कृष्णमन्दिरको पुनःनिर्माण छ महिनाभित्र
काठमाडौँ: भूकम्पबाट क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको जीर्णोद्घार आगामी छ महिनाभित्र सम्पन्न हुने भएको छ।
पुरातत्व विभागको सहयोगमा एक वर्षअघि जीर्णोद्घार थालिएको तीनतले सो मन्दिर करीब रु ८० लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको काठमाडौँ उपत्यका संरक्षण कोषका देशीय निर्देशक रोहित रञ्जितकारले जानकारी दिए।
मन्दिरको दोस्रो तलामा क्षति पुग्नाका साथै खम्बा पनि सरेका कारण मन्दिरका केही अंशको जीर्णोद्वार थालिएकामा अहिलेसम्म मन्दिरको आधीभन्दा बढी काम सम्पन्न भइसकेको बताइएको छ। ढुङ्गा नै ढुङ्गाको प्रयोग गरी निर्मित उक्त मन्दिर विसं २०७२ को भूकम्पबाट केही खण्ड चर्केको थियो।
विसं १६९३ मा पाटनका प्रथम राजा सिद्धिनरसिंह मल्लले शिखर शैलीमा निर्माण गरेको २१ गजुर भएको कृष्ण मन्दिरभित्र भगवान् कृष्ण तथा सत्यभामाका मूर्ति र दश अवतार, ‘रामायण' र ‘महाभारत'का कथासंग सम्बन्धित चित्र तथा मूर्ति र शिवलिङ्ग रहेको विभाग हेरचाह अड्डा पाटनका प्रमुख काजी प्याकुरेलले बताए।
उनका अनुसार मन्दिरमा दैनिक नित्यपूजाका साथै कृष्णाष्टमी र वैष्णव धर्मसँग सम्बन्धित एकादशीमा विशेष पूजा हुन्छ। कृष्णाष्टमीका दिन हरेक वर्ष राष्ट्राध्यक्षको उपस्थिति हुने गरेको छ।