एसियाली छनोटमा नेपाल तेस्रो
काठमाडौं : थाइल्यान्डमा सम्पन्न आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा नेपालले तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालले हङकङलाई ३६ रनले हरायो ।
राउन्ड रोबिनमा शीर्ष दुईमा नपरेपछि विश्वस्तरको छनोटमा पुग्ने नेपालको सपना अधुरै रहेको थियो । राउन्ड रोबिनमा नेपाल तेस्रो र हङकङ चौथो स्थानमा थिए । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९४ रन जोडेको थियो ।
नेपालको पालीमा पूर्वकप्तान नेरी थापाले सर्वाधिक ३८ रन जोडिन् । अविजित रहँदै रुविना क्षेत्रीले १५ र करुणा भण्डारीले १४ रन बनाए । काजल श्रेष्ठले १२, ज्योति पाण्डे र रीतु कनौजियाले दुईदुई तथा सीता रानामगरले तीन रन जोडे । हङकङ १९.५ ओभरमा ५८ रनमा समेटियो । हङकङलाई सस्तोमा समेट्न करुणाले तीन तथा शवनम राई, सीता रानामगर, नेरी थापा र रीतु कनौजियाले एक एक विकेट लिए ।
नेरी प्लेयर अफ दी म्याच घोषित भइन् । राउन्ड रोबिनमा सुरुका दुई खेल वर्षाका कारण रद्द भएपछि थाइल्यान्ड र हङकङसँग अंक बाँडेको नेपालले यूएईसँग पाँच रनको हार व्यहोरेपछि छनोट सम्भावना कमजोर बनेको थियो । राउन्ड रोबिनका अन्य खेलमा नेपालले मलेसिया र चीनलाई भने हराएको थियो । यस प्रतियोगिताबाट थाइल्यान्ड र यूएई विश्वस्तरको छनोटमा पुगेका छन् । यूएईले पहिलो पटक महिला क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो ।
थाइल्यान्ड लगातार च्याम्पियन
प्रतियोगिताको उपाधि लगातार तेस्रो पटक थाइल्यान्डले जितेको छ । सोमबार भएको फाइनलमा थाइल्यान्डले यूएईलाई २२ रनले हरायो । पहिला ब्याटिङ गरेको थाइल्यान्डले ७८ रन जोडेको थियो । यूएईले भने निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ५६ रनमात्र जोड्न सक्यो । थाइल्यान्डले यसअघि आयोजित सबै दुई संस्करणको उपाधि जितेको थियो । दुवै पटक फाइनलमा चीनलाई हराएको थियो ।