मनोनयन फिर्ता गरेर गठबन्धन कायम : शक्ति बस्नेत बने शक्तिशाली

मनोनयन फिर्ता गरेर गठबन्धन कायम : शक्ति बस्नेत बने शक्तिशाली

जाजरकोट : एमाले नेता गोविन्द्रविक्रम शाहले माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई अप्ठेरो पर्ने गरी दर्ता गराएको मनोनयन फिर्ता लिएका छन्। मंसिर १० गते हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि एमाले-माओवादी केन्द्र गठबन्धनबाटै परेका उम्मेदवारी बुधबार फिर्ता भएका हुन्। एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेपछि वाम गठबन्धन संकटमा परेको थियो।

 

एमालेबाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका शाह, प्रदेशसभातर्फ नीरज आचार्य र माओवादी केन्द्रका नरबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राप्रपा (प्रजातान्त्रिक)बाट प्रतिनिधिसभातर्फ वीरबहादुर मल्ल, प्रदेशसभातर्फ कृष्णविक्रम शाह र लालबहादुर रावतले पनि मनोनयन फिर्ता लिएका छन्। पार्टीको निर्देशनअनुसार मनोनयन फिर्ता लिएको उनीहरूले बताएका छन्।

एमाले र माओवादी केन्द्रको कार्यदलले प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशसभाका दुवै सिटमा एमालेलाई सघाउने सहमति जुटाएको थियो। तर, मनोनयनको अघिल्लो दिन शीर्ष नेताहरूले जाजरकोट र डोल्पाको सिट साटासाट गरेका थिए। त्यसपछि जाजरकोट एमालेमा असन्तुष्टि देखिएको थियो।

जाजरकोटको प्रदेश (क) का लागि मनोनयनपत्र बोकेर आएका नीरज आचार्यको टिकट खोसिए पनि उम्मेदवारी दर्ता गराएका थिए। माओवादी नेता बस्नेतलाई ‘गलाउन’ एमालेबाट शाहको मनोनयन दर्ता भएको थियो। शाह र आचार्यको मनोनयनपछि माओवादी केन्द्रले पनि गठबन्धनका तर्फबाट एमालेलाई छोडेको प्रदेश (ख) मा नरबहादुर कार्कीको मनोनयन दर्ता गराएको थियो। यसरी सबै पदमा छुट्टाछुट्टै मनोनयन परेपछि विवाद मिलाउन हम्मेहम्मे परेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएपछि उम्मेदवारी फिर्ता लिएको आचार्यले जानकारी दिए। बुधबार बिहान पत्रकार सम्मेलन गरी उनले ‘पार्टी अध्यक्षको नासो अध्यक्षलाई नै फिर्ता गरेको’ बताए। स्थायी कमिटीले आफूलाई उम्मेदवार गराउने निर्णय गरे पनि अध्यक्षले खोसेको भन्दै असन्तुष्टि जनाएका थिए। सञ्चारमाध्यमले आफूलाई बागी भनेको भन्दै आक्रोश पोखेका थिए।‘म बागी होइन, पार्टीकै आधिकारिक उम्मेदवार हुँ’, उनले भने, ‘पार्टीकै निर्देशनमा फिर्ता लिएँ।’

यससँगै वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका बस्नेत, प्रदेशसभा (क) मा माओवादीकै खगेन्द्रबहादुर सिंह र (ख) मा एमालेका करवीर शाही उम्मेदवार रहनेछन्।

कांग्रेसबाट प्रतिनिधिसभातर्फ पूर्वसभासद राजीवविक्रम शाह, प्रदेशसभा (क) मा वेदराज सिंह र (ख) मा दीपकजंग शाह उम्मेदवार छन्। राप्रपा (प्रजातान्त्रिक)ले लोकतान्त्रिक गठबन्धनअन्तर्गत कांग्रेसलाई सघाउने गरी सबै उम्मेदवारले मनोनयन फिर्ता लिएको जिल्ला अध्यक्ष कृष्णविक्रम शाहले जानकारी दिए। केन्द्रको निर्णयअनुसार मनोनयन फिर्ता लिएको अध्यक्ष शाहको भनाइ छ। राप्रपाले मनोनयन नै दर्ता नगरी कांग्रेसलाई समर्थन गरिसकेको छ। नयाँ शक्ति, माले, संघीय समाजवादी फोरमलगायत पार्टीका उम्मेदवारले भने मनोनयन फिर्ता लिएका छैनन्।

जाजरकोटबाट संविधानसभा निर्वाचनमा माओवादीका बस्नेत र कांग्रेसका शाह निर्वाचित भएका थिए। स्थानीय निर्वाचनको मतका आधारमा पहिलो एमाले, दोस्रो कांग्रेस र तेस्रो माओवादी छन्। सात स्थानीय तहमध्ये एमाले तीन, कांग्रेस र माओवादीले दुई-दुई जित हासिल गरेका थिए।

अन्तिम समयमा टिकट खोसिएपछि असन्तुष्ट बनेका एमाले कार्यकर्ता रिझाउन बस्नेत चार दिनदेखि सदरमुकाममै छन्। यहाँ ८३ हजार नौ सय ३७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.