राजपाको घोषणापत्र सार्वजनिक : जनकपुरलाई विश्व हिन्दु केन्द्र बनाउने
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार महोत्तरीको जलेश्वरमा विशेष कार्यक्रम गरेर राजपाले घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा तराई मधेसलाई केन्द्रित गरेर राजपाले विभिन्न योजना सार्वजनिक गरेको छ। जहाँ निशुल्क शिक्षालाई विशेष प्राथमिकता दिएको छ। राजपाले आफ्ना प्रमुख १५ प्राथमिकतामा भने जनकपुरलाई विश्व हिन्दु केन्द्र बनाउने कुरालाई भने महत्वका साथ उल्लेख गरेको छ। ‘जनकपुरलाई अन्तराष्ट्रिय पर्यटन स्थल एवम् विश्व हिन्दु केन्द्र बनाइने छ’, घोषणापत्रमा भनिएको छ।
सँगै राजपाले तराईको बाढीपहिरोको स्थायी समाधान, हुलाकी मार्ग, रेलसेवा विस्तार, काठमाडौं–निजगढ द्रुतमार्ग र निजगढमा दोस्रो अन्तराष्ट्रिय विमानस्थलका योजनालाई प्राथमिकताका साथ राखेको छ।
घोषणापत्रमा वीरगञ्जलाई नेपालको आर्थिक कारोबार र व्यापारको केन्द्र, विराटनगर, भैरहवा र नेपालगञ्जलाई नेपालको आर्थिक विकासको मेरुदण्ड बनाउनेसँगै लुम्बिनीलाई अन्तराष्ट्रिय बुद्धिस्ट केन्द्र बनाउने उल्लेख गरिएको छ।
राजपाले अन्य दल भन्दा फरक ढंगले महिला मैत्री नीति तथा कार्यक्रम, किसान, गरिब, युवा मैत्री कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ। उसले वैदेशिक लागानी आकर्षण र निजी क्षेत्र प्रोत्साहनलाई विशेष जोड दिएको छ।
राजपाले दीर्घकालीन नीति तथा कार्यक्रममा भने कृषि, सिचाइृ, ऊर्जा, सडक तथा पूर्वाधार, उद्योग, व्यापार, सहकारी, पर्यटन, शिक्षा, स्वास्थ्य, वन, भूमि, श्रम, महिला बालबालिका एवम् वृद्धवृद्धा, युवा, खेलकु, सूचना, प्रविधि र सञ्चार नीतिलाई राखेको छ।