प्रदर्शनी खेलसँगै मूलपानी क्रिकेट मैदानको उद्घाटन
काठमाडौं : लामो समयदेखि बन्न नसकेको मूलपानीस्थित क्रिकेट मैदानमा शनिबार राष्ट्रिय क्रिकेट टोलीका पूर्व र वर्तमान खेलाडीबीच प्रदर्शन खेल सम्पन्न भएको छ । यससँगै मैदान क्रिकेट प्रतियोगिता आयोजनाका लागि तयार रहेकोसमेत घोषणा गरिएको छ ।
सन् २००२ बाट बन्न सुरु गरेको क्रिकेट मैदान विभिन्न बहाना र अवरोधका कारण पूरा हुन सकेको थिएन । पछिल्लो समय राष्ट्रिय टोलीका खेलाडी र क्यान कर्मचारीको अग्रसरतामा मैदानलाई खेल्नयोग्य बनाइएको हो । शनिबार भएको प्रदर्शनी खेलमा भेट्रान्स-११ विरुद्ध सदस्यसचिव-११ विजयी बनेको थियो ।
राष्ट्रिय टोलीका पूर्वखेलाडी राजु बस्न्यातले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेपछि सदस्यसचिव-११ ले ८७ रनको जित हात पारेको हो । टस हारी पहिले ब्याटिङ गरेको सदस्यसचिव-११ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९६ रनको योगफल खडा गरेको थियो । राजु एक्लैले पाँच विकेट लिएपछि भेट्रान्स टोली १४.५ ओभरमा एक सय नौ रनमै समेटिएको थियो । ३.५ ओभर बलिङ गरेका राजुले ३६ रन खर्चेका थिए ।
भेट्रान्स-११ का लागि मञ्जित श्रेष्ठले ५२ रन जोडे पनि जित सम्भव भएन । सदस्यसचिव-११ का लागि सुनिल धमलाले सर्वाधिक ४२ रनको योगदान दिएका थिए । त्यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव न्यौपानेले एक÷एक ओभर बलिङ र ब्याटिङ गरी मैदानको उद्घाटन गरेका थिए।