शान्तिपूर्वक मतदान गराउन सर्वदलीय बैठकको तयारी : दबाबमा थबाङी

 शान्तिपूर्वक मतदान गराउन सर्वदलीय बैठकको तयारी : दबाबमा थबाङी

लिबाङ : दोस्रो संविधानसभा निर्वाचनमा शून्य मतदान भएको थबाङमा यसपटक के होला भन्ने चासो बढेको छ । पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता भने दबाबमा देखिएका छन् । निर्वाचनविरोधी गतिविधि गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव' नेतृत्वको नेकपा शून्य मतदान गराउन लागिपरेको छ । निर्वाचन पक्षधर शक्ति जसरी भए पनि मतदान गर्न कस्सिएका छन् ।

नेकपाले मतदातालाई निर्वाचन प्रचार, मतदानमा भाग नलिन तथा निर्वाचन खारेजीमा सघाउन भन्दै मतदातालाई पत्राचार गरिरहेको छ । नेकपाको थबाङ गाउँ कमिटीले परिवारका मूली वा मतदातालाई सम्बोधन गरेर पत्र पठाएको स्थानीयवासी बताउँछन् । अटेर गरी मतदान गर्न गए त्यसपछि उत्पन्न हुने ‘खतरनाक परिस्थिति'को भागीदार आफैं हुनुपर्ने चेतावनीसमेत नेकपाले दिएको छ । नेकपाले यो निर्वाचनबाट संसदवादी शक्तिले भनेजस्तो शान्ति, समृद्धि र विकास स्थापित नहुने जिकिर गरेको छ ।

‘संसदीय निर्वाचनले अस्थिरता, परनिर्भरता, गरिबी र भ्रष्टाचारको अन्त्य हुँदैन, त्यसका लागि एकीकृत जनक्रान्ति आवश्यक छ भन्ने व्यहोराको पत्र थमाएका छन्', एक मतदाताले भने । नेकपाका नेताले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारीसमेत दिएका थिए । पार्टी नीतिविपरीत निर्वाचनमा भाग लिएको भन्दै उक्त पार्टीले स्थानीय नेता तथा कार्यकर्तालाई कारबाहीसमेत गरेको थियो । स्थानीय तह निर्वाचनपछि विप्लव आफैं थबाङ पुगेका थिए । यद्यपि, नेकपाले सबैको कारबाही फुकुवा गरिसकेको छ । विप्लव फर्किएदेखि स्थानीय नेता तथा कार्यकर्ताले निर्वाचनविरोधी गतिविधि गर्दै आएका छन् । उनीहरूले घरका भित्ता र सार्वजनिक स्थानमा ‘नो भोट' लेखेका छन् । माइकिङसमेत भइरहेको स्थानीय बताउँछन् ।

माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले भने निर्वाचनको पक्षमा अभियान चलाइसकेको छ । माओवादी नेता वर्षमान पुन निर्वाचन प्रचारका क्रममा तीन पटक थबाङ पुगिसकेका छन् । वाम गठबन्धनले चुनावी सभासमेत गरिसकेको छ । दुई हजार सात सय ७२ मतदाता रहेको थबाङ गाउँपालिकाका दुई वडामा नेकपा र माओवादी केन्द्रबीच प्रतिष्ठाको लडाइँ चलिरहेको छ । नेकपाले थबाङबाट निर्वाचन खारेजीको सन्देश दिन खोजेको देखिएको छ । गत फागुन १ गते काठमाडौं खुलामञ्चमा महाधिवेशन उद्घाटन गरी थबाङमा १० दिन बन्दसत्र चलेको थियो । यहींबाट पार्टीको नाम नेकपा बनेको थियो । एकीकृत जनक्रान्तिको कार्यदिशा पारित भएको थियो ।

निर्वाचनमा अप्रिय घटना हुन नदिन यहाँ सुरक्षा व्यवस्था चुस्त पारेको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेना, सशस्त्र, प्रहरी र म्यादी प्रहरी परिचालित भएका छन् । थबाङमा उच्च सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । ‘नेपाली सेना, सशस्त्र र प्रहरीको संयुक्त टोली थबाङमा परिचालित छ', रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।'

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले थबाङमा सुरक्षा व्यवस्था पर्याप्त रहेको दाबी गरे । निर्वाचन कर्मचारी टोली मंगलबार नै कडा सुरक्षासहित थबाङ पुगिसकेको उनको भनाइ छ । ‘मतदान प्रयोजनका लागि सबै सामग्रीसहित हामी थबाङमा सुरक्षित रूपमा पुगिसकेका छौं', साविक गाविस भवन मतदानस्थल अधिकृत गोपीराज बुढाले भने । शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न सर्वदलीय परामर्श बैठकको तयारी भइरहेको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.