उम्मेदवार मनोनयन दर्तामा सहभागी हुन आह्वान

उम्मेदवार मनोनयन दर्तामा सहभागी हुन आह्वान

काठमाडौँ: निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा कात्तिक १६ गते बिहीवार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ।

मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयनको लागि आवश्यक तयारीबारेमा जानकारी दिने उद्देश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको उम्मेदवार मनोनयनलाई ऐतिहासिकरुपमा सफल बनाउने अभियानमा सहयोग पुर्‍याउन सबैसँग आग्रह गरे।

निर्वाचन मनोनयका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जनाउँदै उनले भने, “भोलि बिहान १० देखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोग हार्दिक आह्वान गर्दछ।”

मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले बिहीबार मनोनयन दर्ता गर्दै छन्। आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ।

नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’ को सफल कार्यान्वयन गर्ने क्रममा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको हो।

निर्वाचनका सम्पूर्ण गतिविधिलाई सुरक्षा प्रदान गर्न आवश्यक सुरक्षा प्रबन्ध भइसकेको जनाउँदै आयोगले निर्वाचनलाई महान् उत्सवको रुपमा सफल बनाउन सबैबाट सम्पूर्ण सहयोग अपेक्षा गरिएको उल्लेख गरेको छ

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरुको बन्दसूची पेश भई यही कातिक १७ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको पनि सो अवसरमा जानकारी दिइयो।

समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ७४ लाख मतपत्र र मतदाता नामावली छपाइको काम पूरा भइसकेको तथा सर्वोच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्रको छपाइ कार्य जारी रहेको आयोगले जानकारी दिएको छ।

प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिह्न रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको जानकारी दिँदै आयोगले कात्तिक २० गतेसम्म पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सम्पूर्ण मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाउने कार्य योजनाअनुसार तीव्र गतिमा काम भइरहेको जनाएको छ।

अदालतको आदेशअनुसार, परिमार्जन तथा संशोधन गर्नुपर्ने नियमावली, निर्देशिका तथा कार्यविधिहरु द्रुत गतिमा संशोधन तथा परिमार्जनको काम भइरहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि छुट्टाछुट्टै पानामा मतपत्रको व्यवस्था गर्दा आवश्यक पर्ने मतपेटिका, स्वस्तिक छापलगायत सामग्रीको छोटो समयमै व्यवस्थापन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

नियमावली र निर्देशिका परिमार्जन गरी सोही आधारमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने हुँदा मतदाता शिक्षासम्वन्धी तालीम, प्रशिक्षण कार्यक्रम छिट्टै सञ्चालन गर्न आयोगले गृहकार्य गरिरहेको जनाएको छ ।

निर्वाचन आचारसंहिताको सबैबाट पूर्ण पालना हुने विश्वास लिएको जनाउँदै आयोगले कहीँ कतैबाट आचारसंहिता उल्लंघन भएमा आवश्यक कारबाही गर्न ७७ जिल्लामा मुख्य÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निवर्तमान सांसदको सिफारिशमा सञ्चालन गर्न आचारसंहिता प्रतिकूल भएकाले त्यस्ता कार्यक्रम रोक्न आयोगले निर्देशन दिएको र ७७ वटै जिल्लाबाट त्यस्ता कार्यक्रम रद्द गरी रु १० अर्ब निकासा रोक्का भइसकेको जानकारी आयोगलाई प्राप्त भएको पनि सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले जानकारी दिनुभयो ।

आयोगबाट स्वीकृत फोटासहितको मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीलगायतको मताधिकारलाई सुरक्षित गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति बनाई कार्य अगाडि बढाइएको पनि सो अवसरमा जानकारी दिइएको थियो ।

आगामी मंसिरमा हुने निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आयोगले निर्वाचन पर्यवेक्षण गर्न अनुरोध गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.