थबाङ र गामको मतपेटिका हेलिकप्टरबाट ल्याइयो
रोल्पा (लिबाङ) : सुरक्षा दृष्टिकोणले उच्च सम्वेदनशील मानिएको रोल्पा थबाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सोमबार बेलुका सदरमुकाम लिबाङ ल्याइएको छ। सडक पहुँचमा नरहेको बाहिरी र भित्री गामको मतपेटिका पनि हेलिकोप्टरबाट नै ल्याइएको छ।
उवाको मतपेटिका लिन गएको हेलिकोप्टर साँझ परेकाले बस्न सकेन। ‘विकट ठाउँ र सरक्षा दृष्टिकोणले संवेदनशील मानिएकाले थबाङ, उवा र गामको मतपेटिका हेलिकोप्टरबाट ल्याउने प्रबन्ध मिलाइएको हो’, मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले भन्छन्। उवाको मत पेटिका मंगलबार मात्र सदरमुकाम लिबाङ ल्याइने भएको छ। थबाङ, उवा, गामको मतपेटिका हेलिकप्टरबाट ल्याउने भएपछि निर्वाचन कर्मचारी गाडीबाट लिबाङ फर्किएका छन्।
मतदान सकिएपछि रोल्पा नगरपालिका भित्रका मतदान केन्द्रका मतपेटिका अबेर रातिसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो। सुवर्णावती गाउँपालिका केही मतपेटिका ल्याइएको छ। दुर्गम भेगका मतपेटिका सोमबार बिहानदेखि ढुवानीको चाजोपाँजो मिलाइएको थियो। दिनभरजसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भिडभाड रह्यो।
१६० मतदान केन्द्र मध्ये बेलुकासम्म करिब एक सय मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइसकिएको हो। उवा बाहेका मतपेटिका राति १२ बजेसम्म आइसक्ने गरी ढुवानीको व्यवस्था मिलाइएको छ। सेना, सशस्त्र र जनपद प्रहरीको सुरक्षा सहित मतपेटिका ल्याइएको हो।
संकलन भएका मतपेटिकालाई उच्च सुरक्षा सतर्कताका साथ राख्ने गरी व्यवस्थान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतपेटिका राखिएका परिसर वरपर चौविसै घण्टा सुरक्षा पहरा हुनेछ। मतपेटिका राखिएका कोठामा ताल्चा लगाउने, राजनीति दलले समेत आफ्नो अलग्गै ताला लगाउन मिल्ने गरी सुरक्षित राख्ने प्रबन्ध मिलाइएको छ।