'सरकार मनमौजी, स्वेच्छाचारी'

'सरकार मनमौजी, स्वेच्छाचारी'

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले शृंखलाबद्ध विस्फोट हुँदा सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन्। राजधानीमा शुक्रबार साँझ केही सञ्चारकर्मीसँगको एक जमघटमा ओलीले सरकार चुनाव बिथोल्ने गतिविधिप्रति नरम देखिएको भन्दै आलोचना गरे। उनले देउवा सरकारलाई ‘चरम कामचलाउ' संज्ञा दिँदै उसलाई चुनावको मुखमा मनमौजी निर्णय र स्वेच्छाचारी आचरण गर्ने छुट नभएको टिप्पणी गरे।

प्रधानमन्त्री शेरबहादुर देउवा ०४८ सालमा गृहमन्त्री छँदा दिएको विवादास्पद अभिव्यक्ति सम्झाउँदै ओलीले व्यंग्य गरे, ‘आजकलका प्रधानमन्त्रीले उहिले एकपटक भन्नुभएको थियो-गोलीको आँखा हुँदैन। यस्ता घटनामा कोही नेता पर्दा अर्को पार्टीले सहानुभूति व्यक्त गर्छ तर सिलसिलेवार घटना हुँदा पनि सरकार संवेदनाहीन छ।' पछिल्ला हिंसात्मक घटना वाम उम्मेदवारप्रति लक्षित भएको ओलीको आशय थियो। उनले यस्तो परिस्थितिमा सरकार विपक्षीसँग संवादहीन रहेको कटाक्ष गरे।

एक घन्टा लामो वक्तव्यका अधिकांश समय सरकारविरुद्ध खर्चेका ओलीले निर्वाचन आयोगसमेत निरीह बनेको टिप्पणी गरे। उनले ‘अनुभवी गृहमन्त्री' जनार्दन शर्मालाई कुर्सीबाट हटाएर के यही अवस्था ल्याउन खोजेको हो भनी आरोप लगाए। ‘यत्रा हिंसा भइरहेका छन् तर सरकार आधिकारिक ढंगले केही बोलिरहेको छैन। सुमुसुमु हिँडिरहेको छ, मानौं केही भएकै छैन,' ओलीले भने, ‘बम पड्कन सक्ने भएकाले आमसभामा नजानु, घरैमा बसे भइगयो नि भन्ने किसिमको शैली सरकारको छ। ऊ चुनाव नहुन सक्छ भन्ने मनोविज्ञान जनतामा छर्न खोजिरहेको छ।'


‘यत्रा हिंसा भइरहेका छन् तर सरकार केही बोलिरहेको छैन। सुमुसुमु हिँडिरहेको छ, मानौं केही भएकै छैन। बम पड्कन सक्ने भएकाले आमसभामा नजानू, घरैमा बसे भइगयो नि भन्ने किसिमको शैली सरकारको छ। ऊ चुनाव नहुन सक्छ भन्ने मनोविज्ञान जनतामा छर्न खोजिरहेको छ।'

विप्लव समूहलाई लक्षित गर्दै ओलीले हिंसात्मक घटनाले कुनै क्रान्ति र परिवर्तन नहुने भन्दै आतंकपूर्ण क्रियाकलाप बन्द गर्न चेतावनी दिए। ओलीले बूढीगण्डकी परियोजनाको नाम नलिई चिनियाँ कम्पनीसँगको सम्झौता रद्द गर्ने सरकारी निर्णयको कडा आलोचना गरे। चुनाव गराउने दायित्व बोकेका नेताले आफ्ना एजेन्डा घोषणापत्रमा मात्रै राख्न सक्ने, नीतिगत निर्णय लिन नसक्ने भन्दै ‘चुनावपछि बन्ने वाम सरकार' ले त्यस्ता निर्णय उल्टाउने चेतावनी दिए।

‘यस्ता राष्ट्रिय महत्वका विषय सरकार मात्रैको विषय हुन सक्दैन, प्रतिपक्षको पनि हुन्छ,' उनले भने, ‘मैले कमल थापाजीको कुरा अखबारमा पढें। कसको बोलीको खण्डन गर्दै छु भन्ने हेक्का उहाँलाई होस्। यो सरकारको बेलगामपनको नमुना हो।' उनले चिकित्सक गोविन्द केसीको नाम नलिई ‘सरकारको तनखा खाएको कर्मचारीसँग गलत सम्झौता गरिरहेको' आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.