काठमाडौं- ५ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- ५ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं: काठमाडौं-५ मा कांग्रेस, एमाले र विवेकशील साझा पार्टीका उम्मेदवार चुनाव जित्ने दाबीसहित मतदाताको घरदैलोमा व्यस्त छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, एमाले महासचिव ईश्वर पोखरेल र विवेकशील साझाका अध्यक्ष उज्ज्वल थापा यो क्षेत्रमा प्रतिस्पर्धामा छन्। तीनै दलका उम्मेदवार प्रभावशाली भएकाले मतदाता अन्योलमा देखिन्छन् ।

‘हाम्रो क्षेत्रका तीनै जना उम्मेदवार प्रभावशाली छन्,' हाँडीगाउँकी उमा कार्की भन्छिन्, ‘हामी विकास गर्ने र महिलाको मर्म बुझ्नेलाई भोट दिन्छौं ।' बूढानीलकण्ठका अर्जुन खड्काले सहज रूपले व्यवसाय गर्न दिने नेतालाई भोट दिने बताए ।

०७० र ०६४ सालको संविधानसभा चुनावमा जित हात पारेको कांग्रेस यसपटक पनि जित्नेमा ढुक्क छ । उम्मेदवार फेरिँदैमा मतदाताले कांग्रेसको साथ नछाड्ने डा. महतको दाबी छ । एमाले महासचिव ईश्वर पोखरेल दुई पटकसम्म यस क्षेत्रका जनताले कांग्रेसको कार्यशैली देखिसकेकाले आफूले जित्ने विश्वासमा छन् । विवेकशील साझाका उम्मेदवार उज्ज्वल थापा पनि क्षेत्र नम्बर ५ का मतदाता विवेकी भएकाले आफूलाई मतदान गर्ने दाबी गर्छन् ।

कांग्रेस उम्मेदवार डा. महतले यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पुराताŒिवक विकासको छुट्टै योजना बनाएको बताए । ‘यस क्षेत्रका युवाले रोजगारीका लागि विदेश तथा अन्य क्षेत्रमा भौंतारिन नपरोस् भनेर लागिपरेको छु', उनले भने । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि आवश्यकताअनुसार पूर्वाधार तयार गर्ने उनले बताए । ‘म लोकतान्त्रिक पद्धतिमा काम गर्ने मान्छे हुँ । अघिल्लो चुनावी आधार तथा मेरो इमानदारी र कटिबद्धतालाई बुझेर मतदाताले मलाई नै रोज्नेमा विश्वस्त छु,' उनले थपे ।

एमाले महासचिव पोखरेल मुलुकै पराजित भएका बेला आफूले चुनाव हारेको बताए । ‘देश नै हारेका बेला मैले पनि हारेको हुँ, त्यतिबेलाको र अहिलेको माहोल फरक छ । त्यसैले मैले जित्छु । म हारे पनि यहाँका जनतासँग निरन्तर सम्पर्कमा छु, यहीं समर्पित छु,' उनले भने, ‘जनताले यसपटक मलाई न्याय दिनेछन् ।'

आर्थिक एवं पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचप्रति प्रतिबद्धता जनाउँदै उनले भने, ‘यस क्षेत्रमा २२ वटा स्वास्थ्य संस्था र तीन दर्जन शिक्षण संस्था छन् । यसलाई व्यवस्थित गरेर जनतासम्म पहुँच पुर्‍याउनेछु । यो क्षेत्र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको क्षेत्र भएकाले पनि यसमा मेरो विशेष सामीप्य छ ।'

अमेरिकाबाट आइटी डिजाइनर पढेर नेपाल फर्केपछि युवा बटुलेर विवेकशील दल खोलेका उज्ज्वल थापा कुकुर चिह्न लिएर दोस्रो संविधानसभामा त्यसै क्षेत्रबाट उम्मेदवारी दिएका थिए । यो क्षेत्रमा उनको दोस्रो अनुभव हो । ‘काठमाडौं-५ लाई भीआईपी र बौद्धिक व्यक्तिहरूको सहर बनाउने मेरो योजना छ,' उनले भने, ‘सबै नेता आयातीत हुन् । मैले जति यो क्षेत्रलाई अरूले बुझेका छैनन् । म यहाँको हरेक वर्ग, समुदाय, धर्म/संस्कृति र विकासबारे परिचित छु । कस्तो विकास आवश्यक छ भन्ने कुरा मैले जति अरूले बुझ्न सक्दैनन् । यहाँको माटोले मलाई राम्ररी चिनेको छ ।'

निष्ठाको राजनीति बटुल्न चुनावमा होमिएको उनले बताए । भने, ‘माहोल बनाउन धेरै मान्छे चाहिँदैन एक जना नै काफी हुन्छ,' थापाले भने, ‘विकास र समृद्धिको मुद्दा लिएर म अघि बढिरहेको छु ।'

काठमाडौं- ५ मा ईश्वर पोखरेले ०५६ सालमा १५ हजार नौ सय ७५ मत ल्याएर चुनाव जितेका थिए । ०६४ सालको संविधानसभा चुनावमा कांग्रेसका नरहरि आचार्यले १३ हजार दुई सय ४५ मत ल्याएर विजय हासिल गरे भने पोखरेल नौ हजार एक सय २० मतमा खुम्चिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा आचार्यले १५ हजार ३ सय ६४ मत ल्याए भने पोखरेलले १४ हजार सात सय २३ मत ल्याएका थिए । विवेकशील साझाका थापाले भने यसअघिको निर्वाचनमा उपस्थिति जनाए पनि खासै लोकप्रिय मत प्राप्त गर्न सकेका थिएनन् ।

काठमाडौं महानगरपालिकाको वडा नं. २, ३, ४ र ५, टोखा नगरपालिकाको वडा नं. २ऽ ३, ४, ५, ६ र ७ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा फैलिएको यस क्षेत्रका कुल मतदाता ६४ हजार पाँच सय ५० छन् । जुन संख्या दोस्रो संविधानसभा निर्वाचनमा ५५ हजार तीन सय ७७ थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.