भक्तपुर २ बाट उठ्ने पूर्वसभामुख ढुंगानाको चाहना

भक्तपुर २ बाट उठ्ने पूर्वसभामुख ढुंगानाको चाहना

भक्तपुर : पूर्वसभामुख दमननाथ ढुंगानाले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उठ्ने चाहना देखाएका छन्। यसको लागि उनले नेपाली कांग्रेस केन्द्रीय समितिमा समेत लविङ गरेका हुन्। उनले आफूलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समेत सहयोग गर्ने आश्वासन दिएकाले भक्तपुर क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ टिकट दिन माग गरेको बुझिएको छ। तर कांग्रेस केन्द्रले भक्तपुर जिल्ला समितिसँगै त्यहाँका नेता तथा कार्यकर्ताहरुसँग स्वीकृति लिन उनलाई सुझाव दिएको थियो।

 

केन्द्रको उक्त सुझावपछि पूर्वसभामुख ढुंगानाले धेरै चरणमा भक्तपुरका कांग्रेस नेता तथा कार्यकर्ताहरुसँग बैठक गरी आफ्नो नाममा सहमति जनाउन आग्रह गरेका छन्। तर भक्तपुर कांग्रेस र यहाँका जिल्ला नेता तथा कार्यकर्ताहरुले उनको आग्रह स्वीकार गरेका छैनन्। पछिल्लो समय उनी कांग्रेसको राजनीतिमा सक्रिय नभएकाले पनि उनलाई झट्टै स्वीकार गर्न भक्तपुरका कांग्रेस नेता तथा कार्यकर्ताहरु तयार छैनन्।

उनीसँगको बैठकमा सहभागी भक्तपुर कांग्रेस एक जिल्ला नेताले कांग्रेसले जित्ने भक्तपुर क्षेत्र नं २ मा जिल्ला बाहिरका नेतालाई टिकट दिन नसकिने भन्ने जवाफ ढुंगानालाई पनि दिइएको जानकारी दिए।

बैठकमा ढुंगानाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने समितिमा समेत बसेर आफूले काम गरेकाले माओवादीले समेत मत दिने हुँदा आफ्नो जीत सुनिश्चित भएको जिकिर गरेका थिए।

‘बिजुक्छेज्यू (नेमकिपाका अध्यक्ष नारायणमान) ले सहयोग गर्छु भनिसक्नुभएको छ’, पूर्वसभामुख ढुंगानाको भनाइ उद्धृत गर्दै ती जिल्ला नेताले भने, ‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने समितिको सदस्य भएर काम गरेकाले माओवादी नेताहरुले पनि सहयोग गर्छन्।’

ढुंगानाले नेमकिपा र माओवादीको सहयोगमा चुनाव जित्ने जिकिर गरेपछि त्यसो भए नेमकिपाबाट टिकट ल्याउन भनिएको ती जिल्ला नेताले बताए। उनका अनुसार पार्टी केन्द्रले समेत पूर्वसभामुख ढुंगानाको नाउँमा जिल्लाबाट राय बुझिरहेको छ। तर भक्तपुरका नेता तथा कार्यकर्ताहरुले ‘पर्यटक’ उम्मेदवारलाई टिकट नदिन चेतावनी दिँदै आएका छन्।

कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले भक्तपुर निर्वाचन क्षेत्र नं २ मा पूर्वसभामुख ढुंगानाले चाहना व्यक्त गरे पनि अहिलेसम्म टुंगिनसकेको सुनाए। उनले जिल्ला पार्टीले सिफारिस नै नगरेका व्यक्तिले टिकट पाउन नसक्ने बताए पनि कांग्रेसभित्र जे पनि हुन सक्ने संकेत गरे।

‘उहाँको बारेमा कुरा टुंगिसकेको छैन। उहाँ जिल्ला पार्टीबाट सिफारिस पनि हुनुभएको छैन’, जिल्ला सभापति थापाले भने, ‘तर कांग्रेसभित्र जे पनि हुनसक्छ। उहाँले टिकट नपाउला भन्न पनि सकिन्न।’

कांग्रेस भक्तपुरले उक्त निर्वाचन क्षेत्रको उम्मेदवारको लागि जिल्ला सभापति दुर्लभ थापासँगै तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ, पत्रकारद्वय कविर राणा, माधवरसिंह बस्नेतलगायतको नेताहरुको नाम सिफारिस गरेर पठाएको छ। जिल्लामा चर्चा भएअनुसार जिल्ला सभापति थापाले टिकट पाउने प्रवल सम्भावना छ।

उक्त क्षेत्रमा २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसको तर्फबाट रामेश्वरप्रसाद ढुंगेल विजयी भएका थिए। तर यसअघि भएको पहिलो संविधानसभा निर्वाचनमा भने नेमकिपाको तर्फबाट सुनिल प्रजापति विजयी भएका थिए। त्यस्तै संविधानसभाअघि भएको निर्वाचनमा कांग्रेसको तर्फबाट लेखनाथ न्यौपाने जितेका थिए भने त्यसभन्दा अघि भएको निर्वाचनमा नेमकिपाको तर्फबाट स्व. आशाकाजी बासुकलाले जीत हात पारेका थिए। यस आधारमा यस निर्वाचन क्षेत्रमा एक पटक कांग्रेस र अर्कोपटक नेमकिपा जित्दै आएको छ।

तर यस वर्ष क्षेत्रको सीमांकन हेरफेर गरिएको छ। जसले गर्दा नेमकिपालाई हिजोको इतिहास दोहो¥याउन सजिलो छैन। पहिले भक्तपुर र मध्यपुर थिमि नगरपालिकाको आधाआधा भागसँगै हालको सिंगो सूर्यविनायक नगरपालिका उक्त क्षेत्रमा पारिएको थियो। तर अहिले सिंगो सूर्यविनायक र मध्यपुर थिमि नपा यस क्षेत्रमा पारिएका छन्। यी दुवै नपामा नेमकिपाले सांगठनिक रुपमा कमजोर रहेको छ। कांग्रेस भने नेमकिपाको दाँजोमा बलियो देखिन्छ।

यस क्षेत्रबाट एमाले र माओवादी गठबन्धनको तर्फबाट एमालेका युवा नेता महेश बस्नेत उठ्ने निश्चित प्रायः भइसकेको छ। नेमकिपाले भने निर्णय गरिसकेको छैन। उसले पूर्वसांसद प्रेम सुवाल वा अनुराधा थापामगरमध्ये एकलाई टिकट दिने चर्चा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.