अधिकारी र पोखरेलको प्रतिबद्धता : एकमना सरकारका लागि बहुमत
चितवन : प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा रहेको छ । लोकतान्त्रिकतर्फ उम्मेदवार पुराना राजनीतिकर्मी र हालका शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र वाम गठबन्धनका तर्फबाट एमाले नेता एवं पूर्वसांसद कृष्णभक्त पोखरेल रहेभएका छन् ।
पटक-पटक गरी ८ वर्षको जेलजीवन भोगेका अधिकारी तत्कालीन २०७० सालको संविधानसभाका चुनावमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । वर्र्तमान सरकारका शिक्षा राज्यमन्त्री रहेका अधिकारीले शिक्षा क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् ।
वाम गठबन्धनका उम्मेदवार एमाले चितवन जिल्ला अध्यक्ष एवं पूर्वसांसद पोखरेल ०७० सालको चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन् । नयाँ संविधान निर्माणमा संविधान मस्यौदा समितिमा बसेर पोखरेलले महत्वपूर्ण भूमिका खेलेका थिए ।
कांग्रेसका अधिकारीका प्रमुख प्राथमिकताबारे अन्नपूर्णसँगको कुराकानीमा चितवनलाई वित्तीय राजधानी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । भरतपुर महानगरपालिका-४ लंकुमा उनले आफ्नो चुनावी प्रचारबीच अन्नपूर्णसँग भने, ‘चितवन अन्तर्राष्ट्रिय औद्योगिक क्षेत्र बनाउने मेरो प्रतिबद्धता म पुनः गर्दछु । चितवन वित्तीय राजधानी बनाउनेछु ।’ नारायणगढको बस्ती नहटाई वैकल्पिक सडक विस्तार गर्ने आफ्नो एजेन्डा रहेको दाबी उनले गरे ।
नारायणगढ बजार व्यवस्थापन, नदीको उचित व्यवस्थापन, आकाशे पुलका साथै औद्योगिक वातावरण निर्माण गरी समृद्ध चितवन बनाउने अधिकारीको एजेन्डा छ । भरतपुर अस्पताललाई मेडिकल कलेज, वीरेन्द्र क्याम्पसलाई प्रादेशिक विश्वविद्यालयमा परिणत, उपरदाङ गढी र इच्छाकामना मन्दिरलाई जोड्न केबलकार सञ्चालनको व्यवस्था, देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य बनाइने जानकारी उनले दिए ।
एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका पोखरेलले भरतपुर बजारबाट करिब ७ किलोमिटर पर रहेको लंकालाइन टोलमा चुनावी प्रचार अभियानकाबीच अन्नपूर्णसँग कुराकानीमा चितवनलाई दोस्रो पर्यटकीय गन्तव्य बनाउने बताए।
नारायणी नदीमा र्याफ्टिङको विकास गरेर धेरै पर्यटक भित्याउने, नारायणी नदीको उचित र सही तरिकाले व्यवस्थापन, पहाडी क्षेत्रका मार्गको स्तरोन्नति गर्ने, नारायणी पुललाई भार नपर्ने गरी अन्य ठाउँमा पुल निर्माण गर्नेलगायत कार्यक्रम रहेको जानकारी पोखरेलले दिए।
स्थानीय चुनावको मत
क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१९ मतदाता छन् । यहाँ ४३ वटा मतदानस्थल तोकिएको छ । कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएका छन् । कालिका नगरपालिकामा वामको ९ हजार ९७६ र लोकतान्त्रिकको मत ७ हजार ८३ छ । भरतपुर महानगरपालिकाको १० वटा वडामा वाम गठबन्धनको २३ हजार २१८ र लोकतान्त्रिक गठबन्धनको मत १६ हजार १६५ छ।
एमालेले २७ हजार ६३८ र माओवादीले ११ हजार ६०४ मत ल्याएको थियो । यसैगरी, कांग्रेसले २४ हजार ७५५ र राप्रपाले एक हजार ७५४ मत प्राप्त गरेका थिए ।
दुवैको जित्ने दाबी
कांग्रेसका स्थानीय तहको चुनावमा हेरेर मात्र अहिलेको चुनाव आकलन गर्न नमिल्ने अधिकारीले बताए । कांग्रेसले क्षेत्र नम्बर २ मा आफू निकै बलियो रहेको बताउँदै जित सुनिश्चित भएको दाबी गरेको छ । वाम गठबन्धनले सोचेको भन्दा उल्टो नतिजा देखाउने दाबी अधिकारीले गरे । वाम गठबन्धनका पोखरेलले स्थानीय चुनावलाई हेर्दा आफ्नो जित्ने आधार बलियो रहेको बताए । उनले भने, ‘वाम गठबन्धनले एजेन्डा र देशलाई कम्युनिस्टको बहुमतको बलियो सरकार आवश्यक पर्ने भएकाले वामकै जित हुन्छ ।’
कांग्रेस चितवन क्षेत्र नं. २ प्रदेशसभाका सांसद उम्मेदवार प्रकाश अधिकारीले हिन्दुको पहिचान गर्न आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने, ‘यो देशलाई अन्तर्राष्ट्रि«य जगत र आमनेपाली युवा पुस्ताबीच चिनाउन पनि हिन्दु राष्ट्रमा मुलुक जानुको विकल्प छैन । त्यो कार्य नेपाली कांग्रेसको आगामी बहुमत सरकारले मात्र गर्न सक्छ ।’
तपार्इंको उद्देश्य कतै राजतन्त्र फर्काउने त होइन भन्ने प्रश्नमा नेपाल प्राध्यापक संघका पूर्वमहासचिवसमेत रहेका अधिकारीले गएको राजतन्त्र आउँदैन, बलजफ्ती फालेको हिन्दु धर्म पुनर्बहाली गरिछाड्ने प्रतिज्ञा उनले गरे ।
प्रदेश नं. २ (ख) वाम गठबन्धनका प्रदेश सांसद घनश्याम दाहालले भरतपुर बजारबाट करिब ७ किलोमिटर पर रहेको लंकालाइन टोलमा मत माग्ने क्रममा अन्नपूर्णसँगको कुराकानीमा आमजनतालाई आर्थिक समृद्धि र जनताको जीवनस्तर उठाउन प्रदेशसभाको निर्णायक भूमिकाका लागि आफूले उम्मेदवारी दिएको बताए ।
माओवादी केन्द्रमा आजीवन रहेका दाहालले वामपन्थी गठबन्धनले बहुमत ल्याउने र मुलुकलाई स्थिर सरकार दिँदै आमजनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।कांग्रेस र एमालेका उम्मेदवारहरू पार्टी कार्यकर्ता, स्थानीय समाजसेवीका साथ सर्वसाधारण जनताबीच अत्यन्त शालीन ढंगमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म घरदैलो कार्यक्रममा जुटेका छन् ।