‘राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता

‘राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता

पोखराः वाम गठबन्धनका तर्फबाट संयुक्त पत्रकार सम्मेलन गरेर निर्वाचनप्रति संशय व्यक्त गरेको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव हुनेमा शंका नरहेको बताएका छन्। पोखरामा प्रेस सेन्टरले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले अब कुनै हालतमा निर्वाचन नरोकिने बताए।

 

'सरकारबाट पनि प्रतिबद्धता आइसकेको छ, र राजनीतिक दलहरुको तर्फबाट पनि प्रतिबद्धता आइसकेको हुँदा तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका छैन', उनले भने, 'प्राविधिक कुराको तयारी निर्वाचन आयोगले पनि गरेको छ।

त्यसैले आशंकालाई ठाउँ रहेन।' उनले निर्वाचनबारे कुनै भ्रम नहोस् भनेर सजग गराउन बिहीबार वाम गठबन्धनका तर्फबाट जनताका नाममा अपिल गरेको बताए।

अबको निर्वाचनमा जुन गठबन्धनले भए पनि बहुमत ल्याउने र देश राजनीतिक स्थिरताको बाटोमा जाने विचार पनि प्रचण्डले व्यक्त गरे। 'निर्वाचनको सफलताले देश समृद्धितिर अग्रसर हुन्छ भन्नेमा विश्वास छ', उनले भने, '५ वर्षका लागि जनताले सरकार पाउने सम्भावना प्रबल भएको छ।'

वाम गठबन्धनले तुलनात्मक रुपमा बडो सहज ढंगले उम्मेदवार टुंगो लगाएको दाबी प्रचण्डले गरे । पहिलो चरणको सबै टुंगो लागिसकेर मनोनयन दर्ता भइसकेको र दोस्रो चरणका लागि उम्मेदवार चयनको काम ९० प्रतिशत पूरा गरिसकेको जानकारी उनले दिए।

वाम गठबन्धनले खुसी र शंकाको तरंग ल्याएको बताउँदै उनले नेताहरुले बेलामा साहसिक निर्णय नगरे देशमा परिवर्तन सम्भव नहुने पनि उल्लेख गरे । 'एकातिर खुसीको तरंग छ, अर्कातिर कम्युनिस्टहरुको एकाधिकारै लागु हुने हो कि भन्ने छ, तर त्यसरी एकाधिकार लागु होला भनेर तरंगित हुनुपर्ने होइन, यो त स्वाभाविक राजनीतिक प्रक्रिया हो,' उनले भने, 'हामी लोकतन्त्रबाहिर जाने कुनै सम्भावना हुँदैन।'

वाम गठबन्धन गरेर आफूहरुले कांग्रेसलाई ठूलो गुन लगाएको पनि प्रचण्डले सुनाए । 'कांग्रेस छरपस्ट थियो, कम्युनिस्टहरु मिले, हामी नमिले बर्बाद हुन्छ भन्ने चेतना कांग्रेसमा जागेको छ', उनले भने, 'फुटेर बाहिर गएकाहरुलाई पनि फिर्ता ल्याइदिएका छौं।'

निर्वाचनपछि फेरि माओवादीले एमालेसँग पार्टी एकता नगरी कांग्रेससँगै मिलेर प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने संवाददाताहरुको जिज्ञासामा उनले त्यो भ्रम भएको बताए। उनले भने, 'वामपन्थी एकताको प्रस्ताव म नै हो, पार्टी एकता हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.