‘स्वार्थका लागि भोट माग्छन्'

‘स्वार्थका लागि भोट माग्छन्'

भक्तपुर: जिब्रो छेड्ने जात्रा प्राचीन, ऐतिहासिक एवं सांस्कृतिक सहर बोडेको पर्याय हो । आठौं पटक जिब्रो छेडिसकेका युवा जुजुभाइ बास श्रेष्ठ यो जात्राका मुख्य पात्र हुन् । प्रजातन्त्र पुनस्र्थापनाको २८ वर्ष भइसक्दा देशमा धेरै पटक निर्वाचन भए, बोडेमा पनि दर्जनौं उम्मेदवारले मत मागे ।

३६ वर्षीय जुजुभाइचाहिँ उम्मेदवारले मत माग्दा बोडेका लागि उठाउनुपर्ने मूल विषय जिब्रो छेड्नेलगायत जात्रापर्व नै बिर्सिने गरेको गुनासो गर्छन् । उनी भन्छन्, ‘बोडेका जात्रापर्वको संरक्षण, संवद्र्धन र प्रवद्र्धन उम्मेदवारले मूल एजेन्डा बनाउनुपर्ने हो । तर स्वार्थ राखेर भोट माग्न आउँछन्, जान्छन् ।'
भक्तपुरको मध्यपुर थिमी नगरपालिका ८ स्थित (यसअघि वडा नम्बर १) बोडेका बासिन्दामा जात्रापर्वमा रस छ, रौनक छ ।

संस्कृति बचाउन सबथोक बिर्सन्छन्, रातदिन खट्छन् । जुजुभाइले भने, ‘जिब्रो छेड्ने बेला सबैको हाई हाई भइन्छ, जात्रापर्व जोगाउन गर्नैपर्छ भन्ने लाग्छ । तर जात्रा सकिएको भोलिपल्टदेखि न नेताले चिन्छन् न नगरपालिकाले ।' जिब्रो छेड्ने जात्रामा ८५ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने भए पनि नगरपालिका र जिल्ला विकास समितिले क्रमशः ४४ हजार र २० हजार रुपैयाँ मात्र दिने गरेका छन् । उनले थपे, ‘जिब्रो छेड्ने जात्रा विश्वमै पृथक भएकाले आकर्षणको केन्द्र बनेको छ । तर यहाँका स्थानीय नेताकै नजरमा यो परेको छैन कि ? दलका घोषणापत्रमा लेखिएका होलान् । तर घरदैलोमा आउँदा र जितेपछि कहीँ कतै एजेन्डामा परेको जस्तो लाग्दैन ।'

बोडे जिब्रो छेड्ने जात्रामात्र होइन, नीलबाराही नाच र सात खटको जात्राले संस्कृतिमा धनी छ । जात्रापर्वले धनी भए पनि सञ्चालन खर्चिलो छ । जात्रापर्व चलाउने गुठीलाई जहिल्यै बजेट जुटाउन समस्या परिरहेको हुन्छ भने कहिलेकाहीँ जात्रामा जिब्रो छेड्ने र नाचमा अभिनय गर्ने कलाकारको खाँचो हुन्छ । बोडेवासी संस्कृति धान्नकै लागि बजेट अभावमा पनि जात्रा गर्न लागिपरेको जानकारी दिँदै स्थानीय अगुवा सूर्यमान माक बोडेको पहिचानका लागि उम्मेदवारले यिनै विषय उठाउनुपर्ने र जितेपछि सहज व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन् ।

बोडेका मतदाता निर्वाचनमा भोट कसलाई हाल्ने भन्नेमा सचेत रहेको उनको भनाइ छ । किराना पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय उनले भने, ‘बोडेका बासिन्दा मत कहाँ खसाल्ने स्पष्ट छन्, यहाँ दोधारे मतदाता भेट्नै कठिन छ ।' उम्मेदवार र विजेता पनि बोडेको संस्कृति संरक्षण र समग्र विकासबारे मतदाताजस्तै स्पष्ट हुन आवश्यक रहेको उनी बताउँछन् ।

५४ वर्षीय दुर्गालाल था भन्छन्, ‘नेपालसँगै प्रजातन्त्र आएका चीन, भारत र त्यसपछि अघि बढेका धेरै देशमा कति विकास भएको छ, यहाँका नेताले ठाउँविशेषको पहिचान जोगाउने कामसम्म पनि गरेका छैनन् ।' ५० वर्षीय रामकृष्ण धेकेचाहिँ जित्नेले किसानलाई राहत हुने आर्थिक विकास गरिदिए बोडेवासी समृद्ध हुन्छन् र संस्कृति पनि जोगिन्छ भन्छन् ।

समाजसेवी केदार खड्का बोडेमा मत माग्न आउने सबै उम्मेदवारको एजेन्डा संस्कृति संरक्षण र संवद्र्धन हुनुपर्ने बताउँछन् । उनले भने, ‘बोडे प्राचीन बस्ती भएको र छुट्टै विशेषता बोकेको सांस्कृतिक सहर हो । बोडेलाई देशभरमात्र होइन विश्वभर चिनाउन सकिने एजेन्डा नेताले ल्याउनुपर्छ ।' संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बोडेलाई सांस्कृतिक केन्द्र बनाउनुपर्नेमा जोड दिन्छन् ।

‘यहाँको संस्कृति, सम्पदा संरक्षण र प्रवद्र्धन गर्न नसके बोडेको अस्तित्व रहन्छ ? ', आधुनिक समयमा वैज्ञानिक चमत्कार नकार्न नमिल्ने बताउँदै उनले भने, ‘संस्कृतिमा पनि विज्ञान छ । नेताले आफ्नोपन बिर्सेर देश कसरी जोगाउन सक्छन् ? कसरी विश्वभर चिनाउन सक्छन् ? '


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.