यू–१९ यूथ एसिया कप: नेपालको नजर सेमिफाइनलमा

यू–१९ यूथ एसिया कप: नेपालको नजर सेमिफाइनलमा

काठमाडौं: एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत महत्वपूर्ण खेलमा नेपालले मंगलबार आयोजक मलेसियाको सामना गर्दैछ । प्रतियोगिताको समूह ‘ए' बाट सेमिफाइनल यात्रा तय गर्न नेपाललाई मलेसियाविरुद्ध जित निकाल्नु पर्नेछ।

आइतबार टेस्ट टोली भारतको युवा टोलीविरुद्ध प्राप्त ऐतिहासिक जितसँगै मनोबल उच्च बनाएको नेपालको सेमिफाइनल सम्भावना सोमबार बंगलादेशले आयोजक मलेसियालाई दुई सय ६२ रनको भारी अन्तरले पराजित गरे सँगै केही कठिन बनेको छ । तर, मलेसियालाई ठूलो अन्तरले हराउन सके नेपालको सेमिफाइनल सपना पूरा हुनेछ।

मंगलबार वायुमास ओभलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गरिरहँदा भारत र बंगलादेश पनि रोयल सेलङगोर क्लबमा आमनेसामने हुनेछन् । यो खेलमा बंगलादेशले भारतलाई पराजित गरेको अवस्थामा नेपाल मलेसियालाई झिनोअन्तरले पराजित गरे पनि प्रतियोगिताको अन्तिम दुईमा पुग्न सक्षम हुनेछ । भारतले जित हात पारेको अवस्थामा भने नेपालले मलेसियालाई आफ्नो खेलमा पराजित गरेर मात्रै सेमिफाइनल यात्रा सम्भव नहुन सक्छ।

मंगलबारको खेलमा भारत र नेपालले जित हात पारेको अवस्थामा बंगलादेशसहित तीनै टोलीको समान चार÷चार अंक हुनेछ । यो अवस्थामा रन रेटको आधारमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । त्यसैले मलेसियाविरुद्ध ठूलो अन्तरको जितले नेपाललाई पहिलो पटक युथ एसिया कपको अन्तिम चारमा पुर्‍याउनेछ । सन् २०१२ बाट सुरु भएको यूए एसिया कपमा नेपालले हालसम्म समूह चरण पार गर्न सकेको छैन।

पहिलो खेलमा बंगलादेशविरुद्ध डक वर्थ लेविस नियमका आधारमा अन्तिम ओभरमा दुई विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा आइतबार भारतलाई १९ रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको थियो । आइतबारको जित नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको कुनै पनि टोलीविरुद्ध हात पारेको पहिलो जित थियो । भारतविरुद्धको जितसँगै हौसिएको नेपाली टोलीका लागि मलेसिया सहज प्रतिद्वन्द्वी हो।

उमेरसमूहको प्रतियोगितामा सुरुआतबाटै हावी रहँदै आएको नेपालले यो प्रतियोगितामा मलेसियासँग अहिलेसम्म पराजय बेहोरेको छैन । त्यसमाथि पछिल्लो पाँच महिना यता भएको दुई प्रतियोगितामा नेपालले मलेसियालाई ठूलो अन्तरले पराजित गरिसकेको छ । गत जुलाईमा सिंगापुरमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) यू–१९ विश्वकपको एसियाली छनोटअन्तर्गत भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो।

त्यसपछि गत सेप्टेम्बरमा मलेसियामै भएको यसै प्रतियोगिताको छनोट (एसीसी यू–१९ पश्चिम क्षेत्रको प्रतियोगिता) खेलमा त नेपालले मलेसियालाई १० विकेटको भारीअन्तरले पराजित गरेको थियो । त्यसैले मंगलबारको खेलमा पनि नेपाली युवा टोलीले यस्तै प्रदर्शनसँगै आफूलाई प्रतियोगिताको सेमिफाइनलमा पुर्‍याउने अपेक्षा गरिएको छ । खेल नेपाली समयअनुसार बिहानको ७ बजेपछि सुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.