मेहबुब र सौरभले यूएईविरुद्ध नखेल्ने

मेहबुब र सौरभले यूएईविरुद्ध नखेल्ने

काठमाडौं: भेट्रान्स अल राउन्डर मेहबुब आलम र विस्फोटक युवा ब्याट्सम्यान सौरभ खनालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेल नखेल्ने भएका छन् । दुवै खेलाडीले चोटका कारण प्रतियोगिताका लागि जारी बन्द प्रशिक्षण छाडेका छन् । यी दुवै खेलाडीले बन्द प्रशिक्षण त्यागेको नेपाली टोलीको व्यवस्थापन पक्षले जनाएको छ ।

‘मेहबुब र सौरभले चोटका कारण बन्द प्रशिक्षणबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरू यूएईविरुद्धको खेलका लागि उपलब्ध हुने छैनन्', बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ । नेपालले आगामी डिसेम्बर ६ र ८ तारिखमा यूएईविरुद्ध उसैको मैदानमा दुई खेल खेल्दैछ । यूएईविरुद्धको खेल च्याम्पियनसिपअन्तर्गत नेपालको अन्तिम खेल हो ।

च्याम्पियनसिपको शीर्ष चारभित्र रहने सम्भावना गुमाएसँगै आईसीसीको डिभिजन ‘एक' बाट डिभिजन ‘दुई' मा घटुवा भएको नेपालका लागि यो खेल औपचारिकता मात्र हो । नेपालले यसै प्रतियोगितामार्फत एक दिवसीय विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता खेल्ने अवसर पनि गुमाएको छ । त्यो सम्भावना पुनः पाउन नेपाललाई अर्काे वर्ष हुने डिभिजन ‘दुई' को शीर्ष दुईभित्र अटाउनुपर्ने बाध्यता रहेको छ ।

यूएईविरुद्धको खेलका लागि सञ्चालित बन्द प्रशिक्षणका लागि बुधबार अन्तिम २० खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ । जसमा वसन्त रेग्मी, विनोद भण्डारी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, हासिम अन्सारी, जितेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, मोहम्मद आरिफ शेख, पारस खड्का, सागर पुन, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, सन्दीप लामिछाने र सुशील कँडेल रहेका छन् ।

यसैगरी बन्द प्रशिक्षणका लागि सिद्धान्त लोहनी पनि छानिएका छन् । हालै मलेसियामा भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकामध्ये अनिलकुमार शाह पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश अन्तिम २० खेलाडीभित्र अटाएका छन् ।

छनोट समितिले गत बिहीबारदेखि सोमबारसम्म भएको छनोट खेलमा गरेको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका लागि अन्तिम २० खेलाडीको छनोट गरिएको जनाएको छ । आईसीसीका प्रतिनिधि अमिनुल इजलामको नेतृत्वमा रहेको छनोट समितिमा मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सदस्य छन् । छनोट समितिले यूएईविरुद्धको खेलका लागि अन्तिम १४ खेलाडीको नाम चाँडै सार्वजनिक गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.