वन विज्ञानको परीक्षामा लापरवाही, गयल विद्यार्थी पनि पास

वन विज्ञानको परीक्षामा लापरवाही, गयल विद्यार्थी पनि पास

पोखरा : वन विज्ञान अध्ययन संस्थानमा बिएस्सीको परीक्षा दिएर बसेका विद्यार्थी नतिजाको व्यग्र पर्खाइमा थिए। जब हालै परीक्षाफल आयो, उनीहरु सबै आश्चर्यचकित भए। आफू फेल वा पास भएर उनीहरू चकित भएका होइनन्, परीक्षा नै नदिएकाहरू पनि पास भएपछि उनीहरू आश्चर्यमा परेका हुन्।

पहिलो सेमेस्टरको परीक्षा दिएर नभ्याउँदै सेतीनदीमा खसेर बेपत्ता भएका विद्यार्थी भीष्मराज जोशीको नाम चौथो सेमेस्टरको नतिजा निस्कँदा उत्तीर्णको सूचीमा परेको छ। जोशी हराएको थाहा पाएका क्याम्पसका विद्यार्थीहरूले उनको नाम पास हुनेको सूचीमा देखेपछि लापरवाही भएको थाहा पाए। नेविसंघ, अखिल, अखिल क्रान्तिकारी, अखिल छैटौं लगायत विद्यार्थी संगठनले क्याम्पसको चरम लापरवाहीले पूरै नतिजाप्रतिको विश्वास हराएको जनाएका छन्।

‘पहिलापहिला भएका नतिजा पनि विश्वास गर्न नसकिने भयो’, अखिल क्रान्तिकारीकी समीक्षा अर्यालले भनिन्। उनकै भनाइमा हराएका विद्यार्थी मात्रै होइन, रसिया गएका, अमेरिका गएका र जाँचै नदिएका विद्यार्थीको नाम पनि उत्तीर्णको सूचीमा प्रकाशित भयो। वन विज्ञान अध्ययन संस्थानले गएको १७ गते शुक्रबार बिएस्सी दोस्रो, चौथो र छैटौं समेस्टरको नतिजा निकालेको थियो।

दसैंअघि नै आउनुपर्ने नतिजा ढिलो गरेर निकाल्दा पनि लापरबाही भएपछि परीक्षा प्रणालीमाथि प्रश्न उठेको समीक्षाले सुनाइन्। अर्का विद्यार्थी नेता विमल पाण्डे पास भएका र फेल भएका विद्यार्थीको आत्मविश्वास खस्किएको बताउँछन्। उनले भने, ‘आउनुपर्ने जति नम्बर पनि नदिइएको हुन सक्छ, विश्वासै गर्न नसकिने भयो।’

वन विज्ञान अध्ययन संस्थान डिन कार्यालय मातहतको परीक्षा महाशाखाका प्रमुख अवधेश सिंह टाइप मिस्टेकमात्रै भएको बताउँछन्। ‘ओरजिनल रिजल्ट सिटमा ठिक थियो, सूचना टाँस्ने सिटमा टाइप मिस्टेक भएको हो।’ उनले विद्यार्थीबाट गुनासो आउनासाथै नतिजा संशोधनसहित सूचना टाँसिएको जानकारी पनि दिए।

अदालत छल्दै डिन

यता परीक्षा महाशाखा लगायतको तालुक अड्डा डिन कार्यालय काठमाडौं सरेपछि विद्यार्थीहरूले अर्को दुःख झेलिरहेका छन्। विद्यार्थी र स्थानीय बासिन्दाको चर्को विरोधका बाबजुद डिन कृष्ण तिवारीले कार्यालयलाई त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमै सारेका छन्। चैतदेखि उतै गएका उनले अरु कर्मचारीलाई पनि कात्तिक दोस्रो सातादेखि पत्र काटेर आफू भएकै ठाउँमा डाकेका छन्।

डिन कार्यालय नसार्न माग गर्दै पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलसहितले उच्च अदालत पोखरामा हालेको मुद्दा विचाराधीन छ। अदालतले कार्यालय सार्नुपर्नाको कारण डिनसँग मागेको थियो। तर त्यसको बेवास्ता गर्दै डिन तिवारीले थप कर्मचारी पनि आफू भएकै कार्यालय डाकेका हुन्।

डिन कार्यालय काठमाडौं सारेर डिनले मुलुक संघीयतामा लैजाने प्रयासमा उल्टो गंगा बगाउने कोसिस गरेको वडाध्यक्ष पौडेल बताउँछन्। कार्यालय काठमाडौं सार्दा विद्यार्थीलाई विभिन्न कामका लागि राजधानी धाउनुपर्ने बाध्यता आइपर्ने हुँदा पोखरै फर्काउन आफूहरुले माग गरिरहेको पाण्डेले सुनाए। डिन तिवारीले भने विभिन्न कामका लागि काठमाडौं धाइरहँदा धेरै खर्च भएकाले र समन्वय गर्न अप्ठेरो भएकाले पनि पोखराबाट सार्नुपरेको बताउँदै आएका छन्। स्थानीय बासिन्दाले भने आफूलाई घर पायकको जागिर मिलाउन उनले पोखराबाट काठमाडौंमा कार्यालय लगेको आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.