सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइने
जनकपुरधाम: प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिंदै गएको बेला नेपाल÷भारत सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइने भएको छ। शुक्रबार नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक अधिकृतहरुको जनकपुरमा सम्पन्न सीमा सुरक्षा बैठकले सुरक्षा सतर्कता बढाउने निर्णय गरेको हो।
करिब तीन घण्टासम्म चलेको बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धान अधिकृत सहितको सहभागिता रहको थियो भने भारतीय पक्षको तर्फबाट बिहारको मधुवनी जिल्लाका डि.एम शिरिष कपिल असोक, एसपी दिपक बर्नवाल लगायत, भिठ्ठामोड नाकाका सुरक्षा अधिकृत सहभागि भएका थिए।
बैठकको संयोजन गरेका धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाईले नेपालमा हुन गईरहेको निर्वाचनलाई शान्त र सुव्यवस्थित रुपमा सम्पन्न गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता भारतीय सुरक्षा अधिकारीहरुबाट आएको बताए। चापागाईले भने, ‘सीमाबाट हुनै कुनै पनि अपराधिक गतिविधि वा नकारात्मक क्रियाकलापलाई निस्तेज पार्न दुवै पक्षले सक्दो प्रयत्न गर्ने निर्णय भएको छ।'
सीमामा हुन सक्ने सुरक्षा चुनौतीहरुलाई पहिला नै पहिचान गरिसकिएको र यस बैठकमा थप नयाँ रणनीतिहरु बनाइएको उनले बताए। निर्वाचन गतिविधिलाई नकारात्मक प्रभाव पार्न सक्ने र सामाजिक न्यायलाई असर पार्ने खालका क्रियाकलाप हुन नदिन विशेष सुरक्षा सतर्कता बढाउने विषयमासमेत भारतीय पक्षसंग गहन छलफल भएको प्रमुख जिल्ला अधिकारी चापागाईले जानकारी गराए।