खेलकुदमय बन्यो गाउँघर

खेलकुदमय बन्यो गाउँघर

 

ताप्लेजुङ : हिउँदयामको सुरुवातसँगै ताप्लेजुङका गाउँमा खेलकुद प्रतियोगिताको लहर चलेको छ । गाउँमा सञ्चालनमा रहेका अधिकांश क्लबहरूले फुटबल, भलिबल, तेक्वान्दोलगायतका प्रतियोगिता आयोजना गर्दै आएका छन् । विद्यालयका प्राङ्गण तथा ठूला टारबारी खेलमैदान बनेका छन् । स्थानीय सञ्चारमाध्यममा खेल हुने सूचना प्रसारणले प्राथमिकता पाइरहेको छ । दसैं अगाडिदेखि नै सुरु भएका यस्ता खेलकुद प्रतियोगिता अहिले पनि कतिपय ठाउँमा सञ्चालन भइरहेका छन् ।

खेलकुद प्रतियोगिता मनोरञ्जनका लागि आयोजना हुने भए पनि आकर्षक पुरस्कार राशिका कारण क्लबहरूले पनि राम्रै तयारी गर्ने गरेको जिल्ला फुटबल संघका अध्यक्ष मोती पन्तवाले बताए । विशेषगरी असोजको पहिलो सातादेखि सुरु भएको वडास्तरीय, गाउँपालिका, नगरपालिका एवं जिल्लास्तरीय प्रतियोगिता वैशाखसम्मै हुने गरेको उनले बताए ।

 

वर्षमा एक पटक हुने खेलकुदका विभिन्न प्रतियोगिताले चाडपर्वको रमाइलो माहोलमा झनै रौनक थपिदिने क्लबका पदाधिकारी बताउँछन् । ताप्लेजुङको सिरिजंघा गाउँपालिका-७ स्थित खेवाङ स्पोर्टिङ क्लबका अध्यक्ष विनम मावोले चाडपर्व र त्यसपछि सुरु हुने खेलकुद प्रतियोगिताले गाउँघरमा छुट्टै रौनक थप्ने बताए । ‘बर्सेनि दसैं तिहारको छेकोमा विभिन्न प्रतियोगिता आयोजना गर्दै आएका छौं’ अध्यक्ष मावोले भने । उनले प्रथम पुरस्कार ५० हजारसहित कप, मेडल र प्रमाणपत्रसहित आयोजित प्रतियोगितामा दुई लाखभन्दा बढी खर्च हुने गरेको बताए ।

दसैं तिहारकै छेको पारेर मैवाखोला गाउँपालिका-५ फाकुम्बामा वडास्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा पुरुषतर्फ ४१ र महिलातर्फ १३ टोली सहभागी भएका थिए । यसैगरी न्यु कञ्चनजंघा युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा पनि प्रथम पुरस्कार ५० हजार नै राखिएको क्लबका अध्यक्ष सुरज लिम्बूले बताए । फुङलिङ नगरपालिका-१० फुरुम्बुमा वडास्तरीय फुटबल प्रतियोगिता भने दसैंअगाडि नै सकिएको थियो । यस्तै फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा पनि गाविसस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको पेम्बाटासी शेर्पाले जानकारी दिए ।

वर्षौं परदेसिएकाहरू आफन्तसँग भेटघाट गर्ने उपयुक्त माध्यम खेल स्थल हुने भएकाले यसरी हुने प्रतियोगिताले भावनात्मक एकता बोकेको फुटबलका राष्ट्रिय रेफ्री मोतीहाङ लिम्बूको बुझाइ छ । पाँचथरस्थित नागीमा हुने निसान मेलाले आफैंमा पहिचान बनाएको छ । फुटबल प्रतियोगिता र मेला नै निसान मेलाको मुख्य आकर्षण बनेको छ । यता सान्थाक्रा-२ स्थित सुर्माटार खेलमैदानमा आयोजना भएको फुटबल प्रतियोगितामा प्रथम पुरस्कार राशि ३० हजार रुपैयाँ राखिएको छ । विदेशमा रहेका गाउँघरका साथीभाइले समेत आर्थिक सहयोग गर्ने भएकाले खेल सञ्चालन गर्न सहज बनेको स्थानीय प्रकाश चोङबाङ बताउँछन् ।

खेलकुद प्रतियोगिता सञ्चालन गर्न क्लबहरू जिल्ला खेलकुद विकास समितिमा दर्ता हुनुपर्दछ । समितिका अनुसार ताप्लेजुङमा एक सय १३ वटा क्लबहरू समितिमा दर्ता भएका छन् । ती क्लबले वर्षमा एक पटक कुनै न कुनै खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेकै हुन्छन् । यस्ता प्रतियोगिताले खेलाडीहरूको वृद्धि विकास हुने मात्र नभएर नयाँ खेलाडी उत्पादन गर्न समेत सघाउ पु¥याउने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष इन्द्र केदेमले बताए ।

समितिले विगतमा क्लबहरूलाई खेल प्राविधिक र खेलसामग्री प्रदान गर्दै आएको थियो । तर यो वर्षको बजेट स्थानीय तहमा जाने कि पहिलेकै संरचनामा आउने भन्ने अन्योल रहेको समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले बताए । ‘बजेट कुन माध्यमबाट आउने हो थाहा छैन, क्लबहरूबाट माग आइरहेको छ, पहिलेकै अनुसार बजेट आयो भने पछि प्रदान गर्छौं भनेर फर्काइरहेका छौं’ उनले भने ।खेलकुद विकास समितिले प्रत्येक वर्ष गाउँका खेलाडीलाई एकीकृत गर्दै फुटबल लिग सञ्चालन गर्दै आएको छ ।

ताप्लेजुङको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता पाथीभरा गोल्डकप हो । यो प्रतियोगिता लाखेजात्राको अवसर पारेर सदरमुकामस्थित भानु माविको मैदानमा सञ्चालन हुँदै आएको छ । प्रतियोगितामा राष्ट्रिय टोलीका र ए डिभिजन क्लबका खेलाडीले समेत सहभागिता जनाउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.