मतपेटिका

मतपेटिका

बागलुङ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सबै मतपेटिका सोमबार सदरमुकाम ल्याइएको छ। मतदाताले आफ्ना प्रतिनिधि चुन्न गरेको अमूल्य मत सुरक्षित रुपमा जिल्ला सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।

सदरमुकाम आसपासका मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका ल्याइएको थियो भने  जिल्लाको पश्चिम दक्षिणका दुर्गम स्थानका मतपेटिका सोमबार साँझसम्म सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए।

‘सबै ठाउँका मतपेटिका सुरक्षित रुपमा सदरमुकाम ल्याएर राखिएको छ,’ उनले भने, ‘दुर्गमका नगर/गाउँपालिकाको केन्द्रमा प्रहरी सुरक्षाका बिच राखिएका मतपेटिका पनि सदरमुकाम ल्याएर आयोग र निर्वाचनमा सम्वद्ध दल सहित चार वटा ताला लगाएका छौँ।’ लोकतन्त्रका लागि यो प्रवृत्ति राम्रो नभए पनि चुनावमा सबै दलको जित्ने आकांक्षा र आशंकाका कारण विश्वासका लागि उक्त विकल्प अपनाएको जिल्ला न्यायाधीश समेत रहेका पण्डितले बताए।

दलहरूका आआफ्ना ताला

मतगणना नहुँदासम्म मतपेटिका जिल्ला समन्वय समितिको भवनको बन्द कोठामा राखिने छ। बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ तथा प्रदेश १ र २ को मत पेटिकामा निर्वाचन आयोग, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले आ–आफ्ना ताला लगाएका छन्। यस क्षेत्रमा माओवादीको उम्मेदवार नभएकाले माओवादीको ताला छैन। प्रतिनिधिसभा क्षेत्र नम्बर २ र त्यस अन्तर्गतको प्रदेश १ र २ को मतपेटिकामा निर्वाचन आयोग, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको ४ वटा ताला लगाइएको छ। यस क्षेत्रमा प्रत्यक्ष उम्मेदवार नभएकाले एमालेको ताला छैन। 

मतपेटिकाको सुरक्षाका लागि एउटै ढोकामा चार वटा तालाका बिच मतपेटिका राखिने ठाउँमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले जानकारी दिए। त्यहाँ मतदान केन्द्र जस्तै तीन घेरामा सुरक्षाकर्मी खटाइने छ।

‘पहिलो घेरामा जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना हुन्छ’ प्रजिअ थापाले भने, ‘जनपथ र सशस्त्र तयारी अवस्थामा बस्छन् भने सेना गस्ती गर्दै घुमिरहनेछ।’

मतपेटिका राखिएको कोठा वरपर राजनीतिक दलका एक जना प्रतिनिधि पनि बस्नेछन्। चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणना सम्म विश्वसनीय वातावरण कायम गर्न मतपेटिका राखिएको कोठा बाहिर दल र उम्मेदवारका प्रतिनिधिलाई आलोपालो गरी हरेक समय खटाइने नेकपा एमालेका निर्वाचन बिभाग प्रमुख गोविन्द गौतमले जानकारी दिए।

मतपेटिका सबै सदरमुकाम आए पनि मतगणना भने मंसिर २१ गतेको दोस्रो चरणको मतदान पछि मात्रै शुरु हुनेछ। मतदान पछि सर्वदलीय सहमति अनुसार मतगणना शुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

‘मतगणना पनि विशेष सुरक्षा र संयमताका बिच शुरु गर्नेछौँ,’ मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘सिसी क्यामेराको जडान र उपयुक्त स्थानका लागि हामी छलफलमा छौँ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.