हेलिकप्टरमार्फत ल्याइयो मतपेटिका
दार्चुला: दार्चुलाको दुर्गम दुई मतदान केन्द्रको मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ । विहान १० बजेभित्र नै हेलिकोप्टरले अपि हिमाल गाउँपालिकाको पाथा र छेत्ति मतदान केन्द्र र ब्यास गाउँपालिकाको दुम्लिङ केन्द्रको मतपेटिका ल्याउने तयारी गरेको भएपनि प्राविधिक समस्याका कारण उडान भर्न सकेको थिएन।
पटक-पटकको प्रयासपछि साँझ ४:४५ बजे अपि हिमाल गाउँपालिकाका दुई वटै केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको हो। हिँडेर आउन तीन चार दिन लाग्ने र बाटो अप्ठेरो भएका कारण हेलिकोप्टरबाट मतपेटिका सदरमुकाम खलंगा ल्याइएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए।
जिल्लाका अरु १ सय २५ मतदान केन्द्रको मतपेटिका भने सुरक्षित रुपमा स्थलमार्गबाट खलंगा ल्याइसकिएको छ । बाँकी अपि हिमाल गाउँपालिकाको सिति, झुस्कु र सितोला गरी तीन ओटा केन्द्रको मतपेटिका स्थलमार्गको प्रयोग गरी सदरमुकाम आउने क्रममा रहेको बताइएको छ। ब्यास गाउँपालिकाको दुम्लिङ केन्द्रमा भने सोमबार हेलिकोप्टरमार्फत ल्याउन नसकिएपछि मंगलबारमात्रै जिल्ला सदरमुकाम आइपुग्ने निर्वाचन अधिकृत नेपालले बताए।
उनका अनुसार सोमबार बेलुकीसम्म हेलिकोप्टरबाट ल्याइएका दुई केन्द्रसहित १ सय २५ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेको छ। बाँकी चार ओटा केन्द्रमध्ये तीन वटाको मतपेटिका सोमबार रातिसम्म खलंगा ल्याइसक्ने बताइएको छ। दुम्लिङ मतदान केन्द्रको मतपेटिका बढी उचाइ भएका कारण सोमबार हेलिकोप्टरले उडान भर्न नसक्ने देखिएपछि ठूलो आकारको हेलिकोप्टर प्रयोग गरेर मंगलबार ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सदरमुकाम पुगेका मतपेटिकाहरुलाई जिल्ला प्रशासन नजिकै रहेको कर्मचारी आवास भवनमा राखिएको छ । उक्त ठाउँमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिने र आवश्यक परेमा राजनीतिक दलहरुका एक-एक जना प्रतिनिधिहरु मतपेटिका स्थलमा बस्न सक्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत नेपालले बताए। दार्चुला जिल्लामा रहेका ७८ हजार ५ सय ३१ मतदाताहरुमध्ये ५४ हजार ४ सय १४ ले मतदान गरेका छन्। दार्चुलामा ६९ दशमलव ३० प्रतिशत मतदान भएको छ।