकट पाई चन्द्रनगर गाउँपालिकाबाट चुनाव लडेका चेतनारायण २ हजार ३ सय १४ मत ल्याई पराजित बनेका थिए। चन्द्रनगरमा राजपाबाट राजेन्द्रका दाइ महेन्द्र विजयी भएका थिए।पार्टी परित्याग गर्नु अगाडी चेतनारायण राजपाका केन्द्रिय सदस्य रहेका थिए।