एएफसी एसिया कप छनोट: फिलिपिन्ससँग प्रतिष्ठाको लडाइँ

एएफसी एसिया कप छनोट: फिलिपिन्ससँग प्रतिष्ठाको लडाइँ

काठमाडौं: एएफसी एसिया कप छनोट फुटबलबाट बाहिरिइसकेको नेपालले मंगलबार घरेलु मैदानमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । यसअघि फिलिपिन्ससँगको अवे खेलमा ४-१ गोलको हार खेपेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ ।

नेपालले यसअघि गत चैतमा फिलिपिन्ससँग खेलेको थियो । सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल नेपालले आफ्नो स्तर सुधारका लागि खेल्ने टोलीका प्रशिक्षक ग्योतुकी कोजीले बताए ।
‘फिलिपिन्स समूहको बलियो टोली हो । घरेलु मैदानको फाइदा लिँदै हामी फिलिपिन्सलाई रोक्ने प्रयास गर्नेछौं,' सोमबार आयोजित पत्रकारसम्मेलनमा कोजीले भने ।

फिलिपिन्सका प्रशिक्षक थोमस डोलेले नेपालसँगको खेल आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताए । ‘हामी थप तीन अंक खोस्ने प्रयास गर्नेछौं । नेपालले पछिल्लो समय खेलमा सुधार गरिरहेको छ तर, अघिल्लो चरणमा पुग्न हाम्रा लागि जित आवश्यक छ । खेलाडीले शतप्रतिशत मेहनत गर्नेमा म विश्वस्त छु,' थोमसले भने ।

नेपाली टोलीका कप्तान अनिल गुरुङले फिलिपिन्सविरुद्धको खेल आफ्नो लागि विशेष रहेकोले यसलाई स्मरणीय बनाउने बताए । छनोटअन्तर्गत ताजकिस्तानविरुद्धको अघिल्लो खेलमा टोली बाहिर राखिएका अनिललाई यसपटक भने समावेश गरिएको छ । अनिलले यही खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने तयारी गरेका छन् । यो राष्ट्रिय टोलीमा उनको ५०औं क्याप हुनेछ । पछिल्लो १० वर्ष राष्ट्रिय टोलीमा रोजाइका स्ट्राइकर अनिलले नेपालका लागि नौ गोल गरेका छन् । यसपटक अनिलसँगै मिडफिल्डमा जगजित श्रेष्ठले पनि पुनरागमन गरेका छन् । केही समय टोलीमा नदेखिएका जगजित अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्दै आएका थिए ।

प्रशिक्षक कोजीले सोमबार नै अनिल र जगजितसहितको २३ सदस्यीय टोलीको घोषणा पनि गरेका छन् । टोलीमा तीनजना गोलरक्षक, सातजना रक्षक, आठजना मिडफिल्डर र पाँचजना स्ट्राइकर रहेका छन् । गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । रक्षकमा विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी छन् ।

यसैगरी मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, अञ्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर र सुनील बल छन् । स्ट्राइकरमा अनिल गुरुङ, विमल घर्तीमगर, भरत खवास, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की रहेका छन् । नेपाली टोली एक महिनाअघि खेलिएको महत्वपूर्ण खेलमा ताजकिस्तानसँग ३-० गोलले पराजित हुँदै छनोट चरणबाटै बाहिरिएको थियो । ताजकिस्तानविरुद्ध उसैको मैदानमा खेलेको नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई पेनाल्टी गोल खाएको थियो ।

त्यसअघि नेपाली टोली ताजकिस्तानसँग घरेलु मैदानमा २-१ गोलले पराजित भएको थियो । नेपाल सम्मिलित समूह ‘एफ' मा फिलिपिन्स, यमन र ताजकिस्तान छन् । समूहमा नेपालले चारवटा खेल खेलिसकेको छ । नेपालले यसअघिका खेलमा एउटा पनि जित हात पार्न सकेको छैन । गत जेठमा घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

समूह ‘एफ' मा रहेको नेपाल एक अंकका साथ अन्तिम स्थानमा छ । तालिकाको शीर्ष स्थानमा आसीन फिलिपिन्सको आठ अंक छ । यमन र ताजकिस्तानले ६/६ अंक बटुलेका छन् । नेपालले समूहगत चरणको अन्तिम खेल यमनसँग आगामी वर्ष मार्च १८ तारिखमा उसैको मैदानमा खेल्नेछ । समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे' प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सन् २०१९ मा यूएईमा आयोजना हुने एसिया कपका लागि सीधै छनोट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.