भत्किएला भक्तपुरमा नेमकिपाको पहाड ?, यस्तो छ अंकगणित

भत्किएला भक्तपुरमा नेमकिपाको पहाड ?,  यस्तो छ अंकगणित

भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नं १ मा वाम तथा लोकतान्त्रिक गठबन्धनलाई नेपाल मजदुर किसान पार्टी टाउको दुखाइ बन्दै आएको छ । नेमकिपाले यस क्षेत्रमा २०४८ सालदेखि जित दर्ता गर्दै आएको छ ।

क्षेत्र निर्धारण आयोगले नेमकिपालाई झन् सहज हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरेपछि नेमकिपालाई पराजित गर्न वाम तथा लोकतान्त्रिक गठबन्धनलाई फलामको च्युरा चपाउनुसरह भएको छ । नेमकिपाको किल्ला भत्काउन वाम र लोकतान्त्रिक दुवै गठबन्धन जीउज्यानले लागिपरेका छन् ।

‘नेमकिपाले विकास गरेन’

क्षेत्र नं १ मा मात्रै होइन सिंगो भक्तपुरमै नेमकिपाले विकास निर्माण नगरेको आरोप लाग्ने गरेको छ । यो आरोप निर्वाचनताका अझ बढी चर्चामा आउँछ । निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत सबै दलको नेमकिपाविरुद्ध भक्तपुरको विकास नगरेको, संसद्मा जितेर भक्तपुरको विकासका ठूल्ठूला योजना नल्याएको आरोप लगाउने गरेका छन् । नेमकिपा आफू सरकारमा नजाने तर सरकारमा जाने दलको विरोध र आलोचना मात्र गर्ने आरोप पनि नेमकिपामाथि लाग्दै आएको छ।

भक्तपुर निर्वाचन क्षेत्र १ मा लोकतान्त्रिक तथा वाम गठबन्धनका उम्मेदवारको मुख्य चुनावी नारा पनि नेमकिपाले विकास गरेन हामी गर्छौं भन्ने नै हो । भक्तपुर नगरलाई मात्र हेर्‍यो, साविकका गाविस र हालको चाँगुनारायण नगरपालिकाका बासिन्दाको जीवनस्तर उकास्न केही नगरेको आरोप नेमकिपामाथि अरू दलले लगाएका छन् ।

‘यस क्षेत्रको विकासमा यहाँबाट निरन्तर जित्दै आएका प्रतिनिधिले कुनै भूमिका निर्वाह गरेनन्’, कांग्रेस उम्मेदवार बाबुराजा जोशीले भने, ‘त्यसै कारण यसपटक कांग्रेसले चुनाव जित्दै छ ।’ उनले यस क्षेत्रको समग्र विकास आफ्नो प्रतिबद्धता भएको सुनाए ।

‘पूरै क्षेत्र सडक सञ्जालले जोड्ने, विकास निर्माणमार्फत व्यवस्थित नगर र उपनगर बनाउने, भक्तपुर–नगरकोट–चाँगुनारायणको पर्यटक सर्किट निर्माण, सम्पदा संरक्षण, घरेलु उद्योगको विकास, प्राविधिक शिक्षा र व्यावसायिक तालिम दिएर युवालाई स्वरोजगार बन्न सुलभ ऋण उपलब्ध गराउने नीति निर्माण मेरो प्रतिबद्धता हो’, जोशीले थपे, ‘कृषि र भूमिसूधारमार्फत किसानको जीवनस्तर सुधार्न र पर्यटन एवं सांस्कृतिक क्षेत्रको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ ।’

वाम गठबन्धनका उम्मेदवार मिलन सुवालले पनि भक्तपुरलाई सिंहदरबारसँग सीधा सम्पर्क गराउने आफूहरूको प्रतिबद्धता रहेको सुनाए । ‘भक्तपुर राजधानीसँगै रहेर पनि विकासमा कर्णाली बन्दै आएको छ । यसको जिम्मेवार यहाँ कब्जा जमाउँदै आएको नेमकिपा हो’, उनले भने, ‘अब भक्तपुरलाई सिंहदरबारसँग जोडेर विकास निर्माण तीव्र बनाउन गठबन्धनको जित आवश्यक छ ।’

उनले आफ्नो क्षेत्रका लागि छुट्टै प्रतिबद्धतापत्र ननिकाले पनि यहाँको समग्र विकास नै आफ्नो प्रमुख चुनावी मुद्दा भएको बताए । उनले भक्तपुर र भक्तपुरवासी नेमकिपापीडित भएकाले त्यो उत्पीडनबाट यसपटक मुक्त हुने ठोकुवा गरे ।

नेमकिपाका उम्मेदवार प्रेम सुवालले क्षेत्र नं १ मा जित्दै आएका पार्टी अध्यक्ष बिजुक्छेको सांसद कोष तथा निर्वाचन क्षेत्र विकास कार्यक्रमको सम्पूर्ण बजेट चाँगुनारायण नगरपालिकाका जनताको माग र आवश्यकताअनुसार खर्च गरेको दाबी गर्दै नेमकिपाले विकास गरेन भन्नु झुट भएको बताए ।
भक्तपुरमा नेमकिपाले इमानदारीपूर्वक गरेको जति विकास निर्माण सरकारमा जाने कांग्रेस, एमाले र माओवादी केन्द्रले गरेको भए यतिन्जेल देशको धेरै ठाउँ विकसित भइसक्नुपर्ने उनको भनाइ थियो ।

‘देशमा प्रजातन्त्र आएपछि कांग्रेसले १०, एमालेले चार र माओवादी केन्द्रले तीन पटक देशको नेतृत्व गरिसके । खोइ त उनीहरूले कहाँ देश विकास गरे ? ’, उम्मेदवार सुवालले प्रश्न गरे । उनले सैद्धान्तिक र वर्ग संघर्ष हुने निर्वाचनमा विकासको नाउँमा जनतामा क्षेत्रीयता र जातीयताको विभाजन ल्याउनु अराजनीतिक काम भएको आरोप लगाए ।

यस्तो छ अंकगणित

राजनीतिक विश्लेषकहरूका अनुसार वाम र लोकतान्त्रिक गठबन्धनलाई यहाँ नेमकिपाको किल्ला भत्काउन सहज छैन । गत स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकामा नेमकिपाका मेयरले २५ हजार मत पाउँदा दोस्रो भएको कांग्रेसले ६ हजार, तेस्रो भएको एमालेको चार हजार, चौथो भएको माओवादीले दुई हजारभन्दा बढी मत पाएका थिए । यस आधारमा वाम र लोकतान्त्रिक गठबन्धनको मत बराबर भए पनि नेमकिपा निकै अगाडि देखिन्छ ।

पूरै भक्तपुर नगरपालिका अहिले निर्वाचन क्षेत्र नं १ मा परेको छ । नेमकिपा पनि आफ्नो किल्ला नभत्किनेमा निश्चिन्त छ । क्षेत्र नं १ मै परेको सिंगो चाँगुनारायण नगरपालिकामा स्थानीय तह निर्वाचनमा नेमकिपा चौथोमा सीमित भएको थियो । पहिलो बनेको एमालेका मेयरले आठ हजार मत ल्याएका थिए । दोस्रो भएको कांग्रेसले ६ हजार र तेस्रो राप्रपाले पाँच हजार मत ल्याए । चौथो भएको नेमकिपाका मेयरका उम्मेदवारले चार हजार मात्रै मत पाए भने अहिले वाम गठबन्धनमा सामेल माओवादी केन्द्रले सात सय मतमै चित्त बुझाउनुपरेको थियो ।

यस आधारमा यहाँ लोकतान्त्रिक भन्दा वाम गठबन्धन कमजोर देखिन्छ । लोकतान्त्रिकको ११ हजार मत देखिन्छ भने वामको नौ हजार हाराहारी । यहाँ नेमकिपाबाहेक अन्य दलले पाएको कुल मत १९ हजार हुन आउँछ । चाँगुनारायण र भक्तपुर नगरपालिकाको मत जोड्दा वाम र लोकतान्त्रिक गठबन्धनको मत करिब ३१ हजार हुन आउँछ । नेमकिपाको भने २९ हजारमात्रै पुगे पनि वाम र लोकतान्त्रिक गठबन्धन छुट्टाछुट्टै भएकाले नेमकिपा सहज जित हासिल गर्नेमा ढुक्क देखिन्छ ।

नेमकिपाको ‘पपुलर’ मतमा आँखा

भक्तपुर क्षेत्र नं १ मा २०४८ देखि २०७० सम्म पाँच पटक नेमकिपा अध्यक्ष बिजुक्छेले जित्दै आएका थिए । तर यसपटक उनले उम्मेदवारी नदिएकाले नेमकिपालाई जाने गरेको ‘पपुलर’ मत आफूतिर तान्ने दाउमा वाम र लोकतान्त्रिक गठबन्धन छन् ।

बिजुक्छेले उम्मेदवारी नदिएकाले हिजो नेमकिपाले पाएको मत अहिलेका उम्मेदवार सुवालले नपाउने लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार जोशी दाबी गर्छन् । वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार सुवालको पनि त्यही विश्वास छ । ‘नारायणमान बिजुक्छेले ल्याएबराबर मत प्रेमले ल्याउन सक्दैनन्’, जोशी र सुवालको एउटै भनाइ थियो ।

हाम्रो यताउता हुँदैन : नेमकिपा

तर नेमकिपाका उम्मेदवार प्रेम भने मत यताउता नहुने ठोकुवा गर्छन् । ‘हाम्रो मत सैद्धान्तिक हो, यताउता हुँदैन । बरु बढ्छ’, उनले भने, ‘देश र जनताको पक्षमा हामीले गरेको निःस्वार्थ सेवाको मूल्यांकन जनताले मतबाट व्यक्त गर्ने निश्चित छ ।’

३० हजार मत ल्याएर जित्छौं : कांग्रेस गठबन्धन

तर लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जोशी एक्लैले ३० हजार मत ल्याएर यसपटक नेमकिपाको किल्ला भत्काउने दाबी गरेका छन् । उनले चाँगुनारायण नगरपालिकाको कुल मतको ७० देखि ७५ प्रतिशत अर्थात् २० हजार मत आफूले पाउने ठोकुवा गरे । ‘हामीले चाँगुनारायणबाट मात्रै २० हजार मत ल्याउँछौं’, उनले भने, ‘भक्तपुर नपाबाट १० हजार मात्रै आए पुग्छ । तर हामी त्योभन्दा बढी ल्याउँछौं ।’

हामी भत्काउँछौं : वाम

वाम गठबन्धनका उम्मेदवार मिलनले पनि यसपटक नेमकिपालाई हराएरै छाड्ने दाबी गरे । ‘मत यति नै ल्याउँछौं भन्ने छैन’, उनले भने, ‘यसपटक नेमकिपाको किल्ला भत्किन्छ ।’ उनले नेमकिपाको उत्पीडन अब भक्तपुरमा धेरै नटिक्ने ठोकुवा गरे । २०६४ सालमा भक्तपुरमा पहिलोपटक चुनावमा उत्रेको माओवादी अप्रत्याशित रूपमा दोस्रो स्थानमा आएर टक्कर दिएको थियो । त्यही इतिहास दोहोर्‍याउने रणनीतिमा माओवादी केन्द्रसँगै एमाले लागेको छ ।

मतदाता ९४ हजार १ सय ६४

भक्तपुर क्षेत्र नं १ मा कुल ९४ हजार एक सय ६४ मतदाता छन् । यस क्षेत्रका दुई नगरपालिका भक्तपुर र चाँगुनारायणमा क्रमशः ५५ हजार एक सय ८८ र ३८ हजार नौ सय ७६ मतदाता छन् ।राजनीतिक विश्लेषक भने स्थानीय तहमा पाएको मतको आधारमा अहिले दलहरूको शक्ति र प्रभाव मूल्यांकन गर्न नसकिने बताउँछन् । स्थानीय निर्वाचनमा मतदाताले उम्मेदवार हेर्ने तर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एजेन्डासँगै दलहरूको योगदान हेर्ने भएकाले मत तलमाथि हुने उनीहरूको तर्क छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.