डाक्टरको डायरी

डाक्टरको डायरी

दिनांक १
बेलायतको व्यस्त जीवन। त्यसमाथि चिकित्सा पेशा। न त मेरो दैनिकी लेख्ने बानी छ, न त समय नै । तैपनि कान्छी छोरी द्रव्याले निकै माया गरेर गएको क्रिस्मसमा यो डायरी उपहार दिएकी थिइन्। बिहेपछि उसँग त्यति भेट हुन्न। फेरि हाम्रो पेशामा समय नै कहाँ हुन्छ र?

अस्ति भर्खर जापानको सम्मेलनमा उसले मलाई डायरीको बारेमा सोधिहाली। छिट्टै लेख्नथाल्छु भनेर कुरा टारिदिएँ। कति धेरै माया गर्छे ऊ मलाई! आजदेखि दुई हफ्ते छुट्टिमा नेपालतिर उड्दैछु। भ्याए सम्म लेख्ने विचार छ, हेरौं!

फ्लाइटमा निदाउन सके भोलि जेट–ल्यागले पनि त्यति नसताउला। आजलाई यति।


दिनांक ७
नेपाल आइपुगेको पनि एक हफ्तै भएछ! डायरीको कुरा के भयो, भयो। साथीभाइहरू भेट्दै र बद्लिँदो ठाँऊहरू नियाल्दैमा दिन गएको त पत्तो नहुने। टुरिष्ट नै भइएको छ आफ्नो ठाँऊमा।

भोलि कलेज जानु छ। जुनियरहरू त कोही बाँकि रहेनन् तर पुराना सरहरूसँग यसो भेटिन्छ। केहि नभए पनि क्याण्टिन–साहु भण्डारीबाजे कहाँ एक कप चिया पिउने मन छ। निकै जोश छ आजै देखि। धेरै पो भयो त त्यता पाइला नटेकेको। करीब १५ वर्षै भयो होला!

लाइब्रेरियन र ड्राइभर दाइहरूलाई अझै सम्झन्छु। अब त निकै बुढो पनि भए होलान्। छन् कि छैनन् बरू? एका रात के नचाहिने कुरा सोच्तैछु! लौ, भोलि सबेरै हिँड्नु छ। अब निद्रा पनि लाग्यो।


दिनांक ९
हिजो कलेज त गइयो तर के सोचेको थिएँ र के पाएँ! कसैलाई भेट्न पाइएन। कलेजमा ताला लागेको रहेछ।

क्याण्टिनबाजेको छाप्रो अन्यत्रै सरिसकेछ। सोधपुछ गर्दै जाँदा भेट्न त भेटियो तर अब साहुनी मात्र रहिछिन्। भण्डारी बाजेको हातबाट चिया पिउने अब रहरै मात्र भयो। क्यान्सर बिग्रिएर बुढा परार सालै बितेछन्।

फर्कँदा चाबहिल हुँदै मोहनको घर पसें। बुढीआमाले मान्छे चिन्नै छाडिसकेकी रहिछिन्। म त झन् वर्षौं पछि आएको, के चिन्थिन् र? मोहनसँग धित मर्ने गरी कुरा गर्न पाइएन। उसलाई अन्त पार्टी जानु रहेछ। भाउजू मोटरसाइकल पछाडि बसेर मुर्मुराइ रहेकी हुनाले उसले पनि केहि भन्न सकेन। तर हतारमै भए पनि मैले कलेजको बारेमा सोधिहालें।

“तिमी–हाम्रो बेला जस्तो कहाँ रह्यो र कलेज अब?“, मोहनले सुस्केरा मार्दै भन्यो।
“किन? के भयो?“, मलाई निकै अचम्म लाग्यो उसको कुरा सुनेर।
“पछि भनौंला। म भेट्छु नि भोलि, डाक्साप।“ यति भनेर उसले फटफटिया हुँइकाइहाल्यो।

कलेजका दिनमा मोहन निकै उत्साही युवाको रूपमा चिनिन्थ्यो। संसारै जित्ने जस्ता हुन्थे उसका कुराहरु। आज त निकै सुस्ताएको भान भयो। के भएछ कुन्नि? मलाई भेट्न आउला र? अहँ, मलाई विश्वास लाग्दैन।


दिनांक १०
डायरीको बानी बिस्तार बस्तै छ क्यार। बेलुकीको खाना पछि यसै पनि केहि लेखूँ–लेखूँ लागेर आउँछ। आजको विषय पनि त्यस्तै छ। लेख्न त करै लाग्यो।

रामविलास र जमुना लामो समय देखि हाम्रा असल छिमेकी हुन्। ठ्याक्कै कति भयो त हेक्का भएन तर घरको भित्ते फोटोमा आमाले बुहारी भित्राइरहनु हुँदा एक कुनामा रामविलास पनि प्रष्टै दिखिन्छन्।
आज रामविलास ठेक्कामा गएको बेलामा छोरो लाखनको खेल्दाखेल्दै छानाबाट खसेर खुट्टा भाँचिएछ। जमुना दैलामा रोइकराइ गर्दै थिइन्। रामविलासको मोबाइलमा लाग्दै लागेन र एम्बुलेन्स आधा घण्टामा पनि नआइपुग्दा मैले जमुनाको रुवाबासी हेरी रहन सकिनँ। दुवै आमा–छोरालाई गाडीमा राखेर अस्पताल दौडाइहालें।

ट्राफिक छिचोलेर अस्पताल पुगुञ्जेल लाखन बाबु निकै पींडामा कराइरहे थियो। मेरा सामान मसँग नभइदिएकाले म चाहेर पनि केहि गर्न नसक्ने अवस्थामा थिएँ। यो मेरो पेशागत् जीवनको शायद सबैभन्दा दुस्खद् दिन थियो।

हामी जसोतसो अस्पताल त पुग्यौं तर मैले हल्ला मात्र सुनेको डाक्टरहरूको हड्ताल त साँच्चै नै रहेछ। मूल ढोकादेखि बाहिरी सडकको किनारसम्म बिरामीहरूको लस्करै थियो। अर्र्काितर डाक्टरहरूको टोली र बीचमा एक हूल संचारकर्मीहरू। रमितेहरूको त बथानै थियो। कोही नारा–जुलुस गर्दै, कोही सेल्फी लिँदै। बिरामीहरू कोही वाल्ल–जिल्ल परेका त कोही ऐया–ऐया गरिरहेका। केहि समय त म स्तब्ध नै भएँ।

डाक्टरहरू त्यही उभिएका थिए र चाहेमा उनीहरूले भित्र गएर आ–आफ्ना औजार उठाउन पनि सक्थे। मेरा जस्तै उनीहरूको हात बाँधिएका थिएनन्। तर उनीहरूले त्यसो गर्न चाहेनन्। बेलायतमा जुनियर चिकित्सक हुँदा मैले पनि लगातार केही दिन काम रोकेको आँखामा झलझली आयो। त्यति बेला कैंयन लाखनबाबुहरूको चित्कार मेरा कानसम्म पनि पुग्न सकेको थिएन। आखिर आफ्नो धर्म र मन भित्रको ईश्वरलाई पनि सुनेको नसुन्यै गर्न विवश पार्ने त्यो कस्तो शक्ति थियो? आफैलाई पर्दा भने मैले बुझ्न सकिनँ।

डाक्टर हुनुमा मलाई पहिलो पल्ट ग्लानि भयो। छोरी द्रव्याले जीवनमा यस्तो कहिल्यै भोग्नु नपरोस् भन्ने मलाई लाग्यो। तर म एउटा मान्छे न हुँ! र मान्छेको सामथर््य सीमित मात्र हुन्छ।


दिनांक ११
आज रामविलास र म भएर लाखनको पूर्ण उपचार गराएरै छाड्यौं। हिजोको बन्दले आज बिरामीहरूको मेला लागेको थियो। लाखन त भाग्यमानी रहेछ, उसको पालो आजै आयो। बाँकी कुरूवाहरूको के गति भयो होला, सोच्न पनि सक्तिनँ।

फर्कदा बाटोमा उहि राजकर्णिकारको खाजाघरमा पस्यौं। स्वाद त अझै जस्ताको तस्तै रहेछ। मजा आयो। नजिकैको टेबलबाट एक जना अग्रज हामी भएतिर आएर टक्क अडिए। बिष्ट सर पो रहेछन्। कलेज छोड्नु भएको पनि निकै भइसकेछ। आज पनि उस्तै मायाले मेरो काँध सुमसुमाउँदै भन्नु भयो,
“तिमी बेलायतमा डाक्टर भएकोमा गर्व छ!“

यस अप्रत्याशित घटनाले केही दिनदेखि मेरो मनमा चस्स घोचिरहेको तिक्तता भने सजिलै बिर्साइदियो। जे होस् आज म ढुक्क भएर सुत्न सक्छु। भोलि कुनै नयाँ ठाउँ घुम्न जाउँला। शायद स्वयम्भू तिर? हेरौं!


दिनांक १२
आज स्वयम्भू गइएन। एकाबिहानै मोहन टुप्लुक्क देखा पर्यो। बोलेको पु¥याउने बानी उसको गएको रहेनछ। चियाको चुस्की लाउँदै कलेजका कुरा नसकुञ्जेल गर्यौं। भण्डारी बाजे बितेको उसलाई पनि थाहा रहेछ। पुराना फोटोहरू हेर्यौं, क्लासका केटीहरूको पनि कुरा भयो। दिन बितेको त पत्तै भएन।

खाजा खाने क्रममा मैले बिस्तारै मोहनसँग कलेजको अवस्था बारे कुरा कोट्याइहालें। केहि छिन गहिरिएर उसले सबै बेलिबिस्तार लगायो।
“अचेल विद्यार्थीहरू पढ्न भन्दा पनि राजनीति गर्न कलेज जान्छन्।“
मैले पनि कुरा काटिहालें, “हुन त राजनीति विद्यार्थीकाल देखि नै अभ्यास गर्नुपर्छ नि, हैन त?“

“हो, तर त्यसको उद्देश्य भनेको विद्यार्थीवर्गको हित हुनुपर्छ।“, ऊ आफ्नो विचारमा दृढ थियो।
“राजनैतिक दलहरूबाट सञ्चालित हुनु। नियमित पढाइमा बाधा अवरोध ल्याउनु। यो सबै विद्यार्थी साथीभाइहरूको भविष्यसँग खेलवाड भएन र? यो कस्तो राजनीति?“
उसका प्रश्नहरूको उत्तर हामी दुवैसँग थिएन।


दिनांक १३
आज कतै घुम्न जान मन लागेन। मोहनको कुराले मन खिन्न थियो। मोहन त गयो तर मेरो मनमा उसको कुरा खेलि नै रह्यो।

बिष्ट सरलाई पक्कै पनि यो सबै कुरा थाहा थियो। अस्ति रेस्टुराँमा भेट्दा मलाई किन भनेनन्, थाहा छैन। सायद मबाट उनलाई अब कलेज, समाज र देशको कुनै पनि समस्याको समाधानको आशा रहेन।

“बाबु, मेरो कुरा मान। आज तिमी विद्यार्थी चुनावमा उठेनौं भने भोलि गलत मान्छेहरूले ठाउँ पाउनेछन्। भोलि गएर जे पनि हुन सक्छ। ठाउँमा रहेर तिमीले धेरै सकारात्मक काम गर्न सक्छौ। राजनीति भनेर घृणा नगर। यो भाइरस हैन। तर यसलाई भाइरस बनाउनेहरू यहाँ धेरै छन्।“
कलेजमा छँदा बिष्ट सरले भन्नु भएको यो कुरा आज बल्ल बुझें। तर निकै ढिलो भइसकेछ।


दिनांक १४
लण्डन जाने मेरो जहाजले उडान भरिसकेको छ। बिदाको अन्तिम दिन आज दैनिकी नलेखी बस्नै सकिएन। छोरी द्रव्या, तिमीलाई धन्यवाद छ। म कसैसँग त मनको कुरा नलुकाई पोख्न सक्छु!

एउटा डाक्टरको लागि बिरामीलाई निको पार्ने काम नै धर्म हुनुपर्छ। एउटा विद्यार्थीको लागि शिक्षा हासिल गर्नु नै मूल धर्म हुनुपर्छ। तर ठूला भन्दा ठूला कामबाट पनि टाढिनुपर्ने बनाउँदा रहेछन् राजनैतिक परिस्थितिहरूले।
म चाहन्न द्रव्या र द्रव्या जस्ता मेरा असंख्य छोराछोरीहरूले यस्तो परिस्थितिको सामना गर्नु परोस्। म चाहन्छु बिष्ट सरबाट मैले कुनै समयमा बुझ्न नसकेको कुरा उनीहरूले भने बेलैमा बुझून्।

हो एउटा मान्छेको सामथ्र्यको सीमा हुन्छ। उसले धेरै काम गर्न सक्तैन। तर एउटा–एउटा व्यक्तिले सानो–सानो काम भने पक्कै गर्न सक्छ।

बेलायतमा मैले सयौं बिरामीहरूलाई निको तुल्याएँ होला। तर जोसँग मेरो जीवन जोडिएको छ, तिनका लागि मैले केही गर्न सकेको भए सायद बिष्ट सरले ममाथि गर्व गर्नुको पनि केही अर्थ हुने थियो। भण्डारी बाजे र लाखनबाबु जस्ता मेरा जीवनका लाखौं पानाहरूलाई च्यातेर फाल्ने हो भने, सायद म एउटा खोक्रो किताब मात्र हुन पुग्नेछु।

त्यसैले होला, मेरो जहाजले अहिले नेपाली आकाश छोडिसकेको छ तर म भने मेरो काठमाडौंको घरको कोठाभित्र यही डायरी लेखेर बसेको छु।

निकै लेखियो। डायरीमा लेखेको भावनाहरूबाट बाहिरिएर म भोलिदेखि केही गर्ने सुरमा छु। त्यसैले प्यारी छोरी द्रव्या, तिम्रो यस डायरी रूपी उपहारमा मेरो जीवनको सार थपेर म फेरि लण्डनको तिम्रै ठेगानामा फिर्ता पठाउँदै छु। यसमा तिमी पनि केही अवश्य लेख्नु। तिमीले नलेखेसम्म म तिमीलाई घच्घचाइ नै रहने छु। तिमीलाई माया गर्ने बाबा । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.