नगर क्षेत्रमै पुगेनन् मतदाता शिक्षा स्वयम्सेवक

नगर क्षेत्रमै पुगेनन् मतदाता शिक्षा स्वयम्सेवक

भक्तपुर : भक्तपुर सदरमुकामबाट पाँच किलोमिटरभित्रै मतदाता शिक्षा स्वयम्सेवक पुगेका छैनन् । जिल्लाका नयाँ नगरपालिकाका अधिकांश क्षेत्रमा मतदाता शिक्षा स्वयम्सेवक नपुगेका हुन् ।

मतदाता शिक्षा स्वयम्सेवक नपुग्दा अधिकांश ज्येष्ठ नागरिक तथा महिलाहरुलाई मतपत्र र मतदानबारे अन्योल भएको छ । ज्येष्ठ नागरिकहरु तथा महिलाहरुले प्रतिनिधिसभा र प्रदेशसभाका कति वटा र कस्तो मतपत्र हुने भन्नेबारे जानकारी नै नभएको सुनाए ।

‘अहिलेको चुनावमा पनि सात वटा छाप लगाउने होइन र ?’, जिल्लाको चाँगुनारायण नपा ३ की ६१ वर्षीया मंगली थापाले प्रश्न गरिन्, ‘माला लगाएर आउने उम्मेदवारहरु पनि धेरै देखिन्छन् ।’

उनले आफूलाई अहिलेसम्म कसैले पनि मतपत्र र मतदान गर्ने प्रक्रियाबारे जानकारी नदिएको बताइन् । उनका अनुसार स्थानीय तहको निर्वाचनमा भने धेरै दिन अगाडि नै मतपत्र र मतदान गर्नेबारे शिक्षा दिन घरसम्म स्वयम्सेवकहरु आएका थिए ।

त्यस्तै चाँगुनारायण नपाकै वडा नं ५ का ६० वर्षीय शंखबहादुर थापाले पनि अहिलेको चुनावमा कति वटा मतपत्र हुन्छ भन्ने थाहा नभएको सुनाए । उनीकहाँ पनि मतदाता शिक्षा दिने कोही नआइपुगेको उनको भनाइ थियो ।
‘चिया पसलतिर चारवटा छाप हान्नुपर्छ भन्ने चाहिं सुनेको छु’, उनले भने, ‘प्रचारमा आउँदा धेरै नेताहरुले माला लगाएको देख्छु । पहिलेजस्तै सात छाप पो हान्नुपर्छ जस्तो देख्छु ।’

ज्येष्ठ नागरिकहरुमात्रै होइन गृहिणी महिलाहरुलाई पनि चुनावमा कति वटा मतपत्र हुन्छ भन्ने जानकारी छैन । महिलाहरुले पनि पहिलेजस्तै सातवटामा छाप लगाउनुपर्ने होइन र भन्ने उल्टै प्रश्न गर्छन् ।
अधिकांश महिलाहरुले अहिलेसम्म मतपत्र र मतदान गर्ने प्रक्रियाबारे जानकारी दिन कोही नआएको सुनाए ।

तर जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार जिल्लामा दुई सय नौ जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन भएका छन् । कार्यालयका प्रमुख उमेश राईले भक्तपुरमा एक हजार ६४ जना मतदाता बराबर एकजना मतदाता शिक्षा स्वयम्सेवक खटिएको जानकारी दिए ।

‘भक्तपुरमा कुल दुईसय नौ वटा मतदान केन्द्र छन्’, उनले भने, ‘सोहीअनुसार प्रत्येक मतदान केन्द्र एवं एक हजार ६४ जना मतदाता बराबर एकजना मतदाता शिक्षा स्वयम्सेवक खटाएका छौं ।’

उनका अनुसार मतदाता शिक्षा स्वयम्सेवक प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रयोग हुने तीनथरि नमुना मतपत्रसहित मतदाताको घरघरमा खटिन्छन् । यसरी घरघर पुग्ने बेला स्वयम्सेवकहरुले मतपत्रबारे जानकारी दिनुका साथै मतदान गर्ने तरिकाबारे सिकाउने अधिकृत राई बताउँछन् । उनका अनुसार यसरी खटिने स्वयम्सेवकहरुलाई कार्तिक १९ र २० गते तालिम दिइएको थियो ।

निर्वाचन अधिकृत राईका अनुसार मतदाता शिक्षा स्वयम्सेवक प्रत्येक मतदाताको घर अनिवार्य पुग्नैपर्छ । मतदाताको घर पुगेको प्रमाणस्वरुप स्वयम्सेवकहरुले घरधनीको हस्ताक्षरसमेत संकलन गर्नुपर्छ ।
तर कति ठाउँमा स्वयम्सेवक नपुगेको सन्दर्भमा भने निर्वाचन अधिकृत राईले स्वयम्सेवकहरु बिहान बेलुकामात्रै खटिने भएकाले पुग्दै हुनुपर्ने प्रतिक्रिया दिए।

नयाँ नगरपालिकाको क्षेत्र ठूलो भएकाले पनि स्वयम्सेवकहरु पुग्न ढिलाइ भएको हुनसक्ने उनले प्रस्ट पारे । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा कुल एक लाख ७८ हजार ९९ जना मतदाता रहेका छन् । जसमा महिला ९१ हजार ६ सय १४ र पुरुष ८६ हजार चार सय ८० तथा तेस्रो लिंगी पाँच जना रहेका छन् । त्यस्तै क्षेत्र नं १ मा ९४ हजार एकसय ६४ र क्षेत्र नं २ मा ८३ हजार नौसय ३१ जना मतदाता रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.