मधेसमा शीर्षस्थ नेताको घर आगाडी बम विस्फोट
बर्दिबास : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ। महोत्तरीस्थित भण्डारीको औरहीस्थित घरमा बम पड्काइएको हो। उनको निवासअगाडि आइतबार बिहान २ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए।
‘भण्डारीको घरअगाडीको रहेको उनको पोखरीको डिलमा सो विस्फोट भएको हो। बम बिस्पोटले कुनै क्षति भएको छैन' उनले भने। भण्डारी महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका उमेदवार छन्। हिजो साँझ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोको डेरा अगाडी जनकपुरमा बम बिष्फोट गराएको थियो। महतो धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उमेदवार हुन्। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी र महतोसंग चुनावी प्रतिस्पर्धाको माहौल तातिरहेको बेला बम विस्फोट भएको हो।
हिजो मात्रै पशुपंक्षी विकास राज्य मन्त्री एवं कांग्रेस क्षेत्र १ का उमेदवार शम्भुलाल श्रेष्ठको लालबन्दी नगरपालिका—१७ रानीगंजस्थित घरमा शनिबा प्रेसर कुकर बम विस्फोट गराइएकोे छ। घरको कम्पाउण्ड वाल बाहिरपट्टी राखेर बम विस्फोट गराइएको थियो। बम विस्फोट हुँदा मन्त्री श्रेष्ठ घरमै थिए। विस्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो।
विष्फोटले कम्पाउण्ड वालको सानो हिस्सा भत्किएको छ। विष्फोटबाट अन्य कुनै क्षति भएको छैन। दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिएपछि महोत्तरी, धनुषा, सर्लाही, रौत्तटमा अज्ञात समूहले योजनाबद्ध रुपमो बम विस्फोट गराएको छ। लागातार बम विस्फोट हुन थालेपछि चुनाव प्रचारप्रसारमा हिँडेका उमेदवार, नेता तथा कार्यकर्ताहरु आतंकित बनेका छन्। श्रृखलाबद्ध रुपमा आज्ञात समूहले बम बिस्फोट गराउन थालेपछी सुरक्षा चुनौती थपिएको छ। प्रहरीले सुरक्षा बलियो रहेको दावी गरेका छन्।