बीभत्स दृश्य देखाएर मतदाता फकाउँदै फोरम
सिरहा: चुनाव जित्न पैसा बाँडेको र विकासका सपना बाँडेर मतदाता फकाउने प्रयास गरेको जताततै सुन्न पाइन्छ। तर सिरहामा फोरमका उम्मेदवार मधेस आन्दोलनमा मारिएकाको बीभत्स दृश्य देखाएर मत मागिरहेका छन्।
सिरहा ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार फोरम नेता अशेश्वर यादव र सोही पार्टीका प्रदेशसभा ३ ‘ख' का फोरम उम्मेदवार मनोरञ्जन गोइत मतदातासँग मधेश आन्दोलनको ‘सेन्टिमेन्ट' मा मतदाता आकर्षित गर्न त्यस्ता दृश्य देखाएर भोट मागिरहेका छन्। उनीहरू घरदैलो गर्दा पनि त्यस्ता बीभत्स दृश्य अगाडि राखेर हिँड्छन्।
अहिले दक्षिणवर्ती हरेक गाउँमा यस्ता दृश्य छ्यापछ्याप्ती राखेका ठूल्ठूला तुुल ब्यानर देख्न सकिन्छ । तत्कालीन मधेसी जनअधिकार फोरमले ०६४ को संविधानसभामा मधेस आन्दोलनलाई मधेसमा मतदातालाई प्र्रभाव पार्न सफल भएको थियो।
प्रतिनिधिसभाका उम्मेदवार यादव राप्रपाबाट फोरममा प्रवेश गरेर उम्मेदवार बनेका हुन्। उनी ०७० को संविधानसभामा राप्रपाबाट चुनाव लडेका थिए। तर अहिले मधेस आन्दोलनका बीभत्स दृश्यबाट मतदाताको ध्यानाकर्षण गराएर मधेसीको मत तान्ने हतकन्डा अपनाएका छन्। भन्छन्, ‘गोली हान्नेलाई मतदान गर्नु हुँदैन भनेर सहिदहरूको तस्बिर ब्यानरमा राखेका हौं।'
बीभत्स दृश्य राख्न मिल्छ कि मिल्दैन भन्नेमा आचारसंहिता पनि मौन छ । अनुगमन अधिकारी नै अनविज्ञ छन् । आचारसंहिता अनुगमन अधिकृत शंकरलाल कर्णले बीभत्स दृश्य प्रचार ब्यानरमा राख्न मिल्ने÷नमिल्ने कुरा हेरेर भन्ने बताए । उनले थपे, ‘बीभत्स दृश्यहरू राख्न त मिल्दैन होला । म आचारसंहिताको पुस्तक हेर्छु । यदि मिल्दैन भने त्यस्ता ब्यानरहरूमा रोक लगाउँछौं । गाउँघरमा राखेका ब्यानरहरू हटाउँछौं।'
मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले मधेस आन्दोलनलाई सम्झना दिलाउन सहिदहरूको बीभत्स दृश्य राखेको हुन सक्ने बताए। उनले भने, ‘बीभत्स दृश्यहरू प्रसार ब्यानरमा राख्न मिल्ने वा नमिल्ने कुरा आचारसंहितामा कतै उल्लेख छैन । तर म यसबारे बुुझ्छुु ।' उनले दृश्यहरू के सन्देश दिन खोजेको हो भन्ने कुरा हेर्न लगाउँछु, यदि नकारात्मक सन्देश दिन खोजेको हो भने हटाउन लगाउने बताए।
फोरमका अन्य क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभाका कुनै पनि उम्मेदवारले मधेस आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको बीभत्स दृश्य प्रचार सामग्रीमा राखेका छैनन् । क्षेत्र नम्बर ३ कै प्रदेशसभा ‘क' का उम्मेदवार मनोजकुमार सिंहले भने त्यस्तो बीभत्स दृश्य प्रसार सामग्रीमा राखेका छैनौं । दक्षिण क्षेत्र मधेसीको बाहुल्य रहेकोले मधेस आन्दोलनको बीभत्स दृश्य देखाएर भोट तान्ने हतकन्डा अपनाएका छन् । तर उत्तरी क्षेत्र पहाडी समुुदायको प्रभाव क्षेत्र भएकाले यस क्षेत्रका उम्मेदवारले आफ्नो प्रचार सामग्रीमा त्यस्ता दृश्य प्रयोग गरेका छैनन् ।