थापालाई भोट नहाल्ने कांग्रेसको चेतावनी
हेटौंडा: कांग्रेस मकवानपुरले राप्रपा अध्यक्ष कमल थापालाई भोट नहाल्ने चेतावनी दिएको छ। लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न लागेका थापालाई भोट नहाल्ने भन्दै कांग्रेस मकवानपुरले असन्तुष्टि जनाएको हो।
हेटौंडामा सोमबार साँझ पत्रकार सम्मेलन गरी कांग्रेस मकवानपुरले केन्द्रीय कार्यसमितिले जिल्लाको भावना नबुझे निर्णय उल्लंघन गर्ने जानकारी दिएको छ। कांग्रेसका कार्यवाहक जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले राप्रपासँगको तालमेल मान्य नभएको बताए। ‘यो गठबन्धन कांग्रेसका लागि हानिकारक हुन्छ', उनले भने, ‘२०५४ सालको स्थानीय निर्वाचनमा राप्रपासँगको गठबन्धनका कारण कांग्रेस मकवानपुर २०७० सालसम्म तेस्रो हुनुपरेको पीडा हामीले भुल्न सकेका छैनौं।'
क्षेत्र नम्बर १ मा जिल्ला सभापति इन्द्र बानियाँलाई उम्मेदवार बनाउनुपर्ने माग कांग्रेसले गरेको छ। बानियाँ निवर्तमान सांसद पनि हुन्।
मकवानपुरमा निर्वाचन जित्न कांग्रेसले अन्य दलसँग सहकार्य गर्न जरुरी नरहेको कोषाध्यक्ष गोपीलाल विकले बताए। ‘यदि कमल थापाले कांग्रेसको मतका आधारमा उम्मेदवार बन्न खोजेको भए त्यस्तो भ्रममा नपर्न अनुरोध छ', उनले भने।