कुमाल बस्तीमा छैन निर्वाचनको रौनक

कुमाल बस्तीमा छैन निर्वाचनको रौनक

इनारपाटी (नुवाकोट) : जताततै निर्वाचनको माहोल भए पनि नुवाकोटका कुमाल समुदायलाई भने चुनावी सरगर्मीले छुन सकेको छैन । नेताहरूले आफूहरूलाई निर्वाचनका बेला ‘भोट बैंक'का रूपमा मात्र लिने गरेको उनीहरूको गुनासो छ ।

 

विदुर नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा रहेका कुमालहरू दलहरूले भोट बैंकमा सीमित गर्दा पिछडिनुपरेको बताउँछन् । राज्यको प्रशासनिक निकायमा कमजोर सहभागिता रहेको कुमाल समुदाय कला, संस्कृति र पहिचानका हिसाबमा भने धनी जाति मानिन्छन् । आफ्नै भाषा तथा मौलिकतामा रम्दै आएका कुमाल समुदायको पुख्र्यौली पेसा माटाबाट विभिन्न सामग्री बनाउनु हो ।

अहिले कालो माटो पाइन छाडेका कारण पेसालाई निरन्तरता दिन समस्या परिरहेको उनीहरूको भनाइ छ । पीपलटार, माझीटार, ठूलागाउँ, एनारपाटी, महारानीहिडीका कुमाल समुदाय गरिबीले गर्दा निर्वाचनमा केन्द्रित हुन नसकेको अगुवा जुजुलाल कुमालको भनाइ छ ।

‘निर्वाचनका समयमा नेताहरू उम्मेदवारसहित भोट माग्न आउँछन् । हाम्रा माग सुन्छन् तर वाचा पूरा गर्दैनन्', विदुर-४ का रूपलाल कुमालले भने ।
गरिबीले गर्दा साँझ-बिहान चुलोमा आगो बाल्नु नै पहिलो काम हुने अर्का युवा रामशरण कुमालले बताए । निर्वाचनप्रति चासो घटेको उनको भनाइ छ ।
‘ऋण छ, कसैले पनि तिरिदिँदैनन्', इनारपाटीकी लक्ष्मी कुमालले भनिन्, ‘त्यही भएर निर्वाचनले हामीलाई छुन नसकेको हो ।' एक सय पाँच घर कुमालले गाउँमा सिँचाइको व्यवस्थाका साथै उद्योग स्थापना गरिदिन माग गरेका छन् ।

नुवाकोटका १२ वटै तहमा निर्वाचनको सरगर्मी बढे पनि कुमाल बस्तीमा भने उत्साह देखिँदैन । कुमाल बस्तीका अधिकांश पुरुष जाल बोकेर त्रिशूली र तादी नदीमा माछा मार्न जान्छन् । त्यही माछा बजार पुर्‍याएर बिक्री गर्छन् । विगतका निर्वाचनमा गाउँमा सिँचाइ ल्याउने, इनार खनिदिने, बाटोघाटो, पुलपुलेसा बनाइदिने आश्वासनपछि अगुवाले भनेकै व्यक्तिलाई भोट हाले । तर, जितेर गएपछि कोही नेता फर्केर गएनन् । अहिलेचाहिँ पहिले काम गरिदिनेलाई मात्र भोट हाल्ने सोचमा रहेछन् उनीहरू ।

‘निर्वाचनमा मात्र आउने, त्यसपछि मुख नदेखाउने नेतालाई भोट हाल्दैनौं', पीपलटारका वीरमान कुमालले भने ।

जनप्रतिनिधि भएका कुमाल

दलहरूले कुमाल समुदायको मत लिनका लागि स्थानीय तह निर्वाचनमा प्रतिनिधिमूलक उम्मेदवार उठाएका थिए । केहीले विजय पनि प्राप्त गरे । एमालेले विदुर वडा नम्बर ५ मा शिवबहादुर कुमाल र वडा नम्बर ६ मा मानबहादुर कुमाललाई सदस्य पदमा उम्मेदवार बनाएको थियो । दुवै जना विजयी भए । उनीहरूले अहिले जनप्रतिनिधि भई काम गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.